पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानले जेलभित्र आफ्नो स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै तत्काल उपचारको व्यवस्था गर्न माग गरेका छन्।
उनले आफ्नी श्रीमती बुशरा बीबीको स्वास्थ्य अवस्था पनि बिग्रिएको उल्लेख गर्दै दुवैलाई उचित उपचार उपलब्ध गराउन पाकिस्तानका तीन प्रमुख अदालतका प्रधानन्यायाधीशहरूसँग अपिल गरेका हुन्। इमरानले सोमबार संघीय संवैधानिक अदालत, सर्वोच्च अदालत र इस्लामाबाद उच्च अदालतका प्रधानन्यायाधीशहरूलाई सम्बोधन गर्दै खुला पत्र लेखेका हुन्।
उनका वकिल ब्यारिस्टर सलमान सफदरले सामाजिक सञ्जाल एक्समार्फत उक्त पत्र सार्वजनिक गरेका छन्। उनले नोभेम्बर २ र नोभेम्बर ११ मा रावलपिन्डीस्थित आदियाला जेलमा इमरानसँग भेट गरेका थिए। पत्रअनुसार नोभेम्बर ११ को भेटमा इमरानले आफ्नो स्वास्थ्य अवस्था र समस्याबारे अदालतका प्रधानन्यायाधीशहरूलाई जानकारी गराइदिन सफदरलाई आग्रह गरेका थिए। सफदरले पत्रमा उल्लेख गरिएका कुरा इमरानकै निर्देशन र भनाइअनुसार सार्वजनिक गरिएको स्पष्ट पारेका छन्।
पत्रमा इमरानले आफ्नो र बुशराको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको बताएका छन्। उपचारको माग गर्नु कुनै विशेष सुविधा खोज्नु नभई सामान्य मानवीय अधिकार भएको उनको भनाइ छ। उनले लेखेका छन्, ‘मैले आफ्नो जीवन अस्पताल निर्माण गर्न र उपचार गर्न नसक्ने मानिसलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन खर्च गरेको छु। आज म आफ्नै र मेरी श्रीमतीको उपचारको व्यवस्था गरिदिन मात्र अनुरोध गरिरहेको छु।’
खानले आफ्नो जीवनको ठूलो हिस्सा क्रिकेट, सामाजिक सेवा र परोपकारी काममा बिताएको बताएका छन्। हाल ७४ वर्ष पुगेका उनले पाकिस्तानको २२औँ प्रधानमन्त्रीका रूपमा पनि देशको सेवा गरेको उल्लेख गर्दै ७० वर्षको उमेरसम्म आफ्नो नाममा कुनै आपराधिक मुद्दा नरहेको दाबी गरेका छन्। तर, त्यसपछि आफूविरुद्ध राजनीतिक प्रतिशोध साँधेर मुद्दा चलाउने अभियान सुरु भएको उनको आरोप छ।
इमरानका अनुसार उनीविरुद्ध लगातार मुद्दा दर्ता गरिए, अदालतमा पटकपटक उपस्थित हुनुपर्यो र पक्राउबाट बच्न अग्रिम जमानतका लागि पनि धेरैपटक निवेदन दिनुपर्यो। आफूलाई मार्ने प्रयाससमेत भएको उनले पत्रमा उल्लेख गरेका छन्। उक्त घटनाबाट बाँचेपछि सबै कानुनी चुनौतीको सामना अदालतबाटै गर्ने बाटो रोजेको उनको भनाइ छ।
उनले विगतमा अदालतबाट केही मुद्दामा राहत पाएको र त्यसले न्याय प्रणालीप्रतिको विश्वास कायम राख्न सहयोग गरेको बताएका छन्। तर, संवैधानिक संशोधनपछि अदालतबाट राहत पाउने बाटो साँघुरिँदै गएको र अन्ततः बन्द भएको उनको आरोप छ। आफूलाई सबैभन्दा बढी न्यायिक सहयोग आवश्यक परेको समयमा पनि न्याय प्रणालीले साथ नदिएको गुनासो खानले गरेका छन्।
उनले आफू र बुशराविरुद्ध विभिन्न मुद्दा चलिरहेको र ती मुद्दाका पुनरावेदनसमेत निर्णयको प्रतीक्षामा रहेको बताएका छन्। आफूले स्वास्थ्य समस्यालाई कानुनी राहत प्राप्त गर्ने माध्यमका रूपमा प्रयोग नगरेको उनको दाबी छ। मुद्दाहरूको सामना कानुनी प्रक्रियाबाटै गरिरहेको र आफू निर्दोष रहेको प्रमाणित गर्न तयार रहेको उनले स्पष्ट पारेका छन्।
