बाँँकेको कोहलपुरमा यातायात सेवा कार्यालय विस्तार गरेको लुम्बिनी प्रदेश सरकारले नवलपरासीमा सवारी चालक अनुमति पत्रसम्बन्धी सेवा थप गरेको छ।
नवलपरासीमा रहेको यातायात व्यवस्था कार्यालयमा सवारी साधन अनुमति पत्रसम्बन्धी सेवा थप गरिएको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले जनाएको छ। यो कार्यालयबाट शुक्रबारदेखि कार, जीप, डेलिभरी भ्यान, टेम्पो, अटो रिक्सा, इरिक्सा र ट्याक्टरको सवारी चालक अनुमति पत्रको सेवा थप गरिएको हो।
यसअघि यो कार्यालयबाट मोटरसाइकल र स्कुटरको मात्रै सवारी चालक अनुमति पत्रको सेवा प्रवाह हुँदै आएको थियो। सवारी चालकसम्बन्धी सेवा थप भएपछि नागरिकलाई सहज हुने उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले बताए। थप गरिएका सवारी चालक अनुमति पत्र सेवाको प्रारम्भ गर्दै मन्त्री न्यौपानेले भने, ‘मोटरसाइकल र स्कुटरको सवारी चालक अनुमति पत्र मात्रै हैन, सबैखाले सवारी साधनको लाइसेन्स सेवा वितरण गरिनु पर्छ भन्ने मनसायका साथ मन्त्रालय लागेको थियो, सबै खाले लाइसेन्सको सेवाको प्रारम्भ भएपछि अब नवलपरासीका सेवाग्राहीलाई लाइसेन्सका लागि बुटवल पुग्नु पर्ने बाध्यता टरेको छ।’
केही दिन अघि मात्रै मन्त्रालयले बाँकेको कोहलपुरमा यातायात सेवा कार्यालय विस्तार गरेको थियो।
प्रकाशित: ११ माघ २०८१ १९:११ शुक्रबार