लोक आधुनिक शैलीको गीत ‘कलियुगकी राधा’ सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रमका बिच वरिष्ठ गायिकाहरू कुन्ति मोक्तान, सुक्मित गुरुङ, मोनिला सोताङ र देविका वन्दनाले गीत सार्वजनिक गरेका हुन्।
सार्वजनिक गरिएको गीतमा बबिता मानन्धरको स्वर, डिपी खनालको शब्द, शंकर थापा ‘स्माइल’ को संगीत र कुमार केसीको मिक्सिङ रहेको छ।
यस्तै राजिव समरले निर्देशन गरेको गीतको भिडियोमा आश्मा विश्वकर्मा र अभिषेक श्रेष्ठको नृत्य रहेको छ। भिडियोमा दिनेश पराजुलीको छायांकन र डिन्सन शाहको सम्पादन छ। सुरेश मानन्धरले निर्माण गरेको गीत डान्सिङ्ग बिटमा आधारित छ। गीतमा आधुनिक समाजमा प्रेम, नारी भावना र सम्बन्धको यथार्थ समेटिएको छ।
साढे दुई दशकदेखि संगीतकर्ममा सक्रिय गायिका मानन्धरको श्रृतिमधुर स्वरले गीतलाई भावनात्मक बनाएको छ। गायिका मानन्धरले संगीतकार थापाको प्रशंसा गर्दै उनको संगीतमा स्वर दिन निकै मेहनत गर्नुपरेको बताइन्। आफूले सक्दो राम्रो गाउने कोसिस गरेको भन्दै उनले शब्द र संगीतको उत्कृष्ट संयोजनले गीत पनि उत्कृष्ट बनेको विश्वास राखिन्। उनले गीतकार खनालका शब्दहरू भावनात्मक रहेकाले आफूलाई मन परेको समेत बताइन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ गायिका कुन्ति मोक्तानले वविताको स्वरको मुक्तकण्ठले प्रशंसा गरेकी छन्। उनले बबिताले जस्तोसुकै जनराको गीतलाई पनि न्याय गर्न सक्ने जनाइन्।
यस्तै वरिष्ठ गायिका सुक्मित गुरुङले वविताको गायकी उच्च कोटीको भएको बताएकी छन्। उनले ‘कलियुगकी राधा’ को शब्द, संगीत र भिडियो समेत निकै राम्रो बनेको प्रतिक्रिया दिइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ गायिका मोनिला सोताङले ‘कलियुगकी राधा’ ले दर्शक स्रोताको मन जित्ने विश्वास राखिन्। आफूलाई हरेक कोणबाट अडियो र भिडियो दुवै मन परेको उनको भनाइ छ।
यस्तै अर्की वरिष्ठ गायिका देविका वन्दनाले चलचित्रका थुप्रै आइटम गीतमा वविताकै स्वर सुन्दै आएको र आज पनि उनको स्वरको गुणस्तर उस्तै रहेको बताइन्।
कार्यक्रममा बोल्दै संगीतकार थापाले नेपाली संगीतका सिद्धहस्त अग्रज गायिकाहरूको बाहुलीबाट गीत विमोचन गर्न पाउनु आफूहरूका लागि गर्वको क्षण भएको बताए। यस्तै मोडल आश्मा विश्वकर्माले दर्शकहरूले गीत तथा भिडियो मन पराउने विश्वास राखिन्।
को हुन् वविता मानन्धर?
सुमधुर स्वरकी धनी गायिका वविता मान्धरले २०५७ सालमा प्रदर्शनमा आएको फिल्म ‘चलचित्र’ बाट पार्श्व गायन थालेकी हुन्।
साढे दुई दशक लामो सांगीतिक यात्राको क्रममा उनले चाहन्छु म तिमीलाई, बाउन्सर, मेरी आम्मै लगायत झण्डै २ दर्जन चलचित्रमा प्लेब्याक गरेकी छन्। चलचित्रबाहेक अन्य जनरामा ५ दर्जन हाराहारीका गीतमा उनले स्वर दिएकी छन्।
भर्सटायट गायिकाका रूपमा आफूलाई स्थापित गर्नु सफल मानन्धरले फिल्मी, आधुनिक, पप, लोकपप, भजन लगायतका विविध जनरामा गीत गाउनुका साथै नेपाली मात्र नभएर नेवारी, हिन्दी तथा बंगाली भाषामा समेत गीत गाएकी छन्।
‘भाग्य’ र ‘प्रेम’ गरि नेपाली गीतको दुई एल्वम सार्वजनिक गरेकी गायिका मानन्धरको बंगाली गीतको एल्बम समेत बजारमा आएको थियो। गायिका मान्धरका ‘बाँधी दिए मायाको डोरीले’, ‘देउराली भाके हजुर’, ‘आत्मामा’ लगायत ३ दर्ज बढी गीत हिट छन्।
मानन्धर गायिकाका साथै गीतकार तथा संगीतकार पनि हुन्। उनको संगीतमा अञ्जु पन्तले स्वर दिएको गीत ‘आफ्नै सासको त छैन भर’ निकै लोकप्रिय समेत छ। गायिका मानन्धरले भारत, चीन, बेलायत, सिङ्गापुर, दुबई, जापान लगायतका देशमा समेत सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेकी छन्। गायिका मानन्धरले उत्कृष्ट गायकीका लागि अमिन राष्ट्रिय अवार्ड लगायतका थुप्रै अवार्ड तथा सम्मान प्राप्त गरिसकेकी छन्।
प्रकाशित: २३ माघ २०८२ ११:१५ शुक्रबार





