२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

विश्वकप खेल्दा हजुरआमा गुमाएका फुटबलरको २५ वर्षकै उमेरमा निधन

विश्वकप २०२६ खेलेका दक्षिण अफ्रिकाका मिडफिल्डर जेडेन एडम्सको २५ वर्षकै उमेरमा निधन भएको छ। दक्षिण अफ्रिकाका खेलकुद, कला तथा संस्कृति मन्त्री गेटन म्याकेन्जीले विज्ञप्ति जारी गर्दै उनको निधनको पुष्टि गरेका हुन्।

म्याकेन्जीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म्यामेलोडी सनडाउन्स र बाफाना बाफानाका मिडफिल्डर जेडेन एडम्सको २५ वर्षको उमेरमा भएको निधनको खबरले मलाई स्तब्ध बनाएको छ। दक्षिण अफ्रिकी फुटबलले आफ्नो एक प्रतिभाशाली युवा खेलाडी गुमाएको छ। यो कठिन घडीमा हामी उनको परिवार, साथीहरू र समर्थकहरूसँगै शोकमा छौँ।’

एडम्सको निधनको कारण हालसम्म सार्वजनिक गरिएको छैन। म्याकेन्जीले यस विषयमा कुनै पनि प्रकारको अनुमान नगर्न र परिवारप्रति संयम तथा सहानुभूति देखाउन आग्रह गरेका छन्। आइतबार मियामी गार्डेनमा भएको नर्वे र इगंल्याण्डबिचको विश्वकप क्वार्टरफाइनल खेलअघि एडम्सको सम्मानमा एक क्षण मौन धारण गरिएको थियो।

यो पनि पढ्नुहोस्

जुड बेलिंघमको दुई गोल : नर्वेलाई हराउँदै इगंल्यान्ड विश्वकप सेमिफाइनलमा

दक्षिण अफ्रिकालाई पहिलोपटक विश्वकपको नकआउट चरणमा पुर्‍याउन एडम्सले महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले मेक्सिको र चेक रिपब्लिकविरुद्धको समूह चरणका खेलहरूबाट आफ्नो विश्वकप यात्रा सुरु गरेका थिए। म्याकेन्जीका अनुसार आफ्नी हजुरआमाको मृत्यु भएको थाहा पाएको केही घण्टाभित्रै उनले दक्षिण कोरियाविरुद्धको खेल खेलेका थिए।

गत वर्ष मामेलोडी सनडाउन्समा आबद्ध हुनुअघि उनले स्टेलेनबोशका लागि धेरै सिजन खेलेका थिए। उनले यस वर्ष क्लबलाई अफ्रिकी च्याम्पियन्स लिग जित्न पनि मद्दत गरेका थिए। दक्षिण अफ्रिकी फुटबल खेलाडी संघले भनेको छ, ‘हामीले हाम्रा एक होनहार साथीलाई गुमाएका छौँ। राष्ट्रले एक उत्कृष्ट फुटबल खेलाडी सदाका लागि गुमाएको छ। उनको नम्रता, असाधारण प्रतिभा र देशका लागि खेलेको गौरवलाई हामी सधैं सम्झनेछौँ। जेडेन, तिम्रो आत्माले शान्ति पाओस्।’

उनको निधनप्रति दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा र दक्षिण अफ्रिकी ट्रेड युनियन महासंघले पनि गहिरो शोक व्यक्त गरेका छन्। एजेन्सी 

प्रकाशित: २८ असार २०८३ १४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App