२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

श्री गुमेको महल अर्थात् श्रीमहल

झ्याल भत्किएका छन्। भित्ता चर्केका छन्। बुर्जा खुस्केको छ। गजुर गिरेको छ। प्राचीन सौन्दर्य झाडीमा छोपिएको छ।

राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराले छोराहरूका लागि बनाएको सय वर्ष पुरानो श्रीमहलको वर्तमान अवस्था हो यो। सरकारको प्राथमिकतामा नपर्दा ललितपुरको पुल्चोकमा रहेको यो भव्य महल २०७२ सालको भूकम्पलगत्तै भूत महलको रूपमा परिणत बन्दै गएको छ।

भूकम्पपछि जीर्ण बन्दै गएको यो महलको पुनर्निर्माणका लागि २०७५ सालमा तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बोलपत्रसमेत आह्वान गरेको थियो। तर प्राविधिक त्रुटि देखाउँदै ऊ निर्माणबाट पछि हटेको थियो।

लगत्तै स्थानीय पूर्वाधार विकासले आफैं बताउँदै बताउँदै आएको थियो। तर उसले पनि काम गर्न नसकेपछि यसको पुुुुुनर्निर्माणको जिम्मा सहरी विकास तथा भवन निर्माण विभागलाई दिइयो।

श्रीमहल पुनर्निर्माणको जिम्मा विभागले लिएको छ तर कामलाई गति दिन सकेको छैन। १ अर्ब ५० करोडको लागत अनुमान भए पनि अर्थ मन्त्रालयले २० करोड मात्र दिने बताएपछि यसको निर्माणमा अन्योल कायमै छ।

‘हामीले २० करोडमा काम सुरु गर्न नसकिने बताएका छौं,’ सहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्ले भन्छन्, ‘राष्ट्रिय योजना आयोगमा आवश्यक रकमबारे फेरि पत्र पठाएका छौं।’ पाँच तले यो दरबारको राणाकालमा बेग्लै रौनक थियो।

राणशासनको समाप्तिलगत्तै यसमा कृषि विश्वविद्यालय रहेको जानकारहरू बताउँछन्। ‘२०२७ सालतिर गाउँ फर्क अभियानको कार्यालय पनि राखियो,’ पूर्वाधारमा कार्यरत सीताराम नेपाल भन्छन्, ‘पछि स्थानीय विकास मन्त्रालय हुँदै पूर्वाधारको कार्यालय यहाँ राखिएको थियो।’ 

२०६८ सालतिर स्थानीय विकास मन्त्रालय सिंहदरबारमा सरेपछि यहाँ स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको कार्यालय सञ्चालनमा थियो। भूकम्पपछि स्थानीय पूर्वाधार विभाग श्रीमहल छेवैको भवनमा सरेको छ।

२०७२ सालको भूकम्पपछि भने खाली रहेको यो भवन जीर्ण बन्दै गएको नेपालले बताए। राणाकलामा श्री दरबारको नामले परिचित यो दरबार चन्द्रशमशेरले १९७६ सालमा बनाउन सुरु गरेका थिए। यसको निर्माण १९७८ सालमा सम्पन्न भएको थियो।

भूकम्पलगत्तै स्थानीय विकास तथा कृषि, सडक विभाग र राष्ट्रिय आवास कम्पनी रहेको श्रीमहलमा रेड स्टिकर लगाइएको थियो। त्यतिबेला पुरातत्व विभागले श्रीमहलको बाहिरी स्वरूपलाई जस्ताको तस्तै रहने गरी भत्काएर पुनर्निर्माण गर्नुपर्ने बताएको थियो।

‘तर बजेटको अभावमा हामीले अझै काम अगाडि बढाउन सकेका छैनौं,’ सहरी विकास मन्त्रालयका सूचना अधिकारी भन्छन्, ‘मागेजति बजेट निकासा भयो भने उस्तै स्वरूपमा श्रीमहलको शिर फेरि ठडिनेछ।’

प्रकाशित: १९ माघ २०८० ०७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App