८ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

अहिलेदेखि निर्वाचनको तयारीमा एमाले!

सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले अहिलेदेखि नै आगामी निर्वाचनको तयारीमा लागेको छ। पार्टी स्थापना दिवस मनाइरहँदा एमालेले आफ्ना नेता–कार्यकर्तालाई देशभर कार्यक्रम गर्न लगाएर आगामी निर्वाचनको तयारी थालेको संकेत गरेको छ।

लोकतन्त्र दिवसका अवसरमा बिहीबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘युथ सेलिब्रेसन’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको चिन्ता होइन, निर्वाचनको तयारी गर्न निर्देशन दिए। एमाले २०७९ सालको निर्वाचन परिणामअनुसार दोस्रो ठुलो दल हो। अबको आम निर्वाचनबाट एमालेलाई पहिलो दल बनाउनुपर्ने अभिव्यक्ति नेताहरूले दिने गरेका छन् । त्यसकारण २०८४ को निर्वाचनको तयारीमा लाग्न एमालेले आफ्ना कार्यकर्तालाई कार्ययोजनासमेत पठाइसकेको छ।

२०८१ भदौमा आयोजित पोलिटब्युरो बैठकले एमालेले मिसन ८४ को घोषणा गरेको थियो। एमाले केन्द्रीय कार्यालयमा २०८१ भदौ १९ मा भएको पोलिटब्युरो बैठकमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेससित सरकारमा सहकार्य भए पनि आगामी चुनावमा आ–आफ्नो नीति लिएर प्रतिस्पर्धा गर्ने बताउँदै नेताहरूलाई त्यसको तयारी गर्न निर्देशन दिएका थिए। पार्टीले एकल बहुमत ल्याउने उद्देश्यसहित ‘मिसन ८४’ तय गरेको उल्लेख गर्दै त्यहीअनुसार कार्ययोजना बनाउन ओलीले निर्देशन दिएका थिए। ‘अहिले कांग्रेससित सत्ता सहकार्य भए पनि आगामी निर्वाचनमा एमाले एक्लै चुनाव लडेर एमाले प्रमुख राष्ट्रिय शक्ति बन्नेछ,’ पोलिटब्युरो बैठकमा उनले भनेका थिए, ‘त्यसका लागि मिसन ८४ सुरु गरिसकेका छौं।’ त्यसकै निरन्तरता स्वरूप एमालेले निर्वाचन लक्षित विविध कार्यक्रम गर्दै आएको हो।

‘युथ सेलिब्रेसन’लाई सम्बोधन गर्ने क्रममा सरकारको भन्दा निर्वाचनलाई जोड दिन र त्यसतर्फ लाग्न ओलीले आग्रह गरे । ‘यतिबेला नेकपा एमाले र नेपाली कांग्रेसको सरकार एउटा संकल्पका साथ बनेको हो। यो स्थिरता र स्थायित्वका लागि बनेको सरकार हो। यो केही लिएर अघि बढेको छ। सरकारबारे होइन, चुनावबारे चिन्ता गर्नुपर्छ,’ प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले भने।

एमालेले सधैं सरकार बचाऔं भनेर नहेर्ने बताउँदै उनले कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न आग्रह गरे। ‘एमालेले सरकार बनाऔं, सरकार बचाऔं भनेर हेरिरहेको हुँदैन। एमालेले सधैं चुनाव हेरेको हुन्छ। हामीले पहिले २०७९ सालको चुनाव भन्यौं र अहिले २०८४ को चुनाव भनिरहेका छौं। ढुक्कले मिसन ८४ मा लाग्नुस्,’ उनले युवाहरूमाझ भने।

उनले लोकतन्त्रको रक्षाका लागि एमाले र कांग्रेसको सहकार्यमा सरकार बनेको स्मरण गर्दै स्थिरता र स्थायित्वका लागि गठबन्धन बनेको बताए। ‘सरकार जान्छ, जान्छ भनेर भन्न थालेका छन्। लोकतन्त्रमा सरकार बन्दा लामो समय भनेको पाँच वर्षका लागि बन्छ। यो तानाशाही व्यवस्था त होइन, अधिनायकवादी व्यवस्था त होइन कि कसैको वंशको शासन हुन्छ, ५० वर्षका लागि हुन्छ, दुई सय ५० वर्षका लागि हुन्छ, एक सय चार वर्षका लागि हुन्छ भनेजस्तो,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले भनेको स्थिरता जनताको अभिमतसहितको स्थिरता हो।’

