नेपालको पहिलो पब्लिक मिडिया कम्पनी नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १६ औं वर्ष पूरा गरी १७औं वर्षमा प्रवेश गरेको छ।
बिहीबार राजधानीस्थित केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा मिडियाले हर्षोल्लासका साथ वार्षिकोत्सव मनाएको हो।
कार्यक्रममा बोल्दै नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवालीले नागरिक अभिव्यक्तिको सच्चा पहरेदारका रुपमा नेपाल रिपब्लिक मिडियाले आफ्ना सुनौला वर्षहरू पूरा गरेको सुनाए।
लोकतन्त्रका निम्ति जानकार नागरिकको उपस्थिति अपरिहार्य रहने बताउँदै उनले यसै उद्देश्यलाई आत्मसात् गर्दै सत्य तथ्य समाचार प्रकाशन गरि संस्थाले आफ्नो तर्फबाट यथाशक्य योगदान दिएको स्मरण गरे।
‘हामी छापा माध्यमलाई मात्र होइन, आफ्ना डिजिटल सामग्रीलाई समेत सङ्ख्यात्मक र गुणात्मक दुवै रूपमा बढवा दिन लागिपरेका छौं। यस कारण हाम्रा प्रिय पाठक वर्गले अब श्रव्य र दृश्यमा समेत हाम्रा सामग्री हेर्न र अन्तरक्रिया गर्न सक्नुहुनेछ। यसले घटनाको विश्लेषण र यथार्थ बुझाइका निम्ति सहयोग गर्ने विश्वास दिलाउँछौं।’
उनले मुलुकको एक मात्र पब्लिक मिडिया कम्पनी हुनुको नाता पनि जिम्मेवारी बृहत्तर महसुस भएको र सो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएको सुनाए। साथै, पाठक, विज्ञापनदाता, वितरक, सेयर होल्डर, पत्रकार र सहकर्मीप्रति कृतज्ञता व्यक्त गरे।
अध्यक्ष ज्ञवालीले मिडिया उद्योगमा आउने चुनौतीहरूबारे पनि चर्चा गरे। ‘कहिलेकाहीं खराब समय आउँछ, तर त्यो लामो समय टिक्दैन। समय परिवर्तनशील छ, र हामी त्यसलाई अङ्गीकार गर्दै अगाडि बढ्छौँ,’ उनले भने।
कार्यक्रममा प्रबन्ध निर्देशक समृद्धि ज्ञवालीले समय र प्रविधिको मागअनुसार मिडियालाई परिमार्जन गर्ने योजना रहेको बताइन्।
‘हामी नयाँ युगअनुसार प्रविधिमा आधारित मिडिया सञ्चालन गर्न प्रतिबद्ध छौं। निकट भविष्यमा नवीन प्रविधिको प्रयोग गर्दै परिवर्तनलाई आत्मसात् गर्नेछौँ,’ उनले भनिन्।
मिडियाका निर्देशक शोभा ज्ञवालीले लोकतन्त्र दिवसको शुभकामना दिँदै मिडियाको स्थापना लोकतन्त्र दिवसकै दिन भएको स्मरण गरिन्।
‘हाम्रो संस्था लोकतन्त्रको आधारमा स्थापित भएको हो र सधैँ जनताको पक्षमा उभिएर लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनेछ,’ उनले भनिन्।
वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष आयोजना हुने ‘नागरिक नायक’ सम्मान कार्यक्रम वैशाख १३ गते शनिबार हुने मिडियाले जनाएको छ। यस कार्यक्रमले सामाजिक योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्ने गर्छ।
नेपाल रिपब्लिक मिडियाले सत्यतथ्य समाचार र गहन विश्लेषणमार्फत सार्वजनिक र लोकतान्त्रिक जबाफदेहिता कायम राख्ने आफ्नो मिसनलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
मिडियाले नवप्रवर्तनलाई अङ्गीकार गर्दै आफ्ना पाठक र श्रोताको बदलिँदो आवश्यकता पूरा गर्ने लक्ष्य राखेको छ।
नेपाल रिपब्लिक मिडियाले नागरिक (राष्ट्रिय दैनिक), रिपब्लिका (अङ्ग्रेजी दैनिक), अनलाइन पोर्टल नागरिकन्यूज डटकम र माइरिपब्लिका डटकम तथा रेडियो नागरिक सञ्चालन गर्दै आएको छ।
प्रकाशित: ११ वैशाख २०८२ २१:४२ बिहीबार





