८ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

‘हुलाकी मार्गमा एक करोड जनतासँग संवाद गर्‍याैं, जनता माओवादीको साथमा छन्’

फाइल।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले हुलाकी राजमार्ग केन्द्रीत तराई-मधेस जागरण अभियानमार्फत झन्डै एक करोड जनतासँग प्रत्यक्ष संवाद गरेको बताएका छन्।

शनिबार प्रेस सेन्टर नेपालको नवनिर्वाचित पदाधिकारीको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यस अभियानले उत्पीडित वर्गको पीडा र भावनालाई नजिकबाट बुझ्ने अवसर प्रदान गरेको उल्लेख गरे। साथै, जनता माओवादीको पक्षमा उभिएको दाबी समेत गरे।

“हुलाकी मार्गमा हामीले करिब एक करोड जनतासँग संवाद गरेका छौँ। गरिब, मजदुर र उत्पीडित वर्गका पीडा सुनेका छौँ, तिनका भावनालाई आत्मसात् गरेका छौँ,” दाहालले भने। उनले जनयुद्धका घाइतेहरूसँग भेटघाट गरी उनीहरूको घाउमा मलहम लगाएको, सँगै खाना खाएको र दु:खसु:ख साटेको सुनाए।

दाहालले यस अभियानले माओवादीप्रति जनताको असाधारण समर्थन देखिएको दाबी गरे। “यो यात्रामा जनताको ठूलो साथ पाएका छौँ। माओवादीप्रति जनताको विश्वासले अरूलाई टाउको दुखाइ भएको छ,” उनले भने।

उनले यो समर्थनलाई रोक्न विभिन्न षड्यन्त्र भइरहेको आरोप लगाउँदै पार्टीलाई एकताबद्ध राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। “हामीले पार्टीभित्र आत्मालोचना र समीक्षा गरेका छौँ। जनताको साथ र हाम्रो एकताले सबै षड्यन्त्रलाई परास्त गर्नेछ,” दाहालले थपे।

सोही अवसरमा उनले सरकारले शिक्षकका मागप्रति उदासीनता देखाएको र उनीहरूलाई अपमानित गरेको आरोप लगाए।

“शिक्षकसँग भएका सहमति कार्यान्वयन गर्न र कक्षाकोठामा फर्काउने वातावरण बनाउन सरकार तयार छैन,” उनले भने। दाहालले सडक, सदन र मोर्चाबाट दबाब सिर्जना गरी शिक्षकका जायज माग पूरा गर्नुपर्नेमा जोड दिए।

यस्तै, उनले राजावादीहरूको रणनीति असफल भएको दाबी गर्दै गणतन्त्र पक्षधर जनताको विजय भएको बताए।

प्रकाशित: १३ वैशाख २०८२ १४:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App