यतिबेला रुघाखोकी लागेका बिरामीको सङ्ख्या बढ्दै गएको छ।
त्यसो त अन्य समयमा रुघाखोकी लागेमा दुई चार दिनमा निको हुने गरेकामा पछिल्लो समय भने दुई हप्ताभन्दा बढी समय लाग्ने गरेको हो।
भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख फिजिसियन डा. प्रकाश खतिवडा हरेक तीन वर्षमा एन्फुञ्जाले आफ्नो रूप परिवर्तन गर्ने र बलियो भएर आउने बताउँछन्।
हरेक तीन तीन वर्षमा यस्तै हुने गरेको भन्दै उनले अहिले निको हुन दुई हप्ताभन्दा बढी समय लाग्ने गरेको सुनाए।
उनी भन्छन्, “रुघाखोकीसँगै घ्यारघ्यार भए निको हुन अरू बढी समय लाग्छ।”
खोकी, स्वास्वा हुनेजस्ता समस्या लिएर बिरामी आउने गरेको सुनाउँदै उनले अझै एक महिना यस्तो समस्या रहने बताए। दुई महिनायता यो समस्या बढी मात्रामा देखिएको हो।
सरकारी अस्पताल, मेडिकल कलेजहरू र निजी अस्पताल एवं क्लिनिकमा समेत यस्ता बिरामीको चाप रहेको डा. खतिवडा बताउँछन्।
उहाँले मास्कको प्रयोग गर्न, भीडभाडमा नजान सुझाव दिए।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालका वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ प्रा.डा. शीतल अधिकारी स्वासप्रश्वासका बिरामीमा अहिले बढी समस्या देखिएको बताउँछिन्।
रुघाखोकीसँगै अहिले देखिएको प्रदूषणले तत्कालीन रूपमा खोकी र श्वास फेर्ने समस्याबाहेक दीर्घकालीन रूपमा फोक्सोमा खत बस्ने र रोग प्रतिरोधी क्षमता कमजोर बनाउने जोखिम रहेको उनको भनाइ छ।
“कोभिडले फोक्सोमा असर गरेका बिरामीलाई प्रदूषण र रुघाखोकीले सामान्य अवस्थाभन्दा बढी जोखिममा पारेको छ।” उनले भनिन्।
नियमित औषधि सेवन गर्नेहरूलाई समेत यस्तै अवस्था रहिरहे औषधिको मात्रा थप्नुपर्ने अवस्था आउने उनले बताए।
विशेषगरी बालबालिका, वृद्ध, मुटु र मिर्गौलाका रोगीहरूलाई जोगाउनुपर्नेमा उनको जोड छ। हाल अस्पतालमा आउने बिरामीमध्ये धेरैलाई खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र कतिपयको खकारमा कालो र फोहर मिसिएकोजस्तो देखिने गरेको छ।
रुघाखोकीसँगै देखिएको श्वासप्रश्वासको समस्या निको हुन समय लागेको उनी बताउँछिन्। पुष्पाञ्जली अस्पतालका फिजिसियन डा. भोजराज अधिकारी आफूले मधुमेह, थाइराइड, उच्च रक्तचापका बिरामी धेरै हेर्ने गरेकोमा अहिले रुघाखोकी र श्वासप्रश्वासका बिरामीहरू धेरै आउने गरेको सुनाइन्।
उनले भनिन्, “दैनिक कम्तीमा १० जना श्वासनली बज्यो, छाती घ्यारघ्यार भयो, रुघा निको भएन भनेर आउनुहुन्छ।”
कतिपय भर्खरै निको भएको तर पुनः समस्या आयो भन्दै अस्पताल आउने गरेको उनले जानकारी दिइन्। यस्तो समस्या निको हुन धेरैलाई दुई हप्ता लागेको उनले बताइन्।
पहिले रुघाखोकी दुई तीन दिनमा निको हुने गरेको थियो। यसको कारण बदलिएको कोभिड पनि हुनसक्नेतर्फ उनले सङ्केत गरिन्। इन्फुन्जा नेपालमा रहेको भन्दै उनले भनिन्, “रोग के कारणले लागेको हो भन्ने हामीकहाँ अध्ययन भएको छैन।”
वायु प्रदूषण अर्काे कारण हुनसक्ने डा. अधिकारीको भनाइ छ। अहिलेको समयमा विवाह, व्रतबन्ध, भोजभतेरजस्ता मानिसको भीड हुने कार्यक्रम धेरै भएकाले पनि यो फैलिएको डा. अधिकारी बताउँछिन्।
यससँगै राजनीतिक समर्थन र विरोधका कार्यक्रममार्फत पनि सङ्क्रमण फैलिएको उनले जनाइन्।
उनले कोभिडको समयमा अपनाईएका स्वास्थ्य सुरक्षाका विधिहरू अपनाउन सुझाव दिइन्।
प्रकाशित: २ वैशाख २०८२ २१:२२ मंगलबार