१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

ओलीको प्रश्न: जनता मारेको घटनामा मुछिएका मन्त्रीले अझै झण्डा हल्लाएर हिँड्न मिल्छ ?

सरकार र सत्तामा लिप्त भएकै कारण मन्त्रीहरुले आफ्नो नैतिकता गुमाउँदै गएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।

विराटनगरमा  सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले नैतिकता भएको भए आफू वा आफ्नो मन्त्रालयका विषयमा विवाद सिर्जना हुँदा नै राजीनामा दिनुपर्ने बताएका हुन्। विवाद सिर्जना हुँदा नै नैतिकताका आधारमा राजीनामा दिनु पर्नेमा उनले जोड दिए।

जनताको मृत्युको कारणमा देखिएका मन्त्रीले राजीनामा दिएर नैतिकता प्रस्तुत गर्नुपर्ने बताउँदै, अध्यक्ष ओलीले भने, ‘मन्त्रीकै कारण जनताको मृत्यु भएको र घटनामा मुछिएपछि सरकारका मन्त्रीले तत्कालै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने थियो। त्यसो नगरी झण्डा हल्लाएर हिँड्न मिल्छ?’

अध्यक्ष ओलीले एमाले सरकारमा हुँदा मन्त्रीका सामान्य कुरोको विवाद आउँदै गर्दा राजीनामा दिएको बताए। तर, अहिले घटनामा मुछिएको कुरा आउँदासमेत राजीनामा दिनुपर्नेमा उल्टै झण्डा हल्लाएर हिँडेको उनको भनाइ छ। क्याबिनेटले बनाएको समितिले मान्छे मरेको घटनामा मन्त्रीकै दोष छ भन्दा पनि राजीनामा नदिने भन्दै उनले प्रश्न गरे।

एमाले अहिले मिसन ८४ मा केन्द्रित छ। मिसन ८४ लाई लिएर अघि बढेको एमाले गठबन्धन सरकार फेर्न खेलमा नरहेको बताउँदै, अध्यक्ष ओलीले भने, ‘मिसन ८४ मार्फत राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्नुछ। अहिलेको सरकार फेर्ने, गठबन्धन बदल्ने यस्तो खेलमा एमाले छैन। गठबन्धनका कारण राष्ट्रियता, सुशासन, विकास कमजोर हुँदै गएको छ। जनतामा छाएको निराशालाई आशामा बदल्नु छ।’

प्रतिपक्ष भएकाले आफूहरूले गठबन्धन सरकारलाई सुझाव दिने भएको र दिँदै आएको पनि उनको भनाइ छ। तर, गठबन्धन सरकारले आफ्नो सुझाव लिने वा सुन्ने नगरेको पाइएको उनले बताए।

अहिलेको गठबन्धन भनेको खरानीको डल्लो भएको बताउँदै, अध्यक्ष ओलीले भने, ‘खरानीको डल्लो भनेको सुक्यो भने पनि फुट्छ, भिजायो वा भिज्यो भने पनि फुट्छ। हामी मिसन ८४ मा छौँ। मुलुकको अर्थतन्त्र सुधार गर्नेतर्फ काँग्रेसको सोच र चिन्तन नै नरहेको ओलीले टिप्पणी गरे। काँग्रेस कसरी सत्तामा पुग्ने र त्यसलाई कसरी टिकाउने भन्ने सोच बाहेक अन्य केहीमा नभएको उनले बताए।

मुलुकको अर्थतन्त्र सुधार गर्नेतर्फ काँग्रेसको सोच र चिन्तन नै नभएको ओलीको भनाइ छ।  काँग्रेसले संविधान संशोधनको ‘ब्ल्याक फायर’ गरेको बताउँदै, अध्यक्ष ओलीले भने, ‘‘संविधान संशोधन गर्नका लागि परिस्थितिलाई सम्भव बनाउने गरी विषयगत मुद्दा आउनु पर्‍यो। कुन विषयमा र केका लागि संविधान संशोधन स्पष्ट भन्नु पर्‍यो नि। ८७ सिटले संविधान संशोधन हुन्छ? काँग्रेसले आफ्नो हैसियत बिर्सिएर कुरा गर्छ। तर, संविधान संशोधन आवश्यक हुनसक्छ।’

प्रकाशित: १६ फाल्गुन २०८० १४:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App