१३ वैशाख २०८२ शनिबार
image/svg+xml २०:५८ अपराह्न
खेल

कुवेतको कीर्तिमानी जित, नेपाल ३ रनले पराजित

कुवेतले नेपाललाई ३ रनले पराजित गर्दै हङकङमा सम्पन्न चार राष्ट्र सम्मिलित टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको छ।

हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा भएको खेलमा कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाउँदै १७१ रनमा समेटियो।

नेपालका लागि बसिर अहमदले ४३ बलमा ८ चौका र ४ छक्कासहित ८० रनको विस्फोटक पारी खेले। उनलाई नन्दन यादवले ३७ रन बनाउँदै नवौं विकेटका लागि ७२ रनको साझेदारी गर्दै जितको आशा जगाए। तर, अन्तिम ओभरमा ११ रन आवश्यक हुँदा बसिर आउट भएपछि नेपाल ३ रनले चुक्न पुग्यो।

नेपालको ब्याटिङ शुरुदेखि नै कमजोर रह्यो। कुशल भुर्तेल ३, आशिफ शेख २१, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले खाता खोल्न सकेनन्। कप्तान रोहित पौडेल ७, सोमपाल कामी ४, गुलशन झा ९ र करण केसी ४ रनमा आउट भए।

कुवेतका अुनदीप चिन्थामाराले ३, यासिन पटेल र नविनराज राजेन्द्रनले समान २ विकेट लिए।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो। ओपनर राभिजा सन्दरुवानले ३६ बलमा ६ चौका र ४ छक्कासहित ६३ रनको महत्वपूर्ण पारी खेले।

क्लिन्टो एन्टोले २६, उसमान पटेलले २३ रन जोडे। नेपालका नन्दन यादव र सोमपाल कामीले समान २-२ विकेट लिए भने करण केसी र कुशल भुर्तेलले १-१ विकेट हात पारे।

लिग चरणमा नेपालले कतारलाई ८ विकेट र कुवेतलाई ६ विकेटले हराएको थियो। हङकङविरुद्धको खेल भने वर्षाका कारण रद्द भएको थियो। कुवेतले हङकङलाई ४ विकेट र कतारलाई ६ विकेटले पराजित गरेको थियो।

यो जितसँगै कुवेतले सिरिजको उपाधि हात पारेको छ भने नेपाल उपविजेतामै सीमित रह्यो।

प्रकाशित: ३१ चैत्र २०८१ १४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App