पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमार्फत उनले कास्की–२ का मतदाता, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (एमाले) र मन्त्रालयका कर्मचारीहरूप्रति आभार प्रकट गरिन्।
भट्टराईले आफ्नो ९ महिने कार्यकालमा शिक्षा क्षेत्रमा सुधारका लागि प्रेरित गर्ने कास्की–२ का मतदाता, शुभचिन्तक, प्रधानमन्त्री ओली र मन्त्रीपरिषद्प्रति कृतज्ञता व्यक्त गरिन्।
“मलाई विश्वास गरेर सरकारमासँगै काम गर्ने अवसर दिनुभएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभारी छु। मन्त्रालयका सचिव, सहसचिव, विभागीय प्रमुख, कर्मचारी र सुरक्षा कर्मीहरूको सहयोगप्रति धन्यवाद दिन चाहन्छु,” उनले लेखेकी छन्।
उनले शिक्षा, विज्ञान र प्रविधि क्षेत्रमा सुझाव दिने विज्ञ, शिक्षाविद्, वैज्ञानिक, अनुसन्धानकर्ता, सञ्चारकर्मी, नागरिक समाज र सक्रिय संघसंस्थाप्रति पनि आभार प्रकट गरिन्।
साथै, आफ्नो सचिवालयको टिमलाई सहजीकरणका लागि धन्यवाद दिँदै उनले आगामी यात्रा सार्वजनिक शिक्षाको सवलीकरण, अनुसन्धान र गुणस्तरीय शिक्षामा केन्द्रित हुने उल्लेख गरिन्।
प्रकाशित: ११ वैशाख २०८२ १९:४६ बिहीबार