पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले विदेशीहरूको घुसपैठ बढ्दो रहेको बताएका छन्।
आइतबार (आज) साँझ नयाँ वर्षको शुभकामना दिँदै उनले यस्तो बताएका हुन्।
खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'विदेशीहरूको घुसपैठ र दबाब बढ्दो छ। देश, जनता र राष्ट्र यतिबेला नयाँ चिन्तन, नयाँ विचार, नयाँ बाटो र नयाँ नेतृत्वको खोजीमा तड्पिरहेको छ।'
अगाडि उनले भनेका छन्, 'विगत काल २०६२/०६३ को क्रान्ति र संविधान निर्माणपछि बनेको दुईतिहाइको सरकारले संसद् विघटन गरेको बेलादेखि नै देश गलत दिशा तिर लाग्यो र अहिले यहाँसम्म आइपुग्दा देश राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक हरेक प्रकारले संकट ग्रस्त बन्दै गएको छ। देशको कृषि, उद्योग गतिहीन अवस्थामा छ। राष्ट्रिय उत्पादन घट्दो अवस्थामा छ। जनताको क्रय शक्ति घट्दो छ। महङ्गी र मूल्यवृद्धि अनियन्त्रित ढङ्गले बढिरहेको छ। बेरोजगारी बढिरहेको छ। भ्रष्टाचार बेलगाम ढङ्गले बढिरहेको छ। युवाहरू दैनिक रूपमा विदेश पलायन भइरहेका छन्। हालका कुनै पनि पार्टीका नेतृत्वले जनता र राष्ट्रलाई बाटो देखाउन सकेका छैनन्। देशको अर्थतन्त्र, व्यापार, बित्त र कर्मचारीतन्त्र हरेक क्षेत्रमा दलाल पुँजीवाद हाबी बनेको छ। ठूला राजनीतिक पार्टीहरू नीतिहीन र अकर्मण्य सिद्ध हुँदै गएका छन्। यही बेला राजावादीहरूसमेत सल्बलाउन थालेका छन्।'


प्रकाशित: ३१ चैत्र २०८१ १९:२० आइतबार