नयाँ वर्ष २०८२ यस्तो होस् कि कसैले कहिल्यै कसैको कुरा नकाटोस्। कोही कसैप्रति ईर्ष्यालु, दुष्ट र दम्भी नहोस्। मायाममताले भरिभराऊ बोली र व्यवहार होस्। कोही निष्ठुरी भएर निर्मम आनीबानी नगरोस्। सबैसँग सबै जना भाइचाराले मुस्कानमय आदानप्रदानको जीवन बाँचिरहोस्। नयाँ वर्ष यस्तो होस्।
नयाँ वर्ष २०८२ साल तिमीले यस्तै स्वभाव र संस्कार कायम राखिदेउ। हाम्रो मनलाई सधैं चोखो पारिदेऊ। जीवनमा जीवन्त बाँच्ने र मनदेखि हाँस्ने स्वभावको संस्कार बसाइदेऊ।
समयका अप्ठ्यारा घोचाघाराका तगाराले हिँडिरहेका पाइलालाई बाटो छेक्न, ठेस लाग्न अपसकुनको अपठ्यारोमा पार्न नआइदियोस्। जे जसरी हुन्छ चाहनाहरू पूरा भएरै छाडुन्। उद्देश्यहरुले उपलब्धि हासिल गरेरै रहुन्। हिँडेपछिको प्रत्येक पाइलाले गन्तव्यलाई चुमेरै फर्किऊन। कोही दोषी नरहुन्। कसैले रोष नदेखाउन।
असोज १२ गतेको जस्तो घनघोर बाढी, बितण्डाले मान्छेका मन र मुटु थर्कमान नगराओस्। बाढीको धमिलो पानीजस्तो मान्छेको मन धमिलिएर टाढाटाढा र परपर नभई जाओस्। खासमा मान्छेको मन नधमिलियोस् बरु सङलिएर रहोस्। जीवनमा घाम झलमल्ल लागिरहोस्। आपसी मित्रतामा आँच कहिल्यै नआओस्। मनमोटाब जतिसुकै भएपनि मित्र–मिजासमा हार्दिकपन सधैँ कायम रहिरहोस्। हेर्दा नदेखे जस्तो र बोल्दा पैसा पर्लाजस्तो कसैले नगरोस्।
चैत्र १५ गतेको जस्तो जुलुस, जाम, तोडफोड र हिंसा नभएको राम्रो। बरु हिउँदको पारिलो घामजस्तो सबैको प्रिय भइरहोस्। वसन्तको फूल जस्तो मात्र होइन खडेरीको फूलझैं निर्धक्क फुलिरहन सकियोस्। त्यही फूलको सौन्दर्य र सुगन्धको फैलावट जस्तै त्यो धेरै परसम्मै पुर्याउन सकोस्। नयाँ वर्ष २०८२ यस्तै भइदिओस्।
स्रष्टाको डायरीका पानाहरूमा अनेक टिपोट टिपिएका होलान्। तीमध्ये कति लेखिए, कति देख्न बाँकी अधुरै होलान्। टिपोटका बुँदाहरु अर्थहीन हुन सक्दैनन्। तिनमा जीवन भोगाइका अभिलेख हुन्छन्। सिलासाङ्ला बटुलेर उनिएका ती टिपोटहरूमा प्रत्येक पाइला–पदचापका डोबहरूको विम्ब लुकेको हुन्छ। अनुभूतिको गहिराइ र अभिव्यक्तिको उचाइले त्यसमा स्पर्श गरेको हुन्छ। ती पानाहरू सामान्य र साधारण हुन सक्दैनन् हुँदैनन्। यस्ता टिपोटहरू अझै धेरै टिपियून। टिपिएका टिपोटलाई फुर्सदमा केलाइकुलाई गरी अभिलेख निर्माणमा टेवा पुर्याउन सकियोस्। नयाँ वर्ष २०८२ ले यस्तै कर्ममा दत्तचित्त पारिराखोस्।
चैत्रको तीव्र हावाहुरी र तुँवालो प्रकोबाट प्रकृति तथा जीवनले मुक्ति पाओस्। सडकहरूमा झोलिएका अनुहारहरू, नाराजुलुसका गल्लीहरू, डरको लयमा गुञ्जिएको नगर। यी दृश्यहरूलाई नयाँ वर्षले बिर्साइदेओस्। दिन फेरिन्छन्, तर मन फेरिन सक्दैन भने नयाँ वर्षको अर्थ के रह्यो र? हामीले नयाँ वर्षबाट मागेको त्यो होइन हामी त मागिरहेका छौँ एक यस्तो बिहान, जुन शिशिरको पारिलो घामझैँ शान्त, न्यानो र सबैको प्रिय होस्। शरदको दिनजस्तो चहकिलो बनोस्। समय प्रतिकूल बनेर नजाओस्।
