नेपाल र बाङ्लादेशबीच जारी ५ खेलको महिला कबड्डी शृंखलामा बिहीबार नेपालले तेस्रो जित हात पारेको छ।
पाँचदिवसीय खेलमा ३–१ को जितसँगै नेपालले शृंखला आफ्नो पक्षमा पारेको छ। सातदोबाटोस्थित तेक्वान्दो हलमा भइरहेको शृंखलाको चौथो खेलमा नेपालले बाङ्लादेशलाई २१–१७ अंकले पराजित गर्यो। बाङ्लादेशले तेस्रो खेल जितेको थियो।
नेपालकी मानमती विष्ट ‘प्लेयर अफ द म्याच’ बनिन्। उनले ८ अंक जोडिन्। पाँचौं तथा अन्तिम खेल शुक्रबार हुने आयोजक अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए।
नेपालले घरेलु मैदानमा जारी बाङ्लादेशसँगको पाँचदिवसीय महिला कबड्डी टेस्ट शृंखलाको तेस्रो खेलमा भने हार सामना गरेको थियो। उक्त खेलमा नेपाल पाहुना टोली बाङ्लादेशसँग २६–२३ अंकको साँघुरो अन्तरले पराजित भएको हो। पाहुना टोली बाङ्लादेशविरुद्ध पहिलो दुई खेलमा सहज जित निकाल्दै नेपाल शृंखला आफ्नो बनाउने लक्ष्यमा थियो।
नेपालले पहिलो खेलमा ४१–१८ र दोस्रो खेलमा २९–२२ को जित निकालेको थियो। तर, तेस्रो खेलमा भने नेपालले त्यो लय जारी राख्न सकेन। यद्यपि, चौथो खेलमा सफलतासँगै नेपालले शृंखला आफ्नो पक्षमा पार्यो। अब वैशाख १२ गते पाँचौं खेल तय हुनेछ। कबड्डीको लोकप्रियता बढेसँगै सुखद नतिजा आएको समयमा नेपालले बाङ्लादेशसँग शृंखला खेलेको हो।
नेपाली महिला कबड्डीले सन् २०२३ मा चीनको हाङझाउमा भएको एसियन गेम्समा ऐतिहासिक कांस्य पदक जितेपछि नेपालमा यो खेलको लोकप्रियता बढ्दै गएको छ। नेपालको कबड्डीले पहिलोपल्ट एसियन गेम्समा पदक जितेको हो।
त्यतिबेला बाङ्लादेशलाई हराउँदै नेपालले त्यो पदक जितेको थियो। त्यसपछि पहिलोपल्ट बाङ्लादेशसँग नेपालले खेलेको हो। बाङ्लादेश कबड्डी संघसँग हरेक वर्ष तीनवटा शृंखला खेल्ने अखिल नेपाल कबड्डी संघले सम्झौता गरेको छ।
यसअघि नै नेपाली पुरुष टोलीले भने बाङ्लादेश भ्रमण गरिसकेको छ। उक्त पाँच खेलको शृंखलामा बाङ्लादेशले ४–१ को जित निकालेको थियो। यस शृंखला एसिया कबड्डी महासंघको मान्यतामा भएको हो। कबड्डीमा कुनै पनि राष्ट्रिय महिला टोलीले पहिलोपल्ट शृंखला खेल्न लागेको अखिल नेपाल कबड्डी संघले उल्लेख गरेको छ।
पछिल्लो दुई वर्षयता नियमित रूपमा प्रशिक्षण गर्दै नेपाली महिला कबड्डी टोलीले शृंखलामा पनि सोहीअनुरूप प्रदर्शन गरेको छ। नेपाली टोली अहिले भारतको बिहारमा जुन १ देखि १३ सम्म हुने विश्वकपको तयारी पनि रहेको छ। यसैको तयारीस्वरूप नेपालले बाङ्लादेशसँग शृंखला खेलेको हो।
प्रकाशित: १२ वैशाख २०८२ ०७:३९ शुक्रबार





