निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १९५ जनालाई पक्राउ गरिएकामा बुधबार साँझ १०३ जनालाई छाडिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।
केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले साइबर कसुर र सामाजिक सञ्जालको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका ३४ जनामध्ये १७ जनालाई छाडिएको र १७ जनालाई हिरासतमा राखिएको जानकारी दिए।
यसैगरी, निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा पक्राउ परेका १६० जनामध्ये आज रातिसम्ममा ८६ जनालाई छाडिएको र बाँकी ७४ जनालाई हिरासतमा राखिएको उनले बताए।
यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका उम्मेदवारलाई बधाई दिएको भनेर भिडियो बनाउने एक जनालाई पनि पक्राउ गरिएको छ। निर्वाचन सुरक्षा व्यवस्था देशभर नै चुस्त रहेको र उच्च मनोबलका साथ प्रहरी टोली निर्वाचनस्थलमा तैनाथ रहेका प्रवक्ता काफ्लेले बताए।
'कतैकतै होक्स बम देखिए पनि गम्भीर सुरक्षा चुनौती कतै पनि देखिएको छैन। निर्वाचन सुरक्षामा आवश्यकताका आधारमा कुकुर, ड्रोनसहितको टोली परिचालन गरिएका छन्। आधुनिक प्रविधिमार्फत निर्वाचनको सूक्ष्म निगरानीसमेत भइरहेको छ', उनले भने।
प्रकाशित: २१ फाल्गुन २०८२ ०६:२७ बिहीबार