इमरानले तोशाखाना-२ मुद्दामा फैसला आएपछि आफूलाई बाहिरी संसारसँगको सम्पर्कबाट पूर्ण रूपमा अलग गरिएको पनि पत्रमा उल्लेख गरेका छन्। उनका अनुसार उनलाई दिनमा २२ घण्टासम्म एकान्त कारावासमा राखिएको छ। परिवार, वकिल र छोराहरूसँग सम्पर्क गर्न, किताब पढ्न तथा टेलिभिजन हेर्नसमेत दिइएको छैन।
खानका अनुसार लामो समयसम्म वकिलसँग भेट्न नपाएपछि सर्वोच्च अदालतले उनलाई न्यायिक सहयोगी (एमिकस क्युरी) नियुक्त गरेको थियो। त्यसपछि ब्यारिस्टर सलमान सफदरले फेब्रुअरी १० मा उनीसँग भेट गरेका थिए। उक्त भेटमा उनको दाहिने आँखाको करिब ८५ प्रतिशत दृष्टि गुमिसकेको पत्ता लागेको थियो। आफ्नो स्वास्थ्य समस्याबारे परिवार र कानुनी सल्लाहकारलाई समेत समयमै जानकारी नगराइएको उनको आरोप छ।
इमरानका अनुसार जेलकै मेडिकल बोर्डले मानसिक तनाव र चिन्ताको अवस्था पहिचान गरेको थियो। बोर्डले परिवार र श्रीमतीसँग नियमित सम्पर्क, पढ्नका लागि सामग्री तथा टेलिभिजनको सुविधा उपलब्ध गराउन सुझाव दिएको थियो। तर, जेल प्रशासनले मेडिकल बोर्डको सुझाव कार्यान्वयन नगरेको उनको आरोप छ।
उनले श्रीमतीसँग हुने साप्ताहिक भेटघाटसमेत जेल प्रशासनले कुनै कारण नखुलाई रद्द गर्ने गरेको बताएका छन्। आफ्ना दिदीबहिनीसमेत हिरासतमा रहेको जानकारी पाएको तर उनीहरूलाई भेट्न नपाएको उनले पत्रमा उल्लेख गरेका छन्। उनका दुई छोरा कासिम र सुलेमानलाई पनि अदालतको आदेश हुँदाहुँदै आफूलाई फोन गर्न नदिइएको उनको दाबी छ।
आफ्नो स्वास्थ्य अवस्थाभन्दा श्रीमती बुशराको स्वास्थ्यप्रति आफू बढी चिन्तित रहेको इमरानले पत्रमा खुलाएका छन्। गत अप्रिलमा बुशराको आँखाको रेटिना छुट्टिने समस्या देखिएपछि जटिल शल्यक्रिया गरिएको उनले बताएका छन्। शल्यक्रियापछि उनलाई पुनः जेल फर्काइएको थियो। तर, आँखाको समस्या पूर्ण रूपमा समाधान भएको छैन।
खानका अनुसार हालै श्रीमतीसँग भेट्दा उनको आँखाको अवस्था निकै खराब देखिएको थियो। उज्यालो सहन नसक्ने र आँखा खोल्नसमेत कठिन हुने अवस्थामा बुशरा पुगेको उनले बताएका छन्। थप शल्यक्रिया नगरिए स्थायी रूपमा आँखाको ज्योति गुम्न सक्ने खतरा रहेको उनको दाबी छ।
बुशराको स्वास्थ्य परीक्षणसम्बन्धी अभिलेख उपलब्ध नगराइएको र आफूले चाहेका चिकित्सकबाट उपचार गराउन नदिइएको पनि उनको आरोप छ। उनको स्वास्थ्य अवस्था र कैदीसम्बन्धी कानुनी व्यवस्थालाई ध्यानमा राखेर सजाय निलम्बन गर्ने विषयमा समेत सुनुवाइ नभएको उनले बताएका छन्।
बुशराले पनि आफ्नो स्वास्थ्य परीक्षण र उपचारका लागि अदालतमा निवेदन दिएकी छन्। उनले नेत्ररोग विशेषज्ञबाट तत्काल स्वास्थ्य परीक्षण गराउन तथा आफ्नै खर्चमा आफूले रोजेका चिकित्सकबाट उपचार लिन पाउनुपर्ने माग गरेकी छन्। उनको निवेदनअनुसार परीक्षणमा संलग्न चिकित्सकले आँखामा परिपक्व मोतियाबिन्दुको समस्या रहेको बताएका थिए। थप शल्यक्रिया आवश्यक पर्ने चिकित्सकको सुझाव रहेको पनि निवेदनमा उल्लेख छ।
