२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

विश्वव्यापी तापक्रम र वर्षा प्रणाली प्रभावित पार्दै एल निनो

विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) का अनुसार एल निनो क्रमशः तीव्र बन्दै गएको छ । यो वर्षको अगस्तदेखि अक्टोबरसम्म विश्वका अधिकांश भागमा औसतभन्दा बढी तापक्रम हुने र वर्षाको ढाँचामा पनि उल्लेखनीय परिवर्तन आउने प्रक्षेपण उक्त निकायद्वारा हालै सार्वजनिक एक रिपोर्टमा गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय निकाय डब्लुएमओका अनुसार एल निनोका कारण विश्वव्यापी जलवायु प्रणालीमा समेत महत्त्वपूर्ण प्रभाव पर्ने देखिएको छ । विशेषगरी, असाधारण रूपमा तातिएका विश्वका महासागर तथा भारतीय महासागरमा देखिने द्विध्रुवीयता (इन्डियन ओसियन डाइपोल) विकसित हुने सम्भावनासँगै झन् सशक्त बन्दै गएको एल निनोले आगामी महिनामा विश्वका धेरै क्षेत्रमा मौसमको स्वरूप निर्धारण गर्ने देखिएको छ ।

एल निनो भनेको मध्य र पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतहको पानी असामान्य रूपमा तात्दा विश्वभरको तापक्रम, वर्षा र मौसम प्रणालीमा व्यापक परिवर्तन ल्याउने प्राकृतिक जलवायु घटना हो ।

डब्लुएमओद्वारा हालै सार्वजनिक ‘मासिक विश्वव्यापी मौसमी जलवायु अद्यावधिक (ग्लोबल सिजनल क्लाइमेट अपडेट) नामक प्रतिवेदनका अनुसार अगस्टदेखि अक्टोबर २०२६ सम्म एल निनो निरन्तर सशक्त बन्दै जाने छ ।

विश्वका प्रमुख पूर्वानुमान केन्द्रहरूले तयार पारेका बहु–मोडेल संयुक्त विश्लेषणका अनुसार प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा समुद्री सतहको तापक्रम औसतभन्दा २.९ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ ।

वर्षाको पूर्वानुमान

पूर्वी अफ्रिकाको ग्रेटर हर्न क्षेत्र, मध्य एसियाका केही भाग, दक्षिणी युरोप, उत्तर अमेरिकाको पश्चिमी भाग (४५ डिग्री उत्तर अक्षांशभन्दा दक्षिण) तथा दक्षिणपूर्वी दक्षिण अमेरिकामा औसतभन्दा बढी वर्षा हुने सम्भावना छ।

यस विपरीत भारतीय उपमहाद्वीप, दक्षिणी तथा पूर्वी अस्ट्रेलिया, मध्य अमेरिकाको दक्षिणी भाग, क्यारिबियनका केही क्षेत्र, दक्षिण अमेरिकाको उत्तरपश्चिमी भाग तथा उत्तरी युरोपमा औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको डब्लुएमओले जनाएको छ ।

डब्लुएमओले विश्वका सरकार, मानवीय सहायता निकाय, कृषि तथा स्वास्थ्यजस्ता जलवायु–संवेदनशील क्षेत्र र जोखिममा रहेका समुदायलाई सम्भावित असरको पूर्वतयारी गर्न सहयोग पुर्‍याउन समन्वय, जलवायु सूचना सेवा तथा पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाइरहेको जनाएको छ।

एल निनोसँगै हिन्द महासागरमा पनि द्विध्रुवीयता (इन्डियन ओसियन डाइपोल) पनि विकसित हुने पूर्वानुमान गरिएको छ । हिन्द महासागरको एक भागको समुद्र सामान्यभन्दा धेरै तात्ने र अर्को भाग सामान्यभन्दा चिसो हुने प्राकृतिक जलवायु अवस्थालाई ‘इन्डियन ओसियन डाइपोल’ भनिन्छ ।

यस अवस्थामा पश्चिमी हिन्द महासागरको समुद्री सतह सामान्यभन्दा बढी तात्ने र पूर्वी हिन्द महासागर सामान्यभन्दा चिसो रहने गर्दछ । यी दुई महासागरीय प्रणालीले विशेषगरी हिन्द महासागर आसपासका क्षेत्रमा खडेरी, बाढी र डढेलो जोखिमलाई अझ बढाउन सक्ने डब्लुएमओले जनाएको छ । साथै उष्णकटिबन्धीय एटलान्टिक महासागरको सतहको तापक्रम पनि औसतभन्दा बढी रहने अपेक्षा गरिएको छ।

‘एल निनो अब हाम्रो ढोकामा मात्र होइन, यो त घरघरमा पसिसकेको छ र तापक्रम झन् बढाइरहेको छ । यो त केवल प्रारम्भिक संकेत मात्र हो । एल निनो अझ सशक्त बन्दै छ र यसले भीषण गर्मी, विनाशकारी डढेलो तथा इतिहासकै ताता समुद्रको सामना गरिरहेको पृथ्वीमा थप इन्धन हालिरहेको छ’, उक्त प्रतिवेदनप्रति आफ्ना धारणा राख्दै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भनेका छन्।

उनले जीवाश्म इन्धनको बढ्दो प्रयोगले यो संकट अझ भड्काइरहेको बताएका छन्। ‘यदि हामीले मानिसको सुरक्षा र संकटको मूल कारण समाधान गर्न तत्काल कदम चालेनौं भने यसको खतरा अझ घातक बन्दै जानेछ । अब प्रारम्भिक चरण समाप्त भइसकेको छ । मुख्य संकटको प्रतीक्षा गर्ने सुविधा हामीसँग छैन’, उनले भनेका छन्।

‘एल निनो विश्वमा सबैभन्दा नजिकबाट निगरानी गरिने जलवायु घटनामध्ये एक हो  तर पूर्वानुमानले विपद् रोक्दैन । त्यसका लागि मानिसले नै समयमा कदम चाल्नुपर्छ’, डब्लुएमओकी महासचिव सेलेस्टे साउलोले उक्त प्रतिवेदन सार्वजनिक गर्ने क्रममा भनिन् ।

सामान्यतः एल निनो प्रत्येक दुईदेखि सात वर्षको अन्तरालमा देखा पर्छ र यसको अवधि नौदेखि बाह्र महिनासम्म रहन्छ।

यो प्रायः मार्चदेखि जुनबिच विकसित हुन थाल्छ, नोभेम्बरदेखि फेब्रुअरीबिच शक्तिशाली अवस्थामा पुग्छ र त्यसपछिका वर्षमा विश्वव्यापी तापक्रममा यसको प्रभाव सबैभन्दा स्पष्ट देखिन्छ।

प्रकाशित: २१ श्रावण २०८३ ११:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App