९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

सरकार ढल्ने हल्लाबिच प्रधानमन्त्रीले भने: सरकार बचाउ भनेर कराएको छैनौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनाऊ र सरकार बचाउ भनेर नेकपा एमाले नकराएको बताएका छन्। सरकार ढल्ने हल्लाबिच प्रधानमन्त्री ओलीले दिएको मन्तव्यमा यस्तो सुनिएका हुन्। 

‘सरकारको बारेमा धेरै होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ,’ बिहीबार एमालेले आयोजना गरेको युवा उत्सव(युथ सेलेब्रेसन)लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘त्यसै कारण एमालेले सरकार बनाऊ र सरकार बचाउ भनेर भनेर कराएको छैन।’ 

एमालेले जहिले पनि चुनाव हेर्ने पनि उनले बताए। उनले भने, ‘हामीले ७० को चुनाव भन्यौँ, ०७४ को चुनाव भन्यौँ, ०७९ को चुनाव भन्यौँ र ८४ को चुनाव भनिरहेका छौँ । म साथीहरूलाई आग्रह गर्न चाहन्छु–ढुक्कले मिसन ८४ मा लाग्नुस्।’  

सरकार चलाउने, सरकारको नेतृत्व गर्ने, सरकारमा सहभागी हुने जे गर्नुपर्छ संसद्को बनोटअनुसार गर्ने प्रधानमन्त्री ओलीले टिप्पणी गरे । ‘संसद्को बनोट अनुसार ठिक ढङ्गले देशलाई अघि बढाउन सकेसम्मका प्रयास नेकपा एमालेले गर्नेछ। यस कुरामा चिन्ता नगर