२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

जौ भित्र्याउने हतारोमा जुम्ला

बिहानको पहिलो घामसँगै जुम्लाका फाँटहरूमा हँसिया चम्किन थाल्छन्। खेतका कान्लामाथि थुपारिएको सुनौलो जौ, भारी बोकेर घर फर्किरहेका किसान, अनि गराभरि व्यस्त हातहरू,यतिबेला जुम्लाको ग्रामीण जीवन यही दृश्यमा बाँधिएको छ।  

चन्दननाथ नगरपालिका,तातोपानी गाउँपालिका र गुठिचौर गाउँपालिकाका किसानलाई अहिले जौ भित्र्याउन भ्याइनभ्याइ छ। जौ काट्न ढिलो भयो भने जुम्लाको पहिचान मानिएको कालीमार्सी धान रोप्ने समय चिप्लिन्छ।हिमाली भेगको खेतीपाती मौसमसँगको संघर्ष हो। यहाँ किसानसँग समय धेरै हुँदैन। एउटा बाली भित्र्याउनासाथ अर्को बाली रोप्नुपर्छ। त्यसैले अहिले जुम्लाका खेतहरूमा केवल जौ काट्ने काम भइरहेको छैन, समयसँग दौड चलिरहेको छ।  

नगरपालिका ४ कि लालसरी सुनार बिहान सबेरै खेत पुग्छिन्। दिन ढल्दासम्म उनको समय जौ काट्ने, बाँध्ने र घरसम्म बोक्ने काममै बित्छ। ‘अहिले फुर्सद भन्ने हुँदैन, ’ उनले भनिन्, ‘जौ समयमै भित्र्याउन सकेनौं भने धान रोपाइँ पछाडि सर्छ, त्यसपछि उत्पादनमै असर पर्छ।’  जुम्लाका फाँटहरू यतिबेला सामूहिक श्रमका दृश्यले भरिएका छन्। गाउँका वृद्धदेखि युवासम्म खेतमै भेटिन्छन्।   

विद्यालय जाने बालबालिका पनि बिहान–बेलुका र बिदाका दिन खेतमा अभिभावकलाई सघाइरहेका छन्। रिता सार्की बिहान खेतमा काम गरेर मात्र विद्यालय पुग्छन्। ‘दिउँसो पढ्न जान्छु,  आज शनिबार र भोली आइतबार बिदा भयो,“बिहान र साँझ घरको काममा सघाउनै पर्छ। उनले भनिन् । 

खेती उत्पादनको माध्यम होइन, जीविकाको आधार हो। यहाँ खेतबारीले परिवारको वर्षभरको भान्सा धान्छ। त्यसैले जौ पाक्ने बेला गाउँमा उत्साहसँगै चिन्ता पनि बढ्छ। असिना, वर्षा वा ढिलो रोपाइँले उत्पादन घट्ने डर किसानमा सधैं रहन्छ।जौ भित्र्याएलगत्तै किसान कालीमार्सी धान रोप्न खेतमा उत्रिन्छन्। जुम्लाको कालीमार्सी बाली होइन, हिमाली पहिचान हो। चिसो हावापानीमा उत्पादन हुने यो धान देशभर स्वाद र गुणस्तरका कारण परिचित छ। 

तर त्यसको उत्पादन चक्र जौ सँग गाँसिएको छ, त्यसैले अहिले किसानलाई जौ काट्ने हतारो छ।जुम्लाका आठवटै स्थानीय तह र ६० वडमा जौ खेती गरिन्छ। अन्य बालीको तुलनामा क्षेत्रफल केही कम भए पनि जौ हिमाली खाद्य संस्कृतिको पुरानो आधार हो। जौको सातु, ढिँडो,रोटी र परम्परागत परिकार आज पनि गाउँघरको दैनिक जीवनसँग जोडिएका छन्। कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार खेती प्रणाली परिवर्तन हुँदै गए पनि जौको महत्व घटेको छैन। ‘जौ अत्यन्तै पौष्टिक बाली हो, यसको उत्पादन कम भएको छैन, बरु किसानले परम्परागत बालीलाई जोगाइरहेका छन्। ’ उनले भनिन् ।   

चन्दननाथ नगरपालिका ४ की चुनरुपा सुनारका अनुसार अधिकांश गाउँमा झन्डै ७५ प्रतिशत किसानले जौ भित्र्याइसकेका छन्। ‘अब गाउँका किसान धान रोप्नतिर लागेका छन्, ’ उनले भनिन्। जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लामा तीन हजार ८ सय ७० हेक्टर जमिनमा जौ खेती हुँदै आएको छ। वार्षिक करिब ७ हजार मेट्रिकटन जौ उत्पादन हुन्छ। अहिले ग्रामीण बजारमा जौ प्रतिमाना ३० देखी ४० रुपैयाँसम्म बिक्री भइरहेको किसान बताउँछन्।  

तर उत्पादनले वर्षभर धान्न सक्दैन, उनीहरुका अनुसार जुम्लामा उत्पादन हुने जौ ले परिवारलाई ६ देखि ८ महिनासम्म खान पुग्छ। त्यसपछि अधिकांश परिवार बाहिरबाट खाद्यान्न भित्र्याउन बाध्य हुन्छन्। उत्पादन र श्रमबीचको दूरी अझै घटेको छैन।तैपनि जुम्लाका किसान खेत छाडेका छैनन्। खेती मौसम र सीमित उत्पादनका बीच पनि उनीहरू परम्परागत कृषि प्रणालीलाई जोगाइरहेका छन्।  

प्रकाशित: २ जेष्ठ २०८३ १५:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App