रौतहटमा वन संरक्षणका लागि गस्तीमा खटिएको टोलीमाथि वन तस्कर समूहले आक्रमण गर्दा वन अधिकृतसहित पाँच जना घाइते भएका छन्।
सोमबार राति चन्द्रनिगाहपुर–मैरा सडकखण्ड अन्तर्गत पर्ने पुल नजिकै काठ चोरी भइरहेको गोप्य सूचनाका आधारमा डिभिजन वन कार्यालय र रङ्गपुर साझेदारी वन उपभोक्ता समितिको संयुक्त टोली गस्तीमा निस्किएको थियो।
गस्तीका क्रममा जङ्गल क्षेत्रमा पुगेको टोलीलाई तस्कर समूहले चारै तिरबाट घेरा हालेर निर्घात कुटपिट गरेको हो।
आक्रमणमा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार चौधरी, वन रक्षक सुरेन्द्र चौधरी, रङ्गपुर साझेदारी वन उपभोक्ता समितिका सदस्य अर्जुन चौधरी, विमल थापा र गाडीका चालक अरविन्द पटेल घाइते भएका छन्।
रङ्गपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष अशोक यादवले दिएको जानकारी अनुसार वन क्षेत्रमा अवैध रूपमा काठ चोरी भइरहेको गोप्य सूचना आए लगतै गस्ती टोली त्यसतर्फ पुग्ने बित्तिकै काठ तस्करीमा संलग्न समूहले योजनाबद्ध रूपमा गस्ती टोलीमाथि आक्रमण गरेको हो।
तस्करको आक्रमणमा परि गम्भीर घाइते भएकाहरूको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।
वन कर्मचारी तथा स्थानीय उपभोक्ता समूहले घटनाको घोर भर्त्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
वन संरक्षणको जिम्मेवारीमा खटिएका कर्मचारीमाथि नै आक्रमण हुनुले रौतहटका वन क्षेत्रमा तस्करी सञ्जाल कति संगठित र प्रभावशाली छ भन्ने गम्भीर प्रश्न उब्जिएको छ।
प्रकाशित: २० जेष्ठ २०८३ १३:४१ बुधबार





