२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

ओलीको आक्रोश : सम्पत्ति छानबिन आयोगलाई बयान दिन्न, सकेको गरोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग राजनीतिक प्रतिशोध र विपक्षीलाई फसाउने नियतले आएको आरोप लगाउँदै आफूले कुनै पनि हालतमा बयान नदिने घोषणा गरेका छन्।

बुधबार एमालेद्वारा आयोजित दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आयोगको वैधतामाथि नै गम्भीर प्रश्न उठाएका हुन्। आक्रोशित मुद्रामा प्रस्तुत भएका उनले यो आयोगलाई आफ्नो पार्टीले मान्यता नदिने स्पष्ट पारेका हुन्। अध्यक्ष ओलीले आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै नयाँ दलका नेताहरू र सेनालगायतका निकायमाथि अनुसन्धान नगरेर राजनीतिक प्रतिशोध मात्र साध्न खोजिएको दाबी गरे।

'यो आयोगको उद्देश्य केपी ओली र रमेश लेखकलाई फसाउने मात्र हो,' ओलीले भने, 'यस्ता आयोगलाई हामी मान्यता दिँदैनौ। अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्न र त्यसमा सम्पत्ति विवरण भरेर पनि पठाउँदिन। सरकारले जे-जे गर्न सक्छ, गरोस्।'

वर्तमान सरकारलाई 'पूर्वाग्रहको पोको' को संज्ञा दिँदै ओलीले राज्यशक्ति दुरुपयोग गरेर आफूलाई तर्साउन खोजिएको बताए। उनले सरकारलाई सकेको कारबाही गर्न खुला चुनौती समेत दिएका छन्। आयोगलाई 'देशद्रोही क्रियाकलाप गर्ने प्रायोजित भवितव्यले बनेको चिज' भन्दै उनले यसको पछाडि विपक्षी दलहरूलाई राजनीतिक रूपमा समाप्त पार्ने खेल लुकेको आरोप लगाए।

आफ्नो विगतको सम्पत्ति र राजनीतिक जीवनमाथि प्रहार भएको भन्दै ओलीले आक्रोश पोखे। उनले आफ्नो सम्पत्तिमा आगो लगाएर खरानी बनाइएको भन्दै व्यङ्ग्यात्मक शैलीमा भने, 'मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले? सम्पत्ति विवरण फेरि चाहियो? आगो लगाएर पुगेन सम्पत्ति विवरण? खरानी छ, उठाएर लैजा।'

प्रकाशित: २० जेष्ठ २०८३ १३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App