१२ वैशाख २०८२ शुक्रबार
image/svg+xml ७:५० पूर्वाह्न
समाज

शान्त उन्मुख वीरगञ्‍ज : सद्‍भाव कायम गर्न पाँच बुँदे सहमति

कर्फ्यू उल्लंघन गर्ने ८५ जना पक्राउ

वीरगन्जमा जिल्ला प्रशासन कार्यालय पर्साले लगाएको कर्फ्यू उल्लंघन गरेको आरोपमा ८५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार हमुमान जयन्तीको शोभा यात्रा निकाल्ने क्रममा वीरगन्जको छपकैयामा दुई समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो ।  

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले कर्फ्यू उल्लंघन गरेको आरोपमा ८५ जनालाई नियन्त्रणमा लिइएको बताए । आइतबार विहानदेखि बेलुकासम्ममा महानगरका  विभिन्न ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिइएको उनले बताए ।

स्थानीय प्रशासनले जारि गरेको आदेश विपरित कार्य गर्नेलाई तत्काल नियन्त्रणमा लिने अटेर गर्नेलाई गोली हान्ने आदेश भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर नजान स्थानीय प्रहरी प्रशासनले सूचना मार्फत अपिल गरेको छ ।

अहिले वीरगञ्जको अवस्था सामान्य बन्दै गएको प्रहरी उपरिक्षक मिश्रले बताए । कर्फ्यू लगाइएको क्षेत्रमा सयौको संख्यामा सुरक्षाकर्मीहरुलाई तैनाथ गरिएको छ ।  

शनिबार बेलुकीदेखि वीरगन्जमा लगाइएको कर्फ्यू आइतबार राति १२ बजेसम्मलाई लम्ब्याईएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राति १२ बजेपछि भने कर्फ्यूलाई अवस्था हेरेर केही क्षेत्रमा मात्रै सीमित गर्ने तयारी भएको बताए। 

शनिबारको घटनालाई  नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरीले १४५ राउण्ड अश्रु ग्याँस र दुई राउण्ड हवाइ फायर गरेको थियो।

स्थितिलाई नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरीतर्फ नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षकसहित २५ जना र प्रदर्शनकारीतर्फ १५ जना बढी घाइते भएको पर्सा प्रहरीले जनाएको छ।  

तनाव अन्त्य गर्न पाँच बुँदे सहमति  

वीरगन्जमा दुई फरक धर्म समुदायबीचको विवाद र झडपका कारण शनिबारदेखि जारी तनाव अन्त्य गर्न आईतबार पाँच बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार दिनभर भएको दुई पक्षीय, सर्वपक्षीय र सर्वदलीय छलफलपछि साँझ पाँच बुँदे सहमति भएको हो ।  

प्रमुख जिल्ला अधिकारी अर्यालको पहल र सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा भएको छलफलमा वीरगन्जमा हनुमान जयन्तीको शोभा यात्राको क्रममा भएको झडपको घटनामा संलग्न दोषीहरुलाई बैशाख ३ गतेभित्र पक्राउ गरी कारबाही गर्ने, अन्तर धार्मिक÷साम्प्रदायीक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिबद्ध रही कानूनी कारबाहीको प्रकृयामा सहयोग पुरयाउने सहमति भएको पर्साका प्रहरी उपरिक्षक मिश्रले बताएका छन्।

यस्तै शनिबारको घटनामा घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने, तोडफोड र आगजनीबाट भएका भौतिक क्षतिको क्षतिपुर्तिका लागि प्रशासनले पहल गर्ने, वीरगन्जमा अब आयोजना हुने धार्मिक एंव सांस्कृतिक सम्बन्धि कुनैपनि जात्रा, पर्व, कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने सहमति पनि भएको छ ।

यसैगरि वीरगन्ज सहित पर्सा जिल्लामा सञ्चालित सबै धर्मका धार्मिक संस्था र ती संस्थाबाट सञ्चालित मदरशा र विद्यालयहरुमा सुक्ष्म अनुगमन गरेर अन्यथा देखिएमा कारबाहीको दायरमा ल्याउने लिखित सहमति गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।

उक्त पाँच बुँदे सहमतिपत्रमा उल्लेख पाँच वटै बुदाँप्रति जिल्लामा सकृय सबै राजनीतिक दलका नेता, हिन्दु र मुस्लिम समुदायका अगुवाहरुले हस्ताक्षर गरेको अर्यालले बताए । 

प्रकाशित: ३१ चैत्र २०८१ २०:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App