३० कार्तिक २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायती राजकुमार विलियम र राजकुमारी क्याथरिन भारतमा

बेलायतका राजकुमार विलियम र राजकुमारी क्याथरिन तीनदिने भ्रमणका लागि सोमबार भारत पुगेका छन्।

सन् २०२४ मा क्याथरिनलाई क्यान्सर भएको पुष्टि भएपछि दुवै जना सँगै विदेश भ्रमणमा निस्किएको यो पहिलो पटक हो।

राजपरिवारका उक्त दम्पतीले मुम्बईबाट भ्रमण सुरु गर्नेछन्। उनीहरू मंगलबार ‘अर्थसट प्राइज’ वितरण समारोहमा सहभागी हुने कार्यक्रम छ।

राजकुमार विलियमले सुरु गरेको यस वातावरणीय पुरस्कारअन्तर्गत जलवायु परिवर्तनका चुनौती समाधान गर्ने नवीन उपायलाई प्रोत्साहन गर्न पाँच विजेतालाई जनही १३ लाख अमेरिकी डलर प्रदान गरिन्छ।

सन् २०२० मा स्थापना भएको यस पुरस्कारको अहिलेसम्मकै ठूलो समारोहमा भारतीय क्रिकेटका चर्चित खेलाडी सचिन तेन्दुलकर, अभिनेत्री आलिया भट्ट र अभिनेता रामी मालेकसहित विशिष्ट अतिथिहरू सहभागी हुनेछन्।

बेलायती पप समूह ‘टेक द्याट’ले पनि यसै कार्यक्रममार्फत पहिलो पटक भारतमा प्रस्तुति दिनेछ।

राजकुमार विलियमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतले विगत छ वर्षमा अर्थसट अभियानमा असाधारण योगदान दिएको छ। अन्य कुनै पनि देशको तुलनामा भारतबाट सबैभन्दा बढी फाइनलिस्ट र विजेता आएका छन्।’

भारत आइपुगेपछि राजकुमार विलियम र राजकुमारी क्याथरिनले मुम्बईको बलार्ड इस्टेट क्षेत्रमा स्थानीय बासिन्दासँग सडक क्रिकेट खेले। सडक क्रिकेट मुम्बईको दैनिक जीवनको अभिन्न हिस्सा मानिन्छ।

नयाँदिल्ली प्रस्थान गर्नुअघि उहाँहरूले भारतको क्रिकेट, फेसन र चलचित्र उद्योगसँग सम्बन्धित कार्यक्रममा सहभागिता जनाउनेछन्। नयाँ दिल्लीमा बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम रहेको छ।

उनीहरूले १० वर्षअघि भारत भ्रमणका क्रममा पनि प्रधानमन्त्री मोदीसँग भेट गरेका थिए। त्यतिबेला राजा चाल्र्स तृतीयका जेठा छोरा विलियम बेलायती राजसिंहासनका उत्तराधिकारी बनिसकेका थिएनन्।

यो भ्रमण राजकुमारी क्याथरिनका लागि विदेशमा हुने राजपरिवारका औपचारिक गतिविधिमा सक्रिय सहभागिताको महत्वपूर्ण पुनरागमनका रूपमा हेरिएको छ।

उनले सन् २०२४ मार्चमा पेटको ठूलो शल्यक्रियापछि उपचारका क्रममा आफूलाई क्यान्सर भएको जानकारी दिएका थिए।

‘केट’ नामले पनि परिचित उनले सन् २०२५ जनवरीमा आफू क्यान्सरमुक्त अवस्थामा पुगेको घोषणा गरेका थिए। त्यसयता उनले क्रमशः सार्वजनिक जिम्मेवारी सम्हाल्न थालेका छन्।

यसअघि क्यान्सर पुष्टि भएपछि पहिलो विदेश भ्रमणका क्रममा उनी गत मे महिनामा पतिबिना नै इटाली गएका थिए।

प्रकाशित: ३० कार्तिक २०८३ १९:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App