प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा बनेको बिजनेस सेन्टरलाई ‘मचान’ ठानेर विरोध गरेको भन्दै गुनासो गरेका छन्। शनिवार नेकपा एमालेले दमकमा आयोजना गरेको जागरण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘दमकमा एउटा बिजनेस सेन्टर बनाइयो। धेरैले विरोध गरे भ्यू टावर भनेर। यो मचान बनाएको होइन, यसो माथि चढेर परपरसम्म हेर्न,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्यू टावर भनेर मचान ठाने। वन्यजन्तु आरक्षण, राष्ट्रिय निकुञ्जमा कहाँ के छ भनेर वन्यजन्तुबाट सुरक्षित भएर हेर्न मचान बनाइएको हुन्छ, त्यसलाई भ्यू टावर पनि भन्छन्।’
तर दमकमा बनाइएको अग्लो घर बिजनेस सेन्टर भएको प्रधानमन्त्री ओलीले दाबी गरे। उनले भने, ‘दमकमा बनाइएको बिजनेस सेन्टरलाई मान्छेले त्यस्तै मचान ठाने। विरोध गरे, आलोचना गरे।’ त्यो भोलि गएर दमकको विकासको केन्द्रका रूपमा अगाडि आउने उनले बताए।
झापामा ओली सरकारका पालामा २०७६ बाट झन्डै दुई अर्ब खर्चिएर १८ तला अग्लो बिजनेस सेन्टर बनाइएको छ। जसको निर्माण सम्पन्न भइसकेको छ। कोरोना महामारीका बेला अर्बौँ खर्चिएर अनावश्यक ठाउँमा भ्यू टावर बनाइएको भन्दै आलोचना हुने गरेको छ।
प्रकाशित: ३० चैत्र २०८१ १६:३८ शनिबार