२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पानीका मुहान संरक्षण अभियानमा काभ्रेका ७ पालिका

पानीका मुहान संरक्षणमा काभ्रेपलाञ्चोकका सात नगरपालिकाले विशेष अभियान सुरु गर्ने भएका छन्। नेपालको मध्य पहाडी क्षेत्रमा बढ्दो पानी असुरक्षालाई सम्बोधन गर्न, समुदायको नेतृत्वमा समुदायका मूलहरू पहिचान गर्न तथा मुहान अवस्थाको मूल्यांकन तथा संकटासन्न मुहानलाई पुनर्जीवित गर्ने उद्देश्यले यो अभियान थालिएको हो।

यो अभियानअन्तर्गत नमोबुद्ध, पनौती, धुलिखेल, पाँचखाल नगरपालिका तथा रोशी, बेथानचोक, तेमालका गाउँपालिकाले प्रकृतिमा आधारित समाधानका माध्यमबाट मूलाधार संरक्षण कार्यक्रमका निम्ति अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ( इसिमोड) सँग बिहीबार एक आशयपत्रमा हस्ताक्षर गरेका छन्।

इसिमोडका अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा रहेका लगभग ९० लाख मुहानले पानीको महत्त्वपूर्ण स्रोतका रूपमा सेवा प्रदान गर्दै आइरहेका छन्। यसो हुँदाहँुदै पनि जलवायु परिवर्तन, भूमिगत पानीको अत्यधिक उत्खनन र भूमि प्रयोग परिवर्तन जस्ता जल्दाबल्दा समस्याका कारण पानीका मुहान जोखिममा छन्।

नमोबुद्ध नगरपालिकामा ४ सय ४४ मुहानको २०२३ मा गरिएको सर्वेक्षणअनुसार २० प्रतिशत मुहान सुकिसकेको अवस्थामा छन् भने अधिकांश मुहानमा पानीको प्रवाहमा कमी आएको देखिएको छ। विज्ञका अनुसार बढ्दो सडक निर्माणले निम्त्याउने भूक्षय र चट्टानको अस्थिरताले यो जोखिमलाई थप बढाएको छ।  

हिन्दकुश हिमालय क्षेत्रमा सञ्चालित मूल संरक्षण तथा पुनरुत्थानका कार्यक्रममा स्थानीय सरकारले ऐतिहासिक अभियानमा देखाएको ऐक्यबद्धताले अन्य नगरपालिकालाई पनि आफ्नो बजेट र योजनामा मूलाधार व्यवस्थापन अपनाउन प्रेरित गर्ने जलस्रोतविद् बताउँछन्।

‘पहाडी समुदायको पिउने पानी, गाईवस्तुका लागि पानी र बालीनालीका लागि पानीको निरन्तर पहुँच सुनिश्चित गर्नु, पानी अभाव विस्थापन गर्नु, पानी विवाद न्यूनीकरण गर्नु अहिलेको मुख्य आवश्यकता हो’, इसिमोडका मूलाधार व्यवस्थापन प्रबन्धक निर्देशक सञ्जीव भुचर बताउँछन्। उनले यो समस्या गम्भीर रहे पनि  पर्याप्त ध्यान वा लगानी नभएको बताउँछन्।  

‘यो अभियानमा  स्थानीय सरकारको चासो र समर्थन हुनु र काभ्रेपलाञ्चोक जिल्लाका पालिकाहरूले लिएको अग्रसरताले हामीलाई थप ऊर्जा प्रदान गरेको छ’, उनले बताए।  

बिहीबार सम्पन सहमतिअनुसार इसिमोडले यी नगरपालिकाका पानीको मुहानहरूको स्थान र स्थितिको विवरणसहित, जल तथा भौगर्भिक विज्ञानको अध्ययनका आधारमा पुनर्भरण क्षेत्र पहिचान, सुधारिएका मुहानहरूको प्रवाह र पानीको गुणस्तर, जैविक विविधताको अवस्था, जलवायु सहलाभहरूको मूल्यांकनजस्ता गतिविधि कार्यान्वयन गर्न सहायता गर्ने छ।  

यसैगरी मूल तथा मुहान सरक्षणमा देशभरकै स्थानीय सरकारसँग सहकार्य गर्दै जाने दीर्घकालीन लक्ष्य रहेको इसिमोडले बताएको छ।

इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोका अनुसार पानी असुरक्षाले हिन्दकुश क्षेत्रका समुदायको जीविकोपार्जन तथा यो क्षेत्रको जैविक विविधतामा नकारात्मक असर पारेको छ।  

‘यो प्रभाव न्यूनीकरण गर्नु हिन्दुकुश हिमालय क्षेत्रका सबै आठ सदस्यराष्ट्रहरूको प्रमुख चिन्ताको विषय रहेको छ। त्यसैले यो मुद्दालाई हामीले अहिल्यै केन्द्रविन्दु बनाएका छौं’, उनले भनेका छन्।  

बिहीबार सम्पन्न कार्यक्रममा बोल्दै नमोबुद्ध नगरपालिकाका मेयर कुनसाङ लामाले यो अभियानले जिल्लाका सुक्खा मुहानलाई पुनर्जीवित गर्न सहयोग पुग्ने बताए।

यसैगरी बेलायती सरकारको फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिसको आर्थिक सहयोगमा सञ्चालन भइरहेको हिमालयन रेजिलियन्स इनेबलिङ एक्सन प्रोग्रामअन्तर्गत प्रकृतिमा आधारित समाधानको विश्वव्यापी मापदण्डअनुरूप, नगरपालिका तथा साझेदारसँग सहकार्य गर्दै करीब ७५० वर्ग किमि क्षेत्रफलको बृहत्रूपमा मूलाधार व्यवस्थापन गतिविधि विस्तार गर्न लागिएको इसिमोडले जनाएको छ।

इसिमोडको मूल तथा मूलाधार सरक्षण बेलायती सरकारको फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिसको सहयोगमा सञ्चालित हिमालयन रेजिलियन्स इनेबलिङ एक्सन प्रोग्रामको एक हिस्सा रहेको बताइएको छ। यो प्रोग्रामअन्तर्गत विश्वभर जल विपन्नता न्यूनीकरणका क्षेत्रमा काम गर्ने सामाजिक संस्था फ्य्रांक वाटरबाट पनि सहयोग गरिएको छ।  

यो अभियान नेपाल, नर्वे र स्विडेन सरकारले कार्यान्वयन गरिरहेका  सहनशील पर्वतीय समाधान पहल कार्यक्रमको निरन्तरताका रूपमा पनि अघि बढेको इसिमोडको कथन छ।  

हिमालयन रेजिलियन्स इनेबलिङ एक्सन प्रोग्रामले स्थानीय सरकार, समुदाय, निजी क्षेत्र तथा सम्पूर्ण सरोकारवालालाई समेट्दै बाँकी क्षेत्रलाई यी मूल तथा मूलाधार संरक्षण व्यवस्थापनका गतिविधिमा समेटेर दिगो तथा दीर्घकालीन समाधानमा टेवा पुर्‍याउने लक्ष्य राखेको छ।

प्रकाशित: ३ फाल्गुन २०८० १४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App