८ वैशाख २०८१ शनिबार
राजनीति

विचार मिल्ने भएपछि ओली समूहमा आएँ : शेरबहादुर तामाङ

तस्बिरः नागरिक<br>

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता शेरबहादुर तामाङले आफू भावनात्मक रुपमा प्रचण्ड–नेपाल समूहसँग निकट भएपनि वैचारिक रुपमा केपी ओलीसँग नजिक रहेको बताएका छन्। बिहीबार साँझ नागरिक नेटवर्कको कार्यक्रम ‘नागरिक सम्वाद’ मा प्रशान्त लामिछानेसँगको कुराकानीमा हालै प्रचण्ड–नेपाल समूह छोडेर ओली समूहमा खुलेका नेता तामाङले विचारका आधारमा आफू ओली समूहमा आएको बताए।

नवौं महाधिवेशनले एमालेको नेतृत्वमा केपी ओलीलाई पुर्‍याएकाले पार्टीको आधिकारिकता पनि उनैसँग हुने तामाङको भनाई छ। उनले पूर्व एमालेका नेताहरु फर्किएर आउने विश्वास व्यक्त समेत गरे। ‘भावनाका रुपमा उहाँहरु मेरा आदरणीय नेताहरु हुन्, उहाँहरुलाई म फेरि पनि आह्वान गरिरहेको छु, आउनुहोस् हाम्रो नेतृत्व गर्नुहोस्। कुनै ‘हेजिटेट’ छैन। उहाँहरु हाम्रै नेताहरु हुनुहुन्छ। किनभने एमाले विकासमा, जनताको बहुदलीय जनवादको विकासमा कमरेड माधव नेपालको लामो योगदान छ, झलनाथ खनालको त्यत्तिकै योगदान छ,’ उनले भने, ‘नवौं महाधिवेशनबाट एमालेको नेतृत्वमा केपी ओलीलाई पुर्‍याइसकेपछि आज त्यो पार्टीको ‘लेगेसी’ त केपी ओलीसँग छ। ढिलो चाँडो हाम्रा नेताहरु हाम्रै नेतृत्व गर्न फेरि पनि आउनुहुनेछ।’

अहिले ओली समूहमा तेस्रो पुस्ताको बाहुल्य रहेको उनको दाबी छ। तर, प्रचण्ड–नेपाल समूहमा ठूलो संख्या पहिलो पुस्ता रहेको उनले बताए। ‘आजको राजनीतिमा केपी ओलीको नेतृत्वमा मुलतः अब दोस्रो पुस्ता होइन, तेस्रो पुस्ता आउँदैछ। एकदमै नयाँ पुस्ता, म भन्छु अहिलको ‘प्लस टु जेनरेसन’ को ठूलो प्रतिशत केपी ओलीको समर्थनमा छ,’ तामाङले भने,‘त्यसोभएको हुनाले त्यहाँ पुरानो पुस्तालाई ‘रिप्लेस’गरेर नयाँ पुस्ता आउँदैछ। माधव नेपाल र प्रचण्डले नेतृत्व गरेको पार्टीमा ठूलो संख्यामा पहिलो पुस्ता छ।’

सर्वोच्च अदालतको फैसलाले आफूहरुलाई निर्वाचनको तयारीका लागि प्रयाप्त समय मिलेको उनको भनाई छ। ओली समूह अब कसरी अघि बढ्छ भन्ने जिज्ञासामा उनले भने, ‘हामी प्रष्ट छौं, हतारमा निर्वाचनमा जानुपरेको भए हामीसँग समय हुने थिएन। तर, सर्वोच्चको फैसलाछि चुनावको लागि तयारी गर्न हामीले प्रशस्त समय पाएका छौं। अर्कोतिर नेकपा कानुनी रुपमा फुटिसकेको छैन, संसदीय दल विभाजन भइसकेको छैन। यदि त्यही अवस्थालाई कायमै राखेर जाने हो भने नेता नेतृत्वमा अन्त कतै कसैलाई गुहार्न जानुभन्दा आफैंभित्र गुहारेर, आफैंभित्र छलफल गरेर जाऔं न त भन्ने पनि अवसर छ अहिलेलाई। त्यो अवसरलाई नेताहरुले अलिकति ‘करेक्सन’ गरेर हिजो भएका कतिपय गल्ती, कमजारीहरुलाई स्वीकार गरेर आत्मआलोचना गरेर अगाडि आउनुहुन्छ भने अझैपनि बाटो खुल्ला नै छ। प्रधानमन्त्रीले पनि सार्वजनिक रुपमै आउनुहोस् भनेर आह्वान गरिराख्नुभएको छ।’

यस्तै, सर्वोच्च अदालतको फैसलाले जतिसुकै शक्तिशाली सरकार भएपनि संसद् भंग हुँदैन भन्ने पुष्टि गरेको उनको भनाई छ।  

अर्को प्रसंगमा नेता तामाङले नेपालमा गाँजा खेतीमा लगाइएको प्रतिवन्धलाई हटाएर मुलुक समृद्ध बनाउन सकिने बताए। ‘नेपालमा भगवान शिवले आजभन्दा धेरै वर्षअगाडि यो चाहिँ औषधि हो है भनेर दिनुभएको छ। तर, हामी यस्ता चिजमा प्रतिवन्ध लगाएर बसेका छौं। जुन चिजबाट मुलुकको समृद्धि सम्भव छ,’ उनले भने,‘कोही पनि मान्छे अरबमा गएर बाकसमा फर्किपर्ने जस्तो दर्दनाक अवस्थाबाट मुक्त हुने भने हरेक नेपाली युवालाई आफ्नै माटोमा गाँजा खेती गर्न अनुमति दिने हो भने आज पश्चिम पहाड कर्णालीजस्तो जिल्लाहरु धनी हुन सक्छ।’

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनलाई सर्वोच्च अदालतले गत मंगलबार बदर गरिदिएको थियो।  

प्रकाशित: १३ फाल्गुन २०७७ १३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App