नोभेम्बर १६ मा सार्वजनिक भएको अर्को विवरणअनुसार बुशराले नोभेम्बर ११ मा वकिलहरूसँग भेट्दा आफ्नो आँखाको अवस्था निकै कमजोर रहेको बताएकी थिइन्। उनले चस्मा लगाउँदा पनि अगाडि रहेका मानिसलाई धमिलो आकृतिका रूपमा मात्र देख्ने र चस्माबिना देख्नसमेत कठिन हुने जानकारी दिएको वकिलहरूले अदालतमा बुझाएको शपथपत्रमा उल्लेख छ। शल्यक्रियापछि संक्रमण भए स्थायी रूपमा दृष्टि गुम्न सक्ने चिकित्सकहरूले चेतावनी दिएको पनि शपथपत्रमा उल्लेख गरिएको छ।
इमरानले गत अगस्ट १८ मा सर्वोच्च अदालतले आफ्नो स्वास्थ्य परीक्षण र उपचारका लागि महत्त्वपूर्ण आदेश दिएको स्मरण गराएका छन्। उक्त आदेशमा आफूलाई दुई दिनभित्र इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पतालमा स्थानान्तरण गर्न, स्वास्थ्य परीक्षणका लागि मेडिकल बोर्ड गठन गर्न र परिवारसँग भेटघाटको व्यवस्था मिलाउन भनिएको उनले बताएका छन्। तर, सर्वोच्च अदालतको आदेश अहिलेसम्म कार्यान्वयन नभएको उनको आरोप छ।
इमरानको मुद्दा अहिले संघीय संवैधानिक अदालतमा सुनुवाइको प्रतीक्षामा रहेको छ। स्वास्थ्य उपचार र अदालतका पुराना आदेश कार्यान्वयनसम्बन्धी विषयलाई प्राथमिकता नदिई अलकादिर ट्रस्ट मुद्दाको पुनरावेदनलाई अगाडि बढाइएकोमा पनि उनले असन्तुष्टि जनाएका छन्।
खानका अनुसार गत नोभेम्बर १० मा उनको रक्तचाप १९२ देखि १९३ सम्म पुगेको थियो। यसअघि पनि रक्तचाप १३०, १५० र १७० सम्म पुगेको उनले पत्रमा उल्लेख गरेका छन्। चिकित्सकहरूले यस्तो अवस्थाले मस्तिष्कमा रक्तस्राव हुने र मुटुले काम गर्न छाड्ने जोखिम बढाएको बताएको उनको दाबी छ। उनको मुटुमा समेत क्षति पुगिसकेको चिकित्सकहरूले जानकारी दिएको उनले उल्लेख गरेका छन्।
७४ वर्षको उमेरमा लगातारको तनाव र उपचारको अभावले आफ्नो जीवन जोखिममा परेको इमरानको भनाइ छ। उनले पत्रको अन्त्यमा अदालतसँग कुनै विशेष सुविधा वा कृपा नमागेको स्पष्ट पारेका छन्। सर्वोच्च अदालतले यसअघि दिएको आदेश कार्यान्वयन गर्न र आफू तथा श्रीमतीलाई उचित स्वास्थ्य उपचार उपलब्ध गराउन मात्र माग गरेको उनले बताएका छन्।
उनले लेखेका छन्, ‘म हजुरहरूसँग कुनै कृपा मागिरहेको छैन। न्यायका रूपमा सर्वोच्च अदालतका आदेश कार्यान्वयन गरियोस् र हाम्रो स्वास्थ्य अवस्थाको उचित उपचारको व्यवस्था गरियोस् भन्ने मात्र अनुरोध हो। म जीवित रहे मात्र आफू निर्दोष रहेको प्रमाणित गर्न सक्छु। धेरै ढिलो हुनुअघि मलाई न्याय दिनुहोस्।’
इमरानको खुला पत्र सार्वजनिक भएपछि उनका छोराहरू कासिम र सुलेमानले पनि सामाजिक सञ्जालमार्फत चिन्ता व्यक्त गरेका छन्। कासिमले बुबाको पत्र पढ्दा आफू निकै दुःखी भएको बताएका छन्। बुबाको स्वास्थ्य अवस्था र जेलभित्रको परिस्थितिबारे सार्वजनिक भएको विवरणले आफूलाई गम्भीर रूपमा चिन्तित बनाएको उनले उल्लेख गरेका छन्। सुलेमानले पनि पत्रलाई अत्यन्तै पीडादायी भनेका छन्।
बुबाले उचित स्वास्थ्य उपचारको माग गर्नु कुनै विशेष सुविधा खोज्नु नभई सामान्य मानव अधिकारको विषय भएको सुलेमानको भनाइ छ। कैदीले पनि आवश्यक स्वास्थ्य सेवा पाउनुपर्ने तर्क गर्दै उनले इमरानलाई थप ढिलाइ नगरी उपचारका लागि शिफा इन्टरनेसनल अस्पताल स्थानान्तरण गर्न पाकिस्तानी अधिकारीसँग आग्रह गरेका छन्। बुबाको स्वास्थ्य अवस्था थप बिग्रिनुअघि नै आवश्यक उपचारको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका छन्।
सन् २०२२ को अप्रिलमा संसद्को अविश्वास प्रस्तावबाट प्रधानमन्त्री पद गुमाएका इमरान अगस्ट ५, २०२३ देखि जेलमा छन्। उनीविरुद्ध भ्रष्टाचार, सरकारी उपहार र अन्य राजनीतिक घटनासँग सम्बन्धित विभिन्न मुद्दा चलाइएका छन्। बुशरालाई भने जनवरी १७, २०२५ मा पक्राउ गरिएको थियो।
इमरान र बुशरा अलकादिर ट्रस्टसम्बन्धी भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर भएका छन्। उक्त मुद्दामा सन् २०२५ को जनवरीमा इमरानलाई १४ वर्ष र बुशरालाई सात वर्षको जेल सजाय सुनाइएको थियो। यसबाहेक साउदी युवराजबाट प्राप्त महँगो गहनाको सेटसँग सम्बन्धित तोशाखाना-२ मुद्दामा सन् २०२५ को डिसेम्बर २० मा दुवैलाई १७ वर्षको जेल सजाय सुनाइएको थियो। उनीहरूले आफूविरुद्धका आरोप अस्वीकार गर्दै आएका छन्।
इमरानको परिवार, वकिल र पार्टीका नेतासँगको भेटघाटमा पनि प्रतिबन्ध लगाइएको भन्दै पीटीआईले विरोध गर्दै आएको छ। इस्लामाबाद उच्च अदालतले उनलाई मंगलबार र बिहीबार गरी सातामा दुईपटक परिवार, वकिल तथा अन्य सहयोगीसँग भेट्न अनुमति दिएको थियो। तर, अदालतका विभिन्न आदेश हुँदाहुँदै पनि भेटघाट नियमित हुन सकेको छैन।
उनको दाहिने आँखामा देखिएको समस्या जनवरी २०२६ को अन्त्यतिर सार्वजनिक भएको थियो। उनलाई दाहिने आँखाको केन्द्रीय रेटिनल नसामा अवरोध हुने समस्या (राइट सेन्ट्रल रेटिनल भेन अक्लुजन) देखिएको बताइएको छ। त्यसपछि पटकपटक अस्पताल लगेर उपचार गरिएको थियो। गत अगस्ट १८ मा सर्वोच्च अदालतले उनलाई इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पतालमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको थियो। जेल प्रशासनले उनको स्वास्थ्य अवस्थाबारे अदालतमा प्रतिवेदन बुझाएपछि यस्तो आदेश आएको थियो।
तर, सरकारले उनलाई शिफा अस्पताल लैजानुको सट्टा सरकारी अस्पताल पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पिम्स) पुर्याएको थियो। उपचारपछि उनलाई पुनः आदियाला जेल फर्काइएको थियो। त्यसबेला पाकिस्तानका सूचना मन्त्री अत्ताउल्लाह तरारले अस्पताल जाने र फर्कने क्रममा पीटीआईका कार्यकर्ताले सिर्जना गरेको सुरक्षा चुनौतीका कारण शिफा अस्पताल लैजान नसकिएको बताएका थिए। तर, पीटीआईले सरकारको उक्त दाबी अस्वीकार गर्दै अदालतको आदेश जानाजानी उल्लंघन गरिएको आरोप लगाएको थियो।
उता, नोभेम्बर १६ मै बुशराका वकिलहरूले पनि इस्लामाबाद उच्च अदालतमा नयाँ निवेदन दर्ता गराएका छन्। उक्त निवेदनमा उनको सम्पूर्ण स्वास्थ्य अभिलेख अदालतमा पेस गर्न, आवश्यक शल्यक्रिया र उपचारको व्यवस्था गर्न तथा उनलाई विशेषज्ञ अस्पतालमा स्थानान्तरण गर्न माग गरिएको छ। जेलभित्रको खराब वातावरण र विशेषज्ञ चिकित्सकको अभावले उनको स्वास्थ्यमा थप जोखिम उत्पन्न गरेको निवेदनमा दाबी गरिएको छ।
प्रकाशित: ३० कार्तिक २०८३ २०:२४ सोमबार



-600x400.jpg)

