२६ माघ २०८२ सोमबार
image/svg+xml
शिक्षा

असहाय बालबालिकालाई विद्यार्थीहरूको ‘न्यानो माया’

काठमाडौंस्थित लिन्कन इन्टरनेशनल कलेजका विद्यार्थीहरूले काभ्रेको चौंरीदेउराली गाउँपालिका–४, दोलाघाटस्थित कुमार बलराम स्मृति छात्रावासमा आश्रित अनाथ तथा असहाय बालबालिकालाई करिब डेढ लाख रुपैयाँ बराबरको राहत तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन्।

कलेजको बिबिए सातौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको अगुवाइमा सञ्चालित ‘प्रोजेक्ट यात्रा’ अन्तर्गत शनिबार छात्रावास पुगेर उक्त सहयोग उपलब्ध गराइएको हो।

२२ जना विद्यार्थी र ४ जना शिक्षकको टोलीले जाडोयामलाई मध्यनजर गर्दै बालबालिकाको दैनिक जीवनयापन र पठनपाठनमा सहजता ल्याउने उद्देश्यले सामग्री वितरण गरेको जनाएको छ।

कलेजले शैक्षिक क्यालेन्डर अनुसार विद्यार्थीलाई ‘इभेन्ट म्यानेजमेन्ट’ को प्रयोगात्मक अभ्यासका लागि जिम्मेवारी दिएको थियो। तर, विद्यार्थीहरूले यसलाई केवल आन्तरिक मूल्याङ्कनको विषयमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्दै ‘प्रोजेक्ट यात्रा’ नामक अभियान सञ्चालन गरे।

विद्यार्थीहरूले स्वतःस्फूर्त रूपमा सक्रियता देखाई विभिन्न दाताहरूसँगको सहकार्य र व्यक्तिगत योगदानबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको स्रोत जुटाउन सफल भएका हुन्।

हस्तान्तरण गरिएका सामग्रीहरूमा चिसोबाट बच्नका लागि प्रति बालबालिका एक/एक थान फाइबर ब्ल्याङ्केट, न्यानो टोपी र लत्ताकपडा समावेश छन्।

त्यस्तै, बालबालिकाको शैक्षिक गुणस्तर सुधारका लागि कापी, कलम, झोला तथा स्टेसनरी सामग्रीहरू प्रदान गरिएको छ।

स्वास्थ्य र सरसफाइलाई प्राथमिकता दिँदै विद्यार्थीको टोलीले छात्रावासका लागि ‘वाटर फिल्टर’, किशोरीहरूका लागि सेनेटरी प्याड र शारीरिक तन्दुरुस्तीका लागि विभिन्न खेलकुदका सामग्रीहरू समेत उपलब्ध गराएको छ।

सोही अवसरमा खाद्यान्न, बिस्कुट, चकलेट वितरण गर्नुका साथै वातावरण संरक्षणको सन्देश दिने उद्देश्यले छात्रावास परिसरमा वृक्षारोपण समेत गरिएको थियो।

कार्यक्रमबारे बोल्दै लिन्कन इन्टरनेशनल कलेजका एकेडेमिक कोअर्डिनेटर रोजल जोशीले कलेजले सधैं समाजपयोगी शिक्षामा जोड दिँदै आएको बताए।

‘हामीले शिक्षालाई केवल कक्षाकोठामा सीमित नराखी प्रयोगात्मक र समाज मैत्री बनाउने नीति लिएका छाैं। बिबिए सातौं सेमेस्टरका विद्यार्थीहरूले सञ्चालन गरेको ‘प्रोजेक्ट यात्रा’ ले ‘बाचौँ र बचाऔँ’ भन्ने सन्देश प्रवाह गरेको छ।’ उनले सुनाए।

त्यसैगरी, फ्याकल्टी इभेन्ट म्यानेजमेन्टका रस्मित श्रेष्ठले विद्यार्थीहरूको व्यवस्थापकीय क्षमताको प्रशंसा गरे। उनले भने, ‘यो केवल एक शैक्षिक अभ्यासको रूपमा सुरु भएको थियो, तर विद्यार्थीहरूले यसलाई मिसनका रूपमा लिए। प्रश्नवाचक चिह्नबाट सुरु भएको यो यात्रालाई उनीहरूले सेवामूलक कार्यमा परिणत गरेर उदाहरण पेस गरेका छन्।’

राहत सामग्री ग्रहण गर्दै लक्ष्मी प्रतिष्ठानद्वारा सञ्चालित कुमार बलराम स्मृति छात्रावासका इन्चार्ज मनोज श्रेष्ठले विद्यार्थीहरू सहयोगले छात्रावास सञ्चालनमा ठूलो टेवा पुगेको बताए।

उनले सामाजिक उत्तरदायित्व वहन गर्नु शैक्षिक संस्थाको कर्तव्य मात्र नभई मानवीय धर्म भएको उल्लेख गरे।

इन्चार्ज श्रेष्ठले भने, ‘कलेजले उपलब्ध गराएको खाद्यान्न र लत्ताकपडाले यहाँका आश्रित बालबालिकाहरूको आधारभूत आवश्यकता पूर्ति गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। शैक्षिक सामग्रीको प्राप्तिले विद्यार्थीहरूमा पठनपाठनप्रति थप उत्साह र हौसला थपेको छ। यो सहयोगले बालबालिकाको जीवनयापन सहज बनाउनुका साथै उनीहरूको आत्मविश्वास समेत अभिवृद्धि गरेको छ।’

उनले छात्रावास परिसरमा गरिएको वृक्षारोपणले बालबालिकामा वातावरणीय चेतना जगाएको भन्दै कलेज र छात्रावासबीचको यो सहकार्य भविष्यमा पनि निरन्तर रहने विश्वास व्यक्त गरे।

काभ्रेको उक्त छात्रावासमा अभिभावकविहीन तथा अति विपन्न परिवारका बालबालिकाहरूले निःशुल्क बसोबास र शिक्षा प्राप्त गर्दै आएका छन्।

प्रकाशित: २६ माघ २०८२ २२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App