२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

बागमतीमा मुख्यमन्त्री बानियाँलाई समर्थन जुटाउन कांग्रेसले लिखित तथा मौखिक समन्वय गर्ने

नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारलाई निरन्तरता दिन अन्य राजनीतिक दलसँग समर्थन जुटाउने निर्णय गरेको छ।

बिहीबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएको अवस्थामा कांग्रेस नेतृत्वको सरकार जोगाउन पहल गर्ने निर्णय गरेको हो।

बैठकले प्रदेश सभामा रहेका सबै राजनीतिक दलसँग लिखित पत्राचार र मौखिक समन्वय गरी समर्थन प्राप्त गर्न मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई जिम्मेवारी दिएको छ। यसका लागि केन्द्रीय नेतृत्वसँग समेत समन्वय गर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ।

एमालेको सहयोगमा सरकार सञ्चालन गरेको कांग्रेसलाई एमालेले आफ्नो समर्थन फिर्ता गर्दै मन्त्रिले समेत राजिनामा दिएका छन्। बागमती प्रदेशमा एमाले र नेकपा मिल्ने गरी सहमति गरेका छन्। यद्यपि यी दुई पार्टीको मात्र बहुमत पुग्दैन।

यस्तै बैठकले कांग्रेसका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ। ७९ वर्षीय श्रेष्ठको ललितपुरको जावलाखेलस्थित हेल्पर्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

यस्तै, कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज–कप्तानगञ्जमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै कांग्रेस बागमती संसदीय दलले हिंसा रोक्न र धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयम अपनाउन अपिल गरेको छ।

बैठकले विवादका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, परिस्थिति थप बिग्रन नदिन संघीय सरकारसँग समन्वय गरी आवश्यक कदम चाल्न बागमती प्रदेश सरकारलाई आग्रह गरेको छ।

प्रकाशित: १४ श्रावण २०८३ १९:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App