१० पुस २०८२ बिहीबार
image/svg+xml
शिक्षा

शिक्षक आन्दोलनले विद्यार्थी भर्ना हुनबाट बञ्चित

फाइल तस्बिर

शिक्षकको काठमाडौँ केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ । शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा गएपछि जिल्लाका सामुदायिक विद्यालय बन्द भएका हुन् ।

सरकारले वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे पनि शिक्षक आन्दोलनमा हुँदा भर्ना अभियान प्रभावित बनेको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासङ्घको नेतृत्वमा  चैत २० गतेदेखि शिक्षकले सडक आन्दोलन गरिरहेका छन् ।

महासङ्घले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ । हड्तालको समर्थनमा  विभिन्न सामुदायिक विद्यालयले सूचना जारी गर्दै शिक्षक महासङ्घको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै विद्यालयमा सबै शैक्षिक गतिविधि बन्द गरेको जानकारी गराएका छन् ।

महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज भट्टले सम्पूर्ण शैक्षिक कार्य बन्द गरिएको जानकारी दिए । "शिक्षक/शिक्षिकाहरु आन्दोलनका लागि काठमाडौं गएका छन् । शैक्षिक कार्य गर्ने वातावरण छैन ।" उनले भने, "सरकारले माग सम्बोधन गरे शैक्षिक कार्यक्रम अगाडि बढ्छन् ।" उनले कक्षा ११ को पठनपाठन बन्द गरिएको बताएका छन् । शान्ति निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज ओझाले सूचना जारी गर्दै विद्यालयका शैक्षिक गतिविधि बन्द गरिएको जानकारी दिए ।

जिल्लाका अधिकांश विद्यालयका शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौँ गएकाले सामुदायिक विद्यालयको पठनपाठन लगायतका शैक्षिक कार्यक्रम बन्द छन् । महेन्द्रनगरस्थित शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उत्तम विष्टले सरकारले शिक्षकका माग सम्बोधन नगरेसम्म विद्यालय बन्द रहने बताए ।

"सरकारले हाम्रा माग सम्बोधन गर्ने वित्तिकै हामी कार्यक्षेत्रमा फर्किन्छाँ", उनले "सरकारले माग सम्बोधन नगरे वैशाख ११ गते तय भएको कक्षा १२ को परीक्षा प्रभावित हुन्छ ।"

स्थानीय तहले मङ्गलबारदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने भने पनि शिक्षकको आन्दोलनका कारण विद्यालय खुल्न सकेका छैनन् । भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले यहाँका सबै सामुदायिक विद्यालय बन्द हुँदा विद्यार्थी भर्ना अभियान सञ्चालन हुन नसकेको बताएका छन् । "शिक्षकहरु शैक्षिक आमड्ताल गरेर आन्दोलनमा छन् । सबै सामुदायिक विद्यालय बन्द छन्", उनले भने, "शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान सञ्चालन हुन सकेको छैन ।" रासस

प्रकाशित: ३ वैशाख २०८२ ०८:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App