१२ वैशाख २०८२ शुक्रबार
image/svg+xml ४:३ पूर्वाह्न
समाज

बन्दीपुरमा चितुवा आतंक : १० वर्षीया बालिकाको मृत्युपछि सतर्क रहन अपिल

फाइल तस्बिर

तनहुँको बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा गत शुक्रबार राति चितुवाको आक्रमणमा दश वर्षीया बालिका अनुजा विकको मृत्यु भएपछि चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालयले आइतबार जङ्गलमा बाख्रासहितको खोर राखेको छ।

चितुवाको आक्रमणले स्थानीयवासी त्रसित भएकाले नियन्त्रण आवश्यक भएको वडाध्यक्ष तिलकबहादुर कुँवरले बताए। उनले भने, ‘चितुवाको आक्रमणपश्चात् स्थानीयवासी त्रसित छन्। कामीडाँडा वरपरका गाउँबस्तीमा चितुवा पटक–पटक देखिएको छ। साँझ र रातको समयमा सावधानी अपनाउन अपिल गरेका छौँ।’

फूपुदिदीको घर जाँदै गरेकी अनुजा चितुवाको आक्रमणमा परेकी थिइन्। उनको शव जङ्गलमा फेला परेको थियो। डिभिजन वन कार्यालयले घटनास्थल वरपर सबैलाई सतर्क रहन र सुरक्षित रहन आग्रह गरेको छ। कार्यालयले साँझ र रातमा घर–गोठ उज्यालो राख्न, एक्लै नहिँड्न, झाडी सफा गर्न र बालबालिका तथा वृद्धको विशेष ख्याल गर्न अनुरोध गरेको छ।

तनहुँमा पछिल्ला केही वर्षयता चितुवाको आक्रमणबाट बालबालिकाको ज्यान गएको छ। भानु, बन्दीपुर र आँबुखैरेनीमा चितुवाको आतङ्क छ। पछिल्लो छ वर्षमा चितुवाको आक्रमणबाट १४ बालबालिकाले ज्यान गुमाएका छन्। भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा यस्ता घटना भएका छन्।

मृग, वन कुखुरालगायत वन्यजन्तुको मानव शिकारले जङ्गलमा चितुवालाई शिकारको अभाव भएको डिभिजन वन कार्यालयले जनाएको छ। जङ्गल फँडानी, बस्ती विस्तार र वन्यजन्तुको शिकारले मानव–वन्यजन्तु द्वन्द्व बढेको सहायक वन अधिकृत काशीराज पण्डितले बताए। 

उनले भने, ‘तनहुँमा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समय लगायतका विषयमा उपभोक्तालाई बेला–बेलामा जानकारी गराएका छौँ। चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ।’ रासस

प्रकाशित: १ वैशाख २०८२ ०९:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App