१४ पुस २०८२ सोमबार
image/svg+xml
समाज

उदयपुरमा दुर्घटना : ९ महिनामा ५५ को निधन, ४२६ जना घाइते

केही समयअघि भएको सडक दुर्घटनामा उद्धारमा खट्दै ट्राफिक प्रहरी। तस्बिरः महेश्वर

उदयपुरमा केही वर्षयता सवारी दुर्घटना डरलाग्दो रूपमा बढेर अकल्पनीय जनधनको क्षति हुँदै आएको छ। खासगरी मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि दुर्घटनाको क्रम ह्वात्तै बढेको हो।

जिल्ला ट्राफिक कार्यालयले दिएको अभिलेख अनुसार सवारी दुर्घटनामा परी चालु आर्थिक वर्ष साउनदेखि चैत मसान्तसम्ममा ५५ जनाको ज्यान गएको छ। ९ महिनाको यो अवधिमा दुर्घटना सङ्ख्या २ सय १ पुग्दा ४ सय २६ घाइते भएको ट्राफिक कार्यालयको अभिलेखले देखाएको छ।

ट्राफिक कन्ट्रोलका हवल्दार भूवन राईका अनुसार हरेक दिनजसो सवारी दुर्घटना हुने गरेको छ। कुनै दिन त आधा दर्जन पटकसम्म दुर्घटना हुने गरेको राईले बताए। दुर्घटनामा साइकलदेखि ठूला सवारी साधन, ट्रक, बस र टिप्परसम्म सबैखाले साधन पर्ने गरेको छ। साइकल स्कुटी, मोटरसाइकल, कार, जीप, भेन, पिकअप, सिटी, अटो रिक्सा, बस, टिफर, र ट्रकसम्मका साधन दुर्घटनामा पर्ने गरेको हवल्दार राईले बताए।

दुर्घटनाको मुख्य कारण अधिकतर जसो तीव्र गति रहेको अनुसन्धानले देखाएको छ। त्यसैगरी मादक पदार्थ सेवन, यान्त्रिक गडबडी, ब्रेक फेल, घुमाउरो सडक, चालकको लापरबाही तथा प्राकृतिक विपत्ती (वर्षा, पहिरो)का कारण हुने गरेको छ। यो अवधिमा भएका २ सय १ दुर्घटनामध्ये १ सय १ तीव्र गतिका कारण भएको अभिलेखले देखाएको हवल्दार राईले बताए।

त्यसैगरी २१ वटा दुर्घटना मादक पदार्थ सेवनका कारण भएको छ भने ९ वटा ब्रेक फेलले भएका छन्। बाँकी दुर्घटना सडक घुमाउरो, एक्कासी बाटो काट्दा, ओभरटेक गर्दा, चालकले लापरबाही गर्दा र वर्षा, खोला बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तीले भएको ट्राफिकको अभिलेखले देखाएको छ।

अभिलेख अनुसार गएको साउनमा १२ वटा दुर्घटना हुँदा एक जनाको निधन र २३ जना घाइते भएका थिए। त्यस्तै भदौमा ९ वटा दुर्घटनामा परी २ जनाको ज्यान गएको थियो भने ३० जना घाइते भए। ८९ जना घाइते भएको असोज महिनामा दुर्घटना सङ्ख्या २० पुगेको ट्राफिक कार्यालयले जनाएको छ। कात्तिकमा ३३ दुर्घटना हुँदा ५ जनाको ज्यान गयो भने ४९ जना घाइते भए। 

त्यसैगरी मङ्सिरमा २७ वटा दुर्घटनामा परी १२ जनाको निधन भएको थियो भने सो महिना ५३ जना घाइते भए। पुसमा ३३ जना घाइते हुने गरी भएको २१ दुर्घटनामा परी २ जनाको ज्यान गएको थियो। माघ महिनामा २२ दुर्घटना हुँदा एक जनाको ज्यान गयो भने ३१ जना घाइते भएका थिए। फागुनमा ७ जनाको ज्यान जाने गरी २५ दुर्घटना हुँदा ५७ जना घाइते भए। आर्थिक वर्ष सुरुको नवौँ महिला चैतमा २१ दुर्घटना भएर एक जनाको ज्यान गएको छ भने ३३ जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्र केसीले उदयपुरमा कच्ची, घुमाउरो र साँघुरा सडक तथा घुमाउरो लोकमार्गका कारण दुर्घटना अध्याधिक हुने गरेको बताए। सडक समस्यासँगै ट्राफिक तथा सवारी ज्ञानको अभाव र तीव्र गतिले जनधनको धेरै क्षति हुने गरी दुर्घटनाम भइरहेको इन्स्पेक्टर केसी बताउँछन्। दुर्घटना रोक्ने उद्देश्यले ट्राफिक नियम पालना, गति सीमित र सडकको अवस्था अनुसार सवारी चलाउन सचेतना अभियान चलाइरहेको पनि उनले बताए।

धरान–चतारा–गाईघाट–कटारी हुँदै भिमान भएर बिपी लोकमार्गको बाटो काडमाडौं आउजाउ गर्न सहज भएपछि सवारी चाप पनि अत्याधिक बढ्नु दुर्घटनाको अर्को प्रमुख कारण भएको पनि इन्स्पेक्टर केसीले बताए। मदन भण्डारी लोकमार्ग सुरुमा बनाउँदा वैकल्पिक सडकको रूपमा निर्माण गरिएकाले साँघुरो, घुमाउरो र सडक नपुगेको बस्ती भएर बनेका कारण सवारी चेतना अभाव पनि दुर्घटनाको कारण बन्न पुगेको उनको ठहर छ।

प्रकाशित: १३ वैशाख २०८२ २१:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App