९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

जम्मु–कश्मीर आक्रमणमा ज्यान गुमाएकाको सम्झनामा भारतीय दूतावासद्वारा श्रद्धाञ्जली सभा

भारतको दूतावास, काठमाडौंले जम्मु–कश्मीरको पहलगाममा गत अप्रिल २२ मा भएको आतङ्ककारी आक्रमणमा परी ज्यान गुमाएका २६ निर्दोष नागरिकको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेको छ।

शुक्रबार अपराह्न ४ बजे आयोजना गरिएको कार्यक्रममा एक नेपाली नागरिकसहित आक्रमणमा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो।

कार्यक्रमको उद्घाटन नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले गरेका थिए। उनले शान्ति र सहअस्तित्वका साझा मूल्यहरूलाई यस्ता क्रूरतापूर्ण घटनाले कमजोर पार्न नसक्ने बताउँदै भने, ‘हामी दुबै देश मिलेर आतंकवाद रोक्न र नागरिकको सुरक्षित भविष्य सुनिश्चित गर्न प्रतिबद्ध छौं।’

कार्यक्रममा परराष्ट्र मन्त्री डा. अराजू राणा देउवाले सरकारको अडान स्पष्ट पार्दै दूतावाससँगको समन्वयलाई अझ सुदृढ बनाइने प्रतिवद्धता जनाइन्।

श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला, पूर्व परराष्ट्र मन्त्री डा. एन.पी. साउद, क्षेत्रीय दलका नेता महन्थ ठाकुर र नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईं लगायत सहभागी थिए। साथै, सुरक्षा तथा कानुनी क्षेत्रका वरिष्ठ अधिकारी र अन्य प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति पनि रहेको थियो।

सभामा वक्ताहरूले पाकिस्तानी सेनाप्रमुखको पछिल्लो अभिव्यक्तिले आतंकवादलाई उक्साउने खतरा बढाएको र क्षेत्रीय तनावमा वृद्धि गर्ने चिन्ता व्यक्त गरे।

सभाको अन्त्यमा परराष्ट्र मन्त्री र भारतीय राजदूतले आपसी समझदारी, मानवअधिकार संरक्षण र शान्ति स्थापनाका पहलहरूलाई अझ तीव्र बनाउने प्रतिवद्धता दोहोर्‍याएका थिए।

प्रकाशित: १३ वैशाख २०८२ १७:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App