यात्राको सुरुवात हजारौं घुम्ती काट्ने पाइलाबाट हुन्छ। समयको बाटो सधैँ सोझो रहँदैन। घोचाघाराका काँडाहरूले पाइलालाई नछेकून्, कुनै अपसकुनले मनको यात्रा रोक्न नसकून्। हरेक मानिसको आँखाभित्र झप्किरहेका सपना हुन्छन्। कतै कलाकारको रङमय कल्पनाको क्यानभास। कतै किसानको हरियो अन्नबाली, कतै आमाको प्रार्थना जस्तो छोराछोरीको प्रगति।
यी सबै सपना कुनै अभिशप्त भविष्यका डिलमा ओइलाएर नझरून्। खडेरीले कतै सत्यानाश नगरिदेओस्। बाढीले कतै गरीका झुपडी बगाएर नलगिदेओस्। बरु तिनले साँच्चिकै बाँच्न पाऊन। आकाशमा चन्द्रमा जसरी, नदीमा तैरिरहने डुंगाझैँ, मनभित्रको उज्यालो होस्। निराशालाई किचिलिघान पारेर आशाको ज्योति सधैं प्रज्वलित भइरहोस्। नयाँ वर्ष २०८२ यस्तो होस्।
नयाँ वर्ष त्यो क्षण हो, जहाँ हिजोका गल्तीहरूले क्षमा पाइरहेका हुन्। भोलिका चाहनाहरू खुशीले उत्सव मनाउन तम्तयार भइरहेका हुन्। स्याहारसुसारले गमलामा सजाएर फुलिरहेका फूलजस्तो हुन्। उद्देश्यहरू केवल भनाइमा सीमित नहोस्, तिनीहरू उपलब्धिमा परिणत होउन्। ‘मेरो’ को मतलवीपन होइन ‘हाम्रो’ भन्ने भाव फैलियोस् दोषको औँलो उठाउने होइन, दोष हटाउने चेतनाले संसार उज्यालो बनोस्।
नयाँ वर्ष २०८२ यस्तो आओस् कि शब्दहरूको ध्वनि होइन, मौनताभित्रको संगीत बोकेर। त्यो दिन आइपुगोस् जहाँ कोही रूँदैन, कोही दोषी देखिँदैन। जहाँ आन्दोलनको आवेग होइन, आत्मा सम्हालिएको समाज भेटिन्छ। जहाँ हरेक पाइलाले बाटो मात्र होइन, गन्तव्य पनि चुम्छ। जहाँ आँशुको मूल्य अनमोल हुन्छ। जहाँ पसिनाको महत्त्व र जीवनको भोक मूल्यवान बन्छ। त्यहाँ सुख र शान्तिको गुञ्जायस हुन्छ।
नयाँ वर्ष २०८२ सालको सुरुवात एक यस्तो वसन्त होस्, जहाँ फूलहरू डराएर होइन, रमाएर फक्रून्। जहाँ हावा केवल रुखै हल्लाउने, पातै झार्ने होइन, स्वतन्त्र बाँच्ने, फल्ने र फुल्ने अवसर मिलिरहोस्। मन रमाउने होस्। जहाँ नयाँ वर्ष एउटा खाली पाना मात्र होइन, संवेदनाको गम्भीर सोंच र शैलीको अमर कविता होस्। सबैको लागि लेखिएको, सबैले पढ्न मिल्ने र सबैले महसुस गर्न सक्ने सिर्जना होस्।
