२० श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

चौथो ताप्लेजुङ गोल्डकप: आयोजकबाट खेल्ने १७ खेलाडी छनौट

भदौ १२ गते देखि हुने चौथो संस्करणको ताप्लेजुङ गोल्डकपका लागि आयोजकको तर्फबाट खेल्ने १७ खेलाडीको छनौट गरिएको छ।

१८ र १९ गते दुईदिन भएको छनौट खेलका आधारमा खेलाडी छनोट उपसमितिले १७ खेलाडीको सूची आयोजक समिति समक्ष सिफारिस गरेको छ। खेलाडी छनोट उपसमितिमा देवकुमार मादेन, सन्तोष गुरुङ, रमेश चोङवाङ र दीपेश आङवुहाङ रहेका थिए। देवकुमार ताप्लेजुङ जिल्ला फुटबल संघका प्रशिक्षक समेत रहेका छन्।

उनका अनुसार सागर श्रेष्ठ, प्रनिस गुरुङ, भाईचुङ शेर्पा, नवीन खवास, सुनुयोजित यक्सो, सञ्जुहाङ साँवा, सविन तामाङ, सविन लिम्बू, विवेक लिम्बू, शिशिर राई, मञ्जित लिम्बू, विवेक मादेन, पवन लिम्बू, पासाङ शेर्पा, दीपेश लिम्बू, आकास लिम्बू र सुहाङ लिम्बू खेलाडी रुपमा छनोट भएका छन्।

खेलाडी छनौटमा सहभागी भएका तर छनौटमा पर्न असफल रहेका खेलाडीहरुलाई आयोजकले गोल्डकपका सम्पूर्ण खेलहरु निःशुल्क रुपले अवलोकन गर्न पाउने व्यवस्था गरेको जनाएको छ। चौथो अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा ८ टीम सहभागी हुँदैछन्।

भदौ १२ देखि १९ गतेसम्म फुङलिङस्थित भानुजन माविको खेल मैदानमा हुने यो प्रतियोगिता पहाडी क्षेत्रमा सर्वाधिक दर्शकहरुको उपस्थितिमा हुने खेलको रुपमा परिचित रहेको छ। खेल मैदानस्थलमा अस्थायी प्याराफिट निर्माण,खेल मैदान व्यवस्थापन सहितको कार्य चलिरहेको छ। यसबर्ष आयोजकले सम्पूर्ण खेलका लागि जनही ३ हजार रुपैयाँका दरले टिकट पाइने गरी टिकट प्याकेज कार्यक्रम ल्याएको छ।

टिकट प्याकेज धमाधम बिक्रीमा गरिरहेको समेत आयोजक समितिले जानकारी दिएको छ। यसबर्ष आयोजकको एक सहित भुटान र भारतका प्रख्यात टीमका साथ नेपालकै नाम चलेका फुटबल क्लवहरुलाई खेलमा आमन्त्रण गर्ने तयारी भइरहेको आयोजक समितिले जनाएको छ।

प्रकाशित: २० श्रावण २०८३ १०:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App