विराटनगर स्थित कोसी अस्पतालमा आकस्मिक बाहेकका उपचार सेवा शुक्रबार ठप्प भएको छ । नेपाल चिकित्सक संघ, कोशी शाखाले देशभरका आवासीय चिकित्सकहरूले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै कोशी अस्पतालमा आकस्मिकबाहेकको उपचार सेवा ठप्प पारेको हो ।
कोशी अस्पतालको बहिरंग सेवा सञ्चालन कक्षमा ताला लगाएर उपचार ठप्प पारिएको थियो । कोशी अस्पतालको बहिरंग सेवा ठप्प हुँदा गाउँगाउँबाट उपचारका लागि आएका गरीब, विपन्न परिवारका बिरामी उपचार नै नगराई फर्किन बाध्य भए ।
संघले अघि सारेका प्रमुख मागमा आवासीय चिकित्सकलाई आठौं तहका चिकित्सक सरहको सेवा सुविधा अनुरूप निर्वाह भत्ता प्रदान गर्ने निर्णय निजी मेडिकल कलेजहरूमा समेत लागू गर्नुपर्ने, चिकित्सकहरूको कार्यसमय (ड्युटी आवर) सम्बन्धी स्पष्ट र व्यावहारिक मापदण्ड निर्माण गर्नुपर्ने र देशभरका चिकित्सकहरूको भावना सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने माग रहेको छ ।
नेपाल चिकित्सक संघ, कोशी शाखाले बिहीबार सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै तत्काल माग पूरा नगरे शुक्रबारबाट उपचार सेवा ठप्प पार्ने चेतावनी दिएको थियो । कोशी अस्पतालमा दैनिक एक हजार बढी बिरामीले बहिरंग विभागबाट सेवा लिने गरेका छन् ।
प्रकाशित: १२ वैशाख २०८२ १८:४१ शुक्रबार





