सामाजिक सञ्जाल र सञ्चारमाध्यममा एक पुरुषमाथि ट्राफिक प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटनामा संलग्न चार ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीका अनुसार उक्त घटना गत मंसिर २३ गते सुन्धारास्थित आकाशे पुलमुनि भएको अनुसन्धानले देखाएको छ।
उनले घटनाको गम्भीरताप्रति ध्यानाकर्षण भएको जनाउँदै चारै जना ट्राफिक प्रहरीलाई जनसेवा ट्राफिक प्रहरी वृत्तको जिम्मेवारीबाट हटाएर कार्यालयमा झिकाइएको जानकारी दिए।
प्रहरी उपरीक्षक गिरीले उनीहरूमाथि आवश्यक छानबिन र अनुसन्धान भइरहेको बताए।
“सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रकाशित भिडियोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। प्रारम्भिक अनुसन्धानबाट मंसिर २३ गते सुन्धारामा उक्त घटना भएको देखिएको छ। संलग्न ट्राफिक प्रहरीहरूलाई जिम्मेवारीबाट हटाएर छानबिन सुरु गरिएको छ,” उनले भने।
प्रकाशित: ११ वैशाख २०८२ १९:०५ बिहीबार