गण्डकी प्रदेशमा हालसम्म करिब २५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। असार १२ गते शुक्रबारसम्ममा गण्डकीका ११ जिल्लामध्ये नौ जिल्लामा २४.८६ प्रतिशत धान रोपाइँ सकिएको गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास महाशाखाले जनाएको छ। यो अघिल्लो वर्षको तुलनामा करिब तीन प्रतिशतले कम हो। अघिल्लो वर्ष यही समयमा २८.६२ प्रतिशत रोपाइँ भएको थियो।
गण्डकीमा ९३ हजार ६०६ हेक्टर जमिन धान रोपाइँ गर्न योग्य रहेकोमा हालसम्म १३ हजार ४३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको महाशाखाकी कृषि प्रसार अधिकृत बिना पराजुलीले जानकारी दिइन्।
कास्कीमा सबैभन्दा धेरै ४७ प्रतिशत र लमजुङमा सबैभन्दा कम ११ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। बागलुङमा ३८ प्रतिशत, म्याग्दीमा ३५ प्रतिशत, पर्वतमा २१ प्रतिशत, नवलपुरमा २०.९० प्रतिशत, स्याङजामा १९.३६ प्रतिशत, तनहुँमा २० प्रतिशत र गोरखामा ११.५ प्रतिशत रोपाइँ भएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कास्कीमा १६ हजार २१० हेक्टर क्षेत्रफलमा धान लगाउने अनुमान गरिएकोमा हालसम्म सात हजार ६१८ हेक्टर जमिनमा धान रोपाइँ भएको छ।
बागलुङमा पाँच हजार ७१० हेक्टरमध्ये दुई हजार १६९ हेक्टर, म्याग्दीमा तीन हजार आठ सय हेक्टरमध्ये एक हजार ३३० हेक्टर, पर्वतमा सात हजार १६० हेक्टरमध्ये एक हजार ५०३ हेक्टर, नवलपुरमा १८ हजार ७२३ हेक्टरमध्ये तीन हजार ९१४ हेक्टर, स्याङ्जामा १३ हजार ६८५ हेक्टरमध्ये दुई हजार ६५० हेक्टर, तनहुँमा आठ हजार ५१५ हेक्टरमध्ये एक हजार ७०३ हेक्टर, गोरखामा १० हजार पाँच सय हेक्टरमध्ये एक हजार २०८ हेक्टर र लमजुङमा नौ हजार २९९ हेक्टरमध्ये एक हजार २२ हेक्टर जमिनमा रोपाइँ सम्पन्न भएको जानकारी महाशाखाकी कृषि विकास अधिकृत बिनाकुमारी पराजुलीले दिइन्।
उनका अनुसार कास्कीमा आठ हजार ५९२ हेक्टर, बागलुङमा तीन हजार ५४१ हेक्टर, म्याग्दीमा दुई हजार ४७०, पर्वतमा पाँच हजार ६५७ हेक्टर, नवलपुरमा १४ हजार ८०९ हेक्टर, स्याङ्जामा ११ हजार ३५ हेक्टर, तनहुँमा ६ हजार ८१२ हेक्टर, गोरखामा नौ हजार २९३ हेक्टर र लमजुङमा आठ हजार २७६ हेक्टर जमिनमा रोपाईं हुन बाँकी छ।
अघिल्लो वर्षको तुलनामा हालसम्म कास्कीमा रोपाइँ केही कम भएको देखिएको छ। यसमा मनसुन भित्रिन ढिलो हुनु, भित्रिएको मनसुन प्रभावकारी नहुनुलगायतका कारण रहेको पराजुलीले बताइन्।
त्यसबाहेक जलवायु परिवर्तनको प्रभाव र त्यसमा किसानले अनुकूलन खोज्दा रोपाइँ तुलनात्मक रूपमा पछि सर्दै गएको उनको दाबी छ। एक त मनसुन भित्रिन ढिलो भएको छ, भित्रिएको मनसुन पनि कमजोर हुँदा पर्याप्त पानीको अभावले गर्दा रोपाइँ ढिलो भएको देखिन्छ।
उनले भनिन्, ‘अर्कोचाहिँ जलवायु परिवर्तनको असरले मनसुनमा पारेको प्रभावप्रति किसान सजग भएर अनुकूलन खोज्ने प्रवृत्ति पनि देखिएको छ। यसले गर्दा किसानले नै रोपाइँ ढिलो गरेको पनि देखिन्छ।’
उनले किसानले रैथाने बालीभन्दा अन्य बाली लगाउन थालेकाले पनि रोपाइँको समय पछि सर्दै गएको हुनसक्ने उनको आकलन छ। ‘बाली काट्ने समय पनि पछाडि धकेलिएको हुँदा बाली पाक्ने समय पनि पछि सरेको छ’, उनले भनिन्।
गण्डकीका ११ जिल्लामध्ये हिमालपारीका जिल्ला मनाङ र मुस्ताङमा भने धान खेती हुँदैन।
प्रकाशित: १३ असार २०८३ ०९:१९ शनिबार




