परराष्ट्रमन्त्री आरजु राणा देउवाले पर्यटन नेपालको विकास र समृद्धिको मुख्य आधार भएको बताएकी छन्।
परराष्ट्र मन्त्रालयले इलामको श्रीअन्तु र कन्याममा विदेशी नियोग र अन्तर्राष्ट्रिय सङ्गठनका प्रमुख तथा प्रतिनिधिका लागि आयोजित ‘रिट्रिट’ कार्यक्रममा उनले यस्तो धारणा राखिन्। उनले भनिन्, ‘नेपालको अद्वितीय संस्कृति, सम्पदा र प्राकृतिक सौन्दर्य विश्वकै आकर्षण हुन्। यी अमूल्य सम्पत्ति मुलुकको विकास र समृद्धिको आधार हुन्।’
राणाले नेपालको सांस्कृतिक र प्राकृतिक विविधता, हरियाली, जैविक विविधता, सम्पदा र हिमशृङ्खलाको प्रशंसा गरिन्। उनको सचिवालयका अनुसार, इलामलाई चियाबारी, कुहिरोले ढाकिएका डाँडा र आत्मीय बासिन्दाको भूमिका रूपमा उनले चित्रण गरिन्। उनले इलामको चिया, शुद्ध हावा, परम्परा र जीवनशैली अनुभव गर्न सबैलाई आग्रह गरिन्।
उनले सहभागी कूटनीतिज्ञलाई नेपालको पर्यटनका ‘राजदूत’ बन्न आग्रह गर्दै भनिन्, ‘यहाँबाट फर्किंदा आफ्ना देश र जनतामाझ इलाम र नेपालका राम्रा कथा लिएर जाऊन् र प्रचारमा सहयोग गरून्।’ उनले पर्यटन र पूर्वाधार विकासमा लगानीका लागि विश्व समुदायलाई पनि आह्वान गरिन्।
परराष्ट्र सचिव अमृतबहादुर राईले नेपालको सांस्कृतिक र प्राकृतिक सौन्दर्य सुनेरभन्दा प्रत्यक्ष अनुभव गर्न आग्रह गरे। कार्यक्रममा बेलायत, जापान, अष्ट्रेलियालगायत १५ भन्दा बढी देशका राजदूत र अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधि सहभागी थिए।
उनीहरूले कन्यामको सौन्दर्य र चियाबारीको आकर्षण तस्बिरमा कैद गरे। आज बिहान उनीहरूले अन्तुबाट सूर्योदय अवलोकन गरे। कार्यक्रमको सहआयोजकमा नेपाल पर्यटन बोर्ड र सूर्योदय नगरपालिका छन्।
इलामको प्राकृतिक, सांस्कृतिक सौन्दर्य र स्थानीय जीवनशैली चिनाउन यो कार्यक्रम आयोजना गरिएको हो। यसले नेपालको पर्यटन प्रवर्द्धनमा इलामको महत्त्व उजागर गर्ने अपेक्षा छ। रासस
प्रकाशित: १ वैशाख २०८२ ०८:५९ सोमबार