११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ, १८ लाखभन्दा बढी जरिवाना असुल

जिल्ला प्रहरी कार्यालय, बाँकेले विभिन्न अपराधमा संलग्न भई लामो समयदेखि फरार ५६ प्रतिवादीलाई पक्राउ गरेको छ। उनीहरूमाथि ५ वर्ष ७ महिना २९ दिन कैद र १८ लाख ८६ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ।

प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार पक्राउ परेका प्रतिवादी जबरजस्तीकरणी, कर्तव्य ज्यान, लागुऔषध कारोबार, चेक अनादर र बहुविवाहलगायत मुद्दामा संलग्न छन्। यसअघि फागुनमा प्रहरीले ६५ फरार प्रतिवादी पक्राउ गरेको थियो। ‘अदालतले फैसला गरेका र केही मुद्दा चलेका अभियुक्त छन्,’ उनले भने।

चैत महिनामा प्रहरीले ३ लाख ५९ हजार ३५० रुपैयाँ बराबरको भन्सार छलीको अवैध सामग्री बरामद गरेको छ। अवैध तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरी ओसारपसारमा प्रयोग भएको एक जीप र तीन मोटरसाइकल बरामद गरिएको छ। यी सामग्री आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको पातलीले बताए।

चैतमा दर्ता भएका १५८ मुद्दामा १९३ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ। ३ हजार ७२० सवारीसाधनका चालकलाई कारबाही गरी २९ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। 

सोही अवधिमा ७१ सवारीसाधन दुर्घटनामा ७ जनाको मृत्यु र १२० जना घाइते भएका छन्। हराएका वा चोरी भएका ६ मोटरसाइकल र २६ स्मार्ट मोबाइल फोन फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ३ वैशाख २०८२ ०६:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App