नयाँ वर्ष २०८२ यस्तो होस् कि जहाँ पात्रोको पाना फेरिने दिन होइन। यो समयको एउटा कविता हो, जुन फूलहरूका रसिला भावबाट लेखिएको छ, जहाँ हावाले रुख हल्लाउने जिम्मा बोक्दैन। बरु स्वतन्त्रताको मीठो शास्त्रीय संगीत बोकेर ल्याउँछ। लोकभाकाका सुस्केराहरू बटुलेर ल्याउँछ। २०८२ को सुरुवातसँगै एक यस्तो वसन्त होस्, जसले हामीलाई ‘बाँच्नु’ मात्र होइन, ‘फक्रनु’ सिकाओस्। फक्रिएपछि आफ्नो कर्तव्य सम्झिँदै अनुशासन र इमान्दारितालाई आत्मसात् गर्न सकोस्। नयाँ वर्ष २०८२ यस्तो होस्।
हामी धेरै पटक नयाँ वर्षलाई शुभकामनाका शब्दमा सीमित गर्छौं। तर, यो वर्ष हामीले नयाँ वर्षलाई अनुभूतिको स्तरमा लैजानु छ। त्यो अनुभूति जसले सबैलाई समेट्छ, धनी, गरिब, साना, ठूला, भिन्न धर्म र जात आदि सबैलाई एउटै छानामुनि ल्याउँछ। जहाँ सूर्यको घाम झ्यालभित्र पस्ने उज्यालो मात्र नभई, मनभित्र छिर्ने ऊर्जाको प्रतीक बनोस्। उत्साहको प्रतीक होस्।
फूलहरू डराएर होइन, रमाएर फक्रून, फुलून। यो प्राकृतिक सौन्दर्यको कामना होइन, यो सामाजिक आशय पनि हो। यो वर्ष हामी आफूभित्रको डरहरू पगाल्ने, रङहरू अङ्गाल्ने, शान्त, सुमधुर मित्रवत स्वरहरू उचाल्ने बाटो खोजौं। आत्मसम्मानका फूलहरू मनको बगैँचामा फक्रिऊन्। हाम्रो मौनताले होइन, हाम्रो आवाजले कोरिएको होस् नयाँ संवत्सर।
वसन्त हरेक वर्ष आउँछ, तर हरेक वसन्तले समान अनुभूति दिँदैन। २०८२ को यो वसन्त यति संवेदनशील होस् कि प्रत्येक हावाको चलाइमा हामीले प्रेमको स्पर्श महसुस गर्न सकौँ। त्यस्तो प्रेम, जुन मानवीयता र करुणामा समर्पित होस्। जहाँ न कोही छुटिन्छ, न त कोही अँध्यारोमा हराइन्छ। सबै सधैं एकैसाथ जीवनको धढकनमा धड्किँदै पाइला गतिशील भइरहोस्। नयाँ वर्ष २०८२ यस्तो भइदिओस्।
नयाँ वर्ष एउटा नयाँ पानाको सुरुवात हो, हो तर यो पाना दुखद घटनाहरूको सूची होइन, एक यस्तो कविता हो, जुन सबैका लागि लेखिएको होस्। सबैले पढ्न मिल्ने होस्। अक्षरको बाधा, भाषाको बन्धन कदापि केही नहोस्। त्यो कविता जसलाई बालकले मुस्कानमा पढ्न सकोस्, युवाले उत्साहमा र वृद्धले सम्झनामा।
२०८२ सालको वर्षले हामीलाई बाँच्नुसँगै रम्न, फल्न, फुल्न र फक्रन सिकाओस्। हावाले कहिल्यै उदास र उराठ पतझड नल्याओस्। त्यो बगैँचामा नवजीवनको सन्देश लिएर आओस्। भर्खरै बितेर हिजोदेखि विगत बनेको वर्षमा गरिएका गल्तीबाट पाठ सिक्ने मौका देओस्। नयाँ वर्ष २०८२ यस्तो होस्।
हुन त नयाँ वर्ष हरेक पटक आउँछ, तर यसपटकको आगमन यस्तो होस् जसले आत्मा छोओस्। जसले हामीभित्रको कविता फेरि ब्युझाओस्। अनि हामी सबै यो नवपानाको कविता पढौं– मनले, मस्तिष्कले र हृदयले।
नयाँ वर्ष २०८२ तपाईं हामी सबैका लागि एक संवेदनशील सिर्जना होस्– साझा, सरल र सुन्दर। तब मात्रै नयाँ वर्ष आगमनमा दिएको शुभकामनाको अर्थ हुन्छ। अन्यथा त्यो शुभकामना अर्थहीन हुन्छ।
प्रकाशित: १ वैशाख २०८२ ०८:४९ सोमबार