१२ पुस २०८२ शनिबार
image/svg+xml
खेल

एपिएफलाई लुम्बिनी कप उपाधि

इन्जुरी समयमा नेपाल पुलिस क्लबलाई १–० गोलले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लबले ‘लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । यो सँगै एपिएफ क्लब इलाम, चितवनपछि लगातार तेस्रो पटक उपाधि जित्ने विभागीय टिम बनेको छ ।

नेपालगन्ज रंगशालामा शुक्रबार भएको दुई विभागीय टिम बीच भएको फाइनल खेलमा एपिएफकी गीता रानाले गोल गरेर टिमलाई जित दिलाइन् । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि ९ मिनेट इन्जुरी समय थपिएको थियो । 

इन्जुरी समयको ९ औं मिनेटमा एपिएफले लगातार तीन पटक कर्नर पाएको थियो । तेस्रो पटकको कर्नरमा एपिएफकी गीताले गोल गरिन् । उपाधि जितेसँगै एपिएफले नगद ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । 

प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि एवम् लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले विजेता टिमलाई पुरस्कृत गरे । यस्तै उपविजेतामा चित्त बुझाएको पुलिस क्लबले नगद २ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित एपिएफका अनिता बस्नेतले नगद २५ हजार सहित ट्रफी हात पारिन् । प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक एफिएफकी भगवती थापा, उत्कृष्ट स्ट्राइकर एपिएफका अनिता केसी, उत्कृष्ट मिडफिल्डर एपिएफका सरु लिम्बु, उत्कृष्ट डिफेन्डर एपिएफका गीता राना र उत्कृष्ट गोल किपर घोषित पुलिस क्लबका उषा नाथले नगद १० हजारसहित ट्रफी प्राप्त गरे ।

फाइनल खेलमा ‘प्लेयर अफ द म्याच’ गीता रानाले नगद ५ हजारसहित ट्रफी पाइन् । प्रतियोगितामा यसअघि एपिएफले कर्णाली प्रदेश फुटबल संघलाई हराएर सेमिफाइनल र रौतहट जिल्ला फुटबल संघलाई पराजित गरेर फाइनलमा पुगेको  थियो । 

पुलिस क्लबले भारतको सिलगुडी एफसीलाई हराएर सेमिफाइनल र त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल संघको सहकार्यमा यही बैशाख ५ गतेबाट सुरु भएको उक्त प्रतियोगितामा ८ वटा टिमले भाग लिएका थिए ।

प्रकाशित: १२ वैशाख २०८२ २०:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App