भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले इन्डियन प्रिमियर लिग (आइपिएल) को तालिका सार्वजनिक गर्ने प्रक्रिया स्थगित गरेको छ।
बिसिसिआईले असम, पश्चिम बंगाल र तामिलनाडुमा हुने विधानसभा निर्वाचनका कारण आइपिएलको तालिका सार्वजनिक गर्ने प्रक्रिया स्थगित गरेको हो।
बोर्डका सचिव देवाजित साइकियाले एक सञ्चारमाध्यमसँग कुरा गर्दै मतदानको मिति र चरणबारे स्पष्ट मिति आएपछि मात्र जतिसक्दो चाँडो तालिका सार्वजनिक गरिने बताएका छन्। निर्वाचन तालिका टुंगो लागेपछि मात्र खेलतालिका सार्वजनिक हुने भएपछि अन्योल सिर्जना भएको छ।
तालिका सार्वजनिक हुन ढिलाइ भएपछि फ्रेन्चाइज र अन्य सरोकारवालाहरू पनि अन्योलमा छन्। यात्रा व्यवस्थापनदेखि सुरक्षा प्रबन्धसम्मका तयारीहरू प्रभावित भएका छन् तर फ्रेन्चाइजहरूले आन्तरिक तयारी भने अघि बढाइसकेको उल्लेख गरिएको छ।
विगतका निर्वाचनको अनुभवलाई आधार बनाएर प्रशिक्षण शिविरहरू चरणबद्ध रूपमा सञ्चालन भइरहेका छन्। ‘समय सीमित भए पनि यस्तो अवस्था कसैको नियन्त्रणमा हुँदैन। तालिका सार्वजनिक भएलगत्तै ‘युद्धस्तर’ मा तयारी अघि बढाइने आइपिएलका एक अधिकारीले उल्लेख गरे।
आइपिएल मार्च २८ बाट सुरु गर्ने प्रस्ताव छ र तालिका दुई चरणमा सार्वजनिक हुन सक्ने जनाइएको छ। यसपल्ट खेलस्थान व्यवस्थापनसम्बन्धी चुनौती पनि देखिएको छ। मंगलबार मात्रै रोयल च्यालेन्ज बैंगलुरु (आरसिबी) लाई बेंगलुरुमा पाँच घरेलु खेल र रायपुरमा दुई खेल आयोजना गर्न अनुमति दिइएको छ। राजस्थान रोयल्सले पनि गत साता जयपुरमा पाँच खेल आयोजना गर्न स्वीकृति पाएको थियो। आइपिएलका लागि यस्तो चुनौती भने नयाँ होइन।
सन् २०२४ मा भारतमा आम निर्वाचन हुँदा बिसिसिआईले सुरुमा पहिलो दुई साताका खेलहरू मात्र सार्वजनिक गरेको थियो। मतदान मिति र चरण निश्चित भएपछि बाँकी तालिका सार्वजनिक गरिएको थियो। प्रतियोगिताको दोस्रो चरण विदेश सारिने चर्चा भए पनि बोर्डले सम्पूर्ण संस्करण भारतमै सम्पन्न गरेको थियो।
यस्तै उपलब्धि सन् २०१९ मा पनि हासिल गरिएको थियो। आइपिएल अध्यक्ष अरुण धुमलले सन् २०१९ मा आम निर्वाचनका बावजुद प्रतियोगिता पूर्ण रूपमा होम एन्ड अवे ढाँचामा सम्पन्न गरिएको स्मरण गरे। उनले २०२४ मा पनि मतदान चरण स्पष्ट भएपछि कुनै टोलीलाई अनुचित फाइदा नहोस् भनेर तालिका सन्तुलित बनाइएको बताए।
सन् २०१९ को आइपिएल मार्च २३ देखि मे १२ तारिखसम्म सञ्चालन भएको थियो। जुन अप्रिल ११ देखि मे १९ तारिखसम्म सात चरणमा सम्पन्न आम निर्वाचनसँग जुधेको थियो। चुनौतीपूर्ण परिस्थितिका बावजुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको थियो। सबैभन्दा ठूलो फेरबदल भने सन् २०१४ मा देखिएको थियो। नौ चरणमा निर्वाचन हुने भएपछि आइपिएल दुई चरणमा विभाजित गरिएको थियो। पहिलो २० खेल अप्रिल १६ देखि अप्रिल ३० सम्म संयुक्त अरब इमिरेट्स (युएई) का तीन स्टेडियममा खेलाइएपछि प्रतियोगिता मे २ मा भारत फर्किएको थियो। त्यो संस्करण जुन १ तारिखमा सम्पन्न भएको थियो।
यसअघि सन् २००९ मा भने आम निर्वाचनकै कारण आइपिएल पूर्ण रूपमा दक्षिण अफ्रिकामा आयोजना गरिएको थियो। त्यो नै आइपिएलको एक मात्र संस्करण हो, जुन सम्पूर्ण रूपमा विदेशमा सञ्चालन गरिएको थियो। पछिल्ला वर्षहरूमा भने बिसिसिआई प्रशासनले निर्वाचनजस्ता चुनौतीका बिच पनि प्रतियोगितालाई देशभित्रै सफलतापूर्वक आयोजना गर्दै आएको छ।
प्रकाशित: २० फाल्गुन २०८२ ११:४३ बुधबार