उनले राजतन्त्रलाई वैज्ञानिक आधार नभएको पाखण्डी सिद्धान्त भनी टिप्पणी गरेका छन्। ‘कुलघरानाका आधारमा, जन्मका आधारमा वैज्ञानिक आधार कुनै नभएको अवैज्ञानिक एउटा पाखण्डी सिद्धान्तका आधारमा शासन गर्न खोज्ने सामन्ती युगलाई फेरि फर्काउने आवाज पनि कताकता सुनिन थालेका छन्,’ प्रधानमन्त्री ओलीले भने। देशमा लोकतन्त्र नमान्ने, संविधान नमान्ने, जनताको बलिदानको अपमान गर्ने, संघर्षको अपमान गर्ने, सफलतालाई अस्वीकार गर्ने र त्यसलाई मजाक उडाउने काम भएको पनि प्रधानमन्त्री ओलीले बताए। ‘प्रतिगमनतिर देशलाई लैजान जनताको हत्या गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने, व्यक्तिका घरहरू, पार्टीका कार्यालयहरू, व्यापारिक प्रतिष्ठानहरू, मिडियाका कार्यालयहरूमा आक्रमण भएको छ,’ उनले भने, ‘यसरी जंगली, राक्षसी प्रवृत्ति देखाएर फेरि जनतामाथि यिनले कस्तो शासन थोपर्न खोजेका छन् र कुन तानाशाह ल्याउन खोजेका हुन् भन्ने स्पष्ट देखिएको छ।’

प्रधानमन्त्री ओलीले देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तŒवसँग सचेत हुनुपर्ने बताए। ‘नेपाल महान् नेपाल हो, नेपाली जनता महान् जनता हुन्। महान् नेपालका नेपाली युवा त्यसअनुसार अघि बढ्नेछन्। ढुक्क हुनुस्, यसको नेतृत्व एमालेले बाटो नबिराइ गर्नेछ। वैशाख ११ गते निरंकुश राजतन्त्र पराजय र लोकतन्त्रले जितेको दिन हो। यो दिनलाई उत्सवका रूपमा मनाउनुपर्छ। निरंकुश व्यवस्थाका कारण देश लामो समय अन्धकारकारको युगमा गुज्रिएको थियो। हामीले अनेक कठिनाइ झेलेर संघर्ष गर्दै देशलाई अहिलेको अवस्थामा ल्याएका हौं। सामन्ती व्यवस्थालाई फर्काउने भन्दै व्यक्तिका घर, पार्टी कार्यालय र सञ्चार संस्थामा तोडफोड गर्ने र व्यक्तिलाई जिउँदै आगो लगाउनेजस्ता जंगली र राक्षसी प्रवृत्ति गलत हो। यस्तो कार्य सह्य हुँदैन।’

एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसका अवसरमा ‘युथ सेलिब्रेसन’ विशेष कार्यक्रमलाई प्रधानमन्त्री ओलीभन्दा अघि महासचिव शंकर पोखरेले सम्बोधन गरेका थिए। कार्यक्रममा सम्बोधनका लागि १६ देखि २४, २५ देखि ३०, ३० देखि ३५ र ३५ देखि ४० सम्म उमेर समूहका वक्ता छानिएका थिए। वक्तामा सबै समूहलाई समेटेर समावेशी पनि बनाइएको थियो। प्रतिनिधिसभा सदस्य इलाम–२ बाट निर्वाचित सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिकी उपप्रमुख सुनिता डंगोल, कपिलवस्तु शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी, बागलुङ क्याम्पसका स्ववियु सभापति यास्मिन सेख, पिएन क्याम्पसका सभापति विष्णु पोखरेल, युवा डाक्टर आनन्द सिंह, दलित युवा नेपाल ल क्याम्पसका प्रकाश सुनार, कोटेश्वर क्याम्पसका स्ववियु सभापति उम्मेदवार शर्मिला भण्डारीले कार्यक्रमलाई सम्बोधन गरेका थिए। साथै कार्यक्रममा युवा संघका अध्यक्ष क्षितिज थेबे र अनेरास्ववियुका अध्यक्ष समिक बडालले पनि सम्बोधन गरेका थिए।

प्रकाशित: १२ वैशाख २०८२ ०६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App