१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

तीन नेपालीको चुनौती समाप्त

नेपालका तीन खेलाडीको जारी पेरिस ओलम्पिक २०२४ मा चुनौती समाप्त भएको छ। जारी ओलम्पिकमा ६ खेलमा नेपालका सात खेलाडीले चुनौती प्रस्तुत गरेका थिए। तीमध्ये टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङका सुस्मिता नेपाल र पौडीकी डुवाना लामाको चुनौती समाप्त भएको हो।

ब्याडमिन्टनका प्रिन्स दाहालले पनि समूहको आफ्नो पहिलो खेलमा विश्व नम्बर दुईका प्रतिद्वन्द्वी डेनमार्क भिक्टर एक्सेल्सेनविरुद्ध गुमाएका छन्। यी चारै खेलाडीको प्रदर्शन सुखद रहेन। नेपालको तर्पmबाट पहिलो चुनौती रहेको टेबल टेनिसका स्यान्टु पनि पहिलो चरणबाटै बाहिरिएका थिए। उनी छनोटचरण पार गरेर पेरिस ओलम्पिक खेल्ने एक मात्र नेपाली खेलाडी हुन्।

आइतबार नेपालकी सुटर सुस्मिता नेपालले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी थिइन्। फ्रान्सको सेन्टर भाल डे लोइरेमा भएको प्रारम्भिक चरणको खेलमा सुस्मिताले खराब प्रदर्शन गरेकी हुन्। सुस्मिताले ६०७.८ अंक जोडिन् । यो प्रदर्शनले उनी ४३ खेलाडीमध्ये ४२औं स्थानमा सीमित भइन् । सुस्मिताले आफ्नो व्यक्तिगत प्रदर्शनमा पनि सुधार गर्न सकिनन् । यस स्पर्धामा सुस्मिताकै नाममा ६१९.१ अंकको राष्ट्रिय कीर्तिमान छ।

 उक्त कीर्तिमान सुस्मिताले नेपालमै सम्पन्न चीनको हाङझाउमा भएको १९औं एसियाली खेलकुदका लागि खेलाडी छनोट प्रतियोगितामा बनाएकी हुन्। यो विधामा ४४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। शरणार्थी टोलीकी लुना सोलोमन ४३औं भइन् भने अल्जेरियाकी हौडा छाबीले भाग लिइनन्। 

पेरिसदेखि स्थलमार्गबाट करिब तीन घण्टा टाढा रहेको चतरोक्स सुटिङ रेन्जमा भएको खेलमा सुस्मिताले कुल ६५४ अंकमा ६०७.८ अंक जोडेकी हुन्। सुस्मिताले पहिलो सिरिजमा १०४.५, दोस्रोमा १०१.७, तेस्रोमा १००.७, चौथोमा ९९.९, पाँचौंमा १०२.२ र छैटौंमा ९८.२ अंक जोडिन्। छनोटमा दक्षिण कोरियाका हयुजिन बान ६३४.५ अंकको ओलम्पिक क्वालिफिकेसन रेकर्डसहित आठ जना फाइनलमा प्रवेश गरेका छन्। फाइनल सोमबार हुनेछ।

आइतबार नै पेरिस ला डिफेन्स एरिनामा भएको पौडीतर्पm प्रतिस्पर्धामा डुवाना लामाको यात्रा पनि हिट चरणबाटै समाप्त भएको छ। डुवाना २०० मिटर फ्रि–स्टायलको हिट चरणमै सातौं स्थानमा रहिन्। समग्रमा भने उनी ३०औं स्थानमा रहिन्। उनले दुई मिनेट २०.७४ सेकेन्डमा यो दूरी पार गरिन् । १६ खेलाडीले हिट चरण पार गरेका थिए। प्रिन्सको खराब सुरुआत विश्व जुनियर ब्याडमिन्टनका पूर्व नम्बर एक नेपालका प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ को आइतबार खराब सुरुआत गरेका छन्।

फ्रान्सको पेरिसस्थित ला चापेला एरिनामा भएको समूह ‘पी’ को आफ्नो पहिलो खेलमा प्रिन्स विश्व नम्बर दुईका प्रतिद्वन्द्वी डेनमार्क भिक्टर एक्सेल्सेनसँग सहजै पराजित भएका हुन्। ३० वर्षे भिन्टर टोकियो ओलम्पिकका स्वर्ण विजेता पनि हुन्। प्रिन्सले पहिलो खेलमा नै कठिन प्रतिद्वन्द्वी पाए पनि राम्रो प्रदर्शन गर्ने आशा गरिएको थियो। प्रिन्सको प्रशिक्षणमा नेपालबाट कुनै पनि प्रशिक्षक पठाइएको थिएन । अल साल्भाडोरका प्रशिक्षकले प्रिन्सलाई सहयोग गरिरहेका छन्। यद्यपि, उनले बलियो प्रतिद्वन्द्वीविरुद्ध राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको थियो।

हाल १७२औं स्थानमा रहेका प्रिन्स आइतबार २–० को सोझो सेटमा पराजित हुन पुगे । कठिन समूहमा रहेका प्रिन्सले दुवै सेटमा दोहोरो अंक बनाउन सकेनन्। उनले भिक्टरसँग २१–८ र २१–६ ले सहजै नतिजा सुम्पिए । प्रिन्सको समूहमा विश्व नम्बर दुईका भिक्टरसहित चार खेलाडी छन्। प्रिन्सले अब जुलाई २९ मा आयरल्यान्डका नाट उयन (विश्व वरीयतामा ४३औं) र जुलाइ ३१ मा इजरायलका मिसा जिल्बरमेन (विश्व वरीयतामा ५८औं) सँग खेल्नेछन्। १३औं दक्षिण एसियाली खेलकुद (साग) का दुई कांस्य जितेका प्रिन्स एक समय जुनियरमा विश्व नम्बर एक थिए।

दुई पटकका ओलम्पिक च्याम्पियन, पाँच पटकका विश्व च्याम्पियन तथा ६ पटकका अल इङ्ल्यान्ड च्याम्पियन चीनका लिन डानलाई आफ्नो आइडल मान्ने बायाँ हाते प्रिन्सले सात वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न थालेका हुन्। प्रिन्सलाई नेपालमा सम्भावना बोकेका खेलाडीका रूपमा हेरिन्छ। उनी नियमित प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी पनि हुने गर्छन्। प्रिन्सले पनि सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकमा पदक जित्ने लक्ष्य राखेका छन्।

जापानमा १९६४ मा भएको टोकियो ओलम्पिकमा नेपालले पहिलो पटक सहभागिता जनाउन सुरु गरेयता ब्याडमिन्टनमा नेपालले पहिलो पटक भाग लिएको हो। प्रिन्सले ‘इन्भिटेसन प्लेसेस’ कोटामा पेरिस यात्रा पक्का गरेका हुन्। डेनमार्कमा जन्मिएका भिक्टर संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा बस्छन्। 

उनी टोकियो ओलम्पिक २०२० का स्वर्ण विजेता तथा रियो दि जेनेरिया ओलम्पिक २०१६ का कांस्य विजेता हुन्। दुई पटक विश्व च्याम्पियन बनिसकेका भिक्टर बिडब्लु टुरमा १८ पटक विजेता हुन्। भिक्टरले ६ वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न सुरु गरेका थिए।

प्रकाशित: १४ श्रावण २०८१ ०७:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App