१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
खेल

एसीसी महिला यू–१९ प्रिमियर कप: सिंगापुरविरुद्ध नेपालको फराकिलो जित

एसीसी महिला यू–१९ प्रिमियर कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले सिंगापुरमाथि एकतर्फी प्रदर्शन गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। मलेसियामा जारी प्रतियोगितामा नेपाली टोलीले ब्याटिङ र बलिङ दुवै विभागमा उत्कृष्ट प्रदर्शन गर्दै सिंगापुरलाई १ सय ५१ रनले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा कुनै विकेट नगुमाई १ सय ९९ रनको विशाल योगफल तयार पार्यो। नेपाली ओपनर साना प्रवीण र सावित्री धामीले जितको आधार तयार पारे। दुवैले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै सिंगापुरका बलरलाई दबाबमा राखे र पहिलो विकेटका लागि अविजित १ सय ९९ रनको साझेदारी गरे।

साना प्रवीण शतकबाट केवल दुई रनले चुके पनि उनले ७० बलमा १३ चौकासहित अविजित ९८ रनको उत्कृष्ट इनिङ्स खेलिन्। अर्की ओपनर सावित्री धामीले ५३ बलमा १३ चौका प्रहार गर्दै अविजित ७८ रन जोडिन्। सावित्रीको प्रतियोगितामा यो लगातार दोस्रो अर्धशतक हो।

दुई सय रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको सिंगापुर सुरुदेखि नै दबाबमा देखियो। नियमित अन्तरालमा विकेट गुमाएको टोली २० ओभरमा ८ विकेट गुमाएर ४८ रनमा सीमित भयो। सिंगापुरका लागि अंकिता वर्षा राजले सर्वाधिक १९ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।

नेपालका लागि अनु कडायतले किफायती बलिङ गर्दै ४ ओभरमा मात्र ४ रन खर्चेर ३ विकेट लिइन्। मनिषा उपाध्याय र रिया शर्माले समान २–२ विकेट हात पार्दै सिंगापुरको इनिङ्स धराशायी बनाए।

यसअघि पहिलो खेलमा नेपालले कतारलाई फराकिलो अन्तरले पराजित गरेको थियो। लगातार दुई जितसँगै नेपाली टोली प्रतियोगिताको अंकतालिकामा बलियो अवस्थामा पुगेको छ। अब नेपालले आफ्नो तेस्रो खेलमा मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ, जहाँ जित निकाल्दै सेमिफाइनल यात्रालाई थप मजबुत बनाउने लक्ष्य रहनेछ।

प्रकाशित: २८ असार २०८३ १४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App