१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोशी प्रदेशले सुरु गर्‍यो कृषि मूल्य सूचना प्रणाली

कोशी प्रदेश सरकारले कृषि मूल्य सूचना प्रणाली पोर्टल सुरु गरेको छ। सहज परियोजनाको सहयोगमा कृषक, व्यवसायी र उपभोक्तालाई कृषिउपजको दैनिक बजार मूल्यबारे जानकारी दिने उद्देश्यले कृषि मूल्य सूचना प्रणाली सुरु गरिएको कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।

कृषि मूल्य सूचना प्रणालीको बुधबार कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले उद्घाटन गरे। कृषि मूल्य सूचना प्रणालीको उद्घाटन गर्दै मन्त्री खत्रीले दैनिक रुपमा कृषि उपजको बजार मूल्यबारे किसान, व्यवसायी र उपभोक्तालाई जानकारी दिने उद्देश्यले मन्त्रालयले पोर्टल सुरुवात गरेको जानकारी दिए।

मन्त्री खत्रीले दैनिक रुपमा कृषि उपजको मूल्य थाहा पाएपछि किसानले कुन वस्तुको उत्पादन कुन समयमा गर्दा बढी फाइदा हुन्छ भन्ने बुझेर त्यहीनुसारका कृषिउपज उत्पादन गरी लाभ लिन सकिने बताए।

कुरा गरेजस्तो कृषि क्षेत्र अगाडि बढ्न नसकेको बताउँदै खत्रीले देशको समृद्धिका लागि कृषिको विकल्प नरहेको धारणा राखे। उनले भने, ‘कृषि क्षेत्रको विकासबाट मात्रै पर्याप्त रोजगारी र उत्पादन बढाउन सकिने भएकाले देशको समृद्धिका लागि कृषिको विकल्प छैन।’ मन्त्री खत्रीले कृषि विज्ञलाई सहभागी गराएर कोशी प्रदेश सरकारले कृषि संवाद कार्यक्रम सञ्चालनको तयारी गरेको जानकारी दिए।

कार्यक्रममा मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत पशुपति पोखरेलले कोशी प्रदेशका मुख्य बजारहरूमा कृषि उपजको दैनिक मूल्यबारे किसान, व्यवसायी र उपभोक्तालाई जानकारी दिन पोर्टल सञ्चालनमा ल्याइएको बताए।

पहिलो चरणमा कोशी प्रदेशका धरान, बिर्तामोड र इनरुवा बजारको कृषि उपजको मूल्यबारे पोर्टलमा समावेश गरिएको छ। निकट भविष्यमै विराटनगर, इटहरी, इलामलगायतका सहरहरूको दैनिक मूल्य सूची पनि पोर्टलमा समावेश गरिने पोखरेलले बताए।

प्रकाशित: १५ चैत्र २०८० ०९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App