११ वैशाख २०८२ बिहीबार
image/svg+xml १८:२७ अपराह्न
अर्थ

बिजुली बेचेर आम्दानी गर्दै ग्रामीण उपभोक्ता

एक दशक अघिसम्म टुकीको सहारामा रहेको पाल्पाको माथागढी गाउँ अहिले बिजुलीले झिलीमिली मात्र भएको छैन, विद्युत् आम्दानीको स्रोत पनि बनेको छ। गाउँलेले टुकीको विकल्प खोज्न लघु जलविद्युत् आयोजना बनाए। त्यसैबाट उत्पादित बिजुलीले गाउँ उज्यालो भएको छ। खपत हुन नसकेको बिजुली बेचेर उनीहरूले आम्दानी पनि गर्न थालेका हुन्।

एक दशक अघिसम्म माथागढीमा मात्रै हैन, घाडाकुना, हात्तीलुङ, दमारलगायत गाउँमा नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा पुगेको थिएन। बिजुलीको झिलमिली देख्न गाउँलेलाई कि त बुटवल झर्नुपथ्र्यो कि त पाल्पाको झुम्सा या दोभान पुग्नुपर्थ्याे। सहरबजारबाट नजिकै भए पनि पहाडी बस्ती भएका कारण अन्धकारमा बस्न बाध्य थिए उनीहरू। स्थानीय विद्युत् माग गर्दै धेरैपटक प्राधिकरणमा धाए। सुनुवाइ नभएपछि गाउँलेहरूले मिलेर विकल्प खोज्न थाले। माथागढी, हात्तीलुंग, दमार र घाडाकुनाका बासिन्दा मिलेर पटकपटक छलफल गरे।

पहिला आफूहरूको जस्तै समस्या भोगेका केही गाउँ लघु जलविद्युत् आयोजनामार्फत झिलिमिली भएको खबर सुनेका उनीहरूले आफ्नो गाउँमा पनि लघु जलविद्युत् योजना सञ्चालनको सम्भावना खोज्न थाले। अन्ततः गाउँले मिलेर २०७६ सालमा झुम्सा तेस्रो लघु जलविद्युत् आयोजना निर्माण गरे।

उनीहरूले मिलेर माथागढी गाउँपालिका–५ हात्तीलुंगमा सञ्चालन गरेको लघु जलविद्युत् आयोजनालाई २०७९ सालमा जल उपभोक्ता सहकारीमा परिवर्तन गरे। यो लघु जलविद्युत् आयोजनामार्फत अहिले माथागढीका पाँच सय २० घरधुरीमा उज्यालो पुगेको छ।

यति मात्र होइन, उनीहरूले बढी भएको बिजुली बेचेर आम्दानी पनि गर्न थालेका छन्। लघु जलविद्युत् आयोजनाका सचिव थम्मन रेस्मीमगरले गाउँमा खपत भएर बाँकी रहेको बिजुली प्राधिकरणलाई बेचेर मासिक आम्दानी गर्न थालिएको बताए। बचेको बिजुली प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

नेपाल विद्युत् प्राधिकरणबाट प्रतियुनिट ६ रुपैयाँ पाउनेगरी झुम्सा तेस्रो जलविद्युत् आयोजनसँग सम्झौता भएको जानकारी उनले दिए। सुरुको महिना बिजुली बेचेबापत ६० हजार रूपैयाँ नेपाल विद्युत् प्राधिकरणले पठाएको जानकारी उनले दिए। गत फागुनदेखि मासिक दुई लाख रूपैयाँ बराबरको विद्युत् प्राधिकरणलाई बेच्न थालेको उनले बताए।

उक्त आयोजनाको खल्लाघाटमा रहेको पावर हाउसबाट ६८ किलोवाट विद्युत् उत्पादन भएको छ। झुम्सा लघु जलविद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर बाह्रघरेले ३०/४० किलोवाट मात्रै गाँमा खपत हुने बाँकी राष्ट्रिय प्रसारण लाइन जाने बताए। स्थानीयले साँझमा ३/४ घण्टा बत्ती बाल्न मात्र बिजुली प्रयोग गर्छन्। बचेको सबै बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिँदा स्थानीय उपभोक्ता समितिको आम्दानी स्रोत बलियो बनेको छ।

दिगो ऊर्जा चुनौती कोषले लघु जलविद्युत् आयोजना मार्फत उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडेर गाउँलेलाई आम्दानीको स्रोत सुनिश्चित गर्न सहयोग गर्दै आएको छ। तीन वर्षअगाडि प्रदेश सरकारसँगको समन्वयमा अध्ययन गर्दा यहाँ खेर गएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडेर आम्दानी गर्न सकिने देखिएपछि सोहीअनुसार पहल गरिएको हो।

 बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न लागेको खर्चमध्ये दिगो ऊर्जा चुनौती कोषले ५० लाख रूपयाँ दिएको अध्यक्ष बाह्रघरेले बताए। आयोजनाका लागि स्थानीय तहले ३० लाख रूपैयाँ सहयोग गरेको र अन्य खर्च उपभोक्ता सहकारी समिति मार्फत गरिएको उनले बताए। आफ्नै घरमा बत्ती बाल्न सञ्चालन गरेको आयोजनाबाट आम्दानी हुन थालेपछि गाउँलेहरू उत्साहित भएको सो लघु जलविद्युत् आयोजनका व्यवस्थापक कालुराम सारूले बताए।

एक अध्ययनअनुसार १७ वटा लघु जलविद्युत् आयोजनाको उत्पादनलाई राष्ट्रिय प्रसारण लाइन जोड्न मिल्ने देखिएको छ। त्यसमध्ये यो पहिलो भएको नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम लुम्बिनी प्रदेश संयोजक इन्जिनियर रोविन शर्माले बताए।

झुम्सा लघु जलविद्युत् आयोजनाले उत्पादन गरेको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडेर आम्दानी गर्न थालेको उनले बताए। गुल्मीको मुसिकोट नगरपालिका–७ स्थित दराम खोला लघु जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि अन्तिम तयारी भइरहेको र यसमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमले सहयोग गर्ने जानकारी पनि शर्माले दिए। अन्य लघु जलविद्युत् आयोजना पनी उत्पादित बिजुली प्राधिकरणलाई बेचेर आम्दानी गर्ने तयारीमा रहेको जानकारी उनले दिए।

लुम्बिनी प्रदेश ऊर्जा कार्यालयका प्रमुख इन्जिनियर जेबी थापाले लुम्बिनी प्रदेशमा १० किलोवाटभन्दा माथिका १५ वटा लघु जलविद्युत् आयोजनाबाट उत्पाददित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने नीति प्रदेशले लिएको बताए।

प्रकाशित: १ वैशाख २०८२ ०६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App