भारतका गृहमन्त्री अमित शाहले शुक्रबार दिउँसो सबै राज्यका मुख्यमन्त्रीहरूसँग बैठक गरेका छन्। उनले मुख्यमन्त्रीहरूलाई आ-आफ्नो राज्यमा रहेका पाकिस्तानी नागरिकहरूको पहिचान गरी फिर्ता पठाउन अनुरोध गरेको दैनिक भास्करले लेखेको छ।
यसैबीच, सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी श्रीनगर पुगेर उपराज्यपाल मनोज सिन्हालाई भेटेका छन्। त्यसपछि जनरल द्विवेदी बैसरन उपत्यका पुगे, जहाँ गत मंगलबार आतंककवादी आक्रमण भएको थियो।
आक्रमणको तीन दिनपछि भारतीय सेनाले सैन्य कारबाही जारी राखेको छ। जम्मू-कश्मीरको त्राल र अनन्तनागको बिजबेहरामा दुई लश्कर-ए-तैयबा आतंककारीहरूको घरमा खोजी अभियान सञ्चालन गरियो। अपरेशनको क्रममा ती घरहरूमा राखिएको विस्फोटक पदार्थ विस्फोट भयो। विस्फोटमा आसिफ शेख र आदिल थोकरको घर पूर्ण रूपमा ध्वस्त भएको जनाइएको छ।
बान्दीपोराको बाजीपोरा क्षेत्रमा खोजी अभियानको क्रममा भएको मुठभेडमा सुरक्षा बलले एक आतंककारीलाई मारेको दाबी गरेकाे छ। यो मुठभेडमा दुई सैनिक पनि घाइते भएका छन्।
गत मंगलबार पहलगामको बैसरन उपत्यकामा आतंककारीहरूले पर्यटकहरूमाथि गोली चलाएका थिए। सो आक्रमणमा एक नेपालसहित २८ पर्यटकको मृत्यु भएको थियो भने १० जनाभन्दा बढी घाइते भएका छन्।
यसबीच पाकिस्तानी सेनाले जम्मू-कश्मीरको नियन्त्रण रेखा (एलओसी)मा भारतीय चौकीहरूतर्फ बिहिबार रातिदेखि साना हतियारले गोली चलाएको छ। जवाफमा भारतीय सेनाले पनि गोली चलाएको छ।
अहिलेसम्म कुनै हताहत भएको जानकारी आएको छैन। एजेन्सी
प्रकाशित: १२ वैशाख २०८२ १४:५९ शुक्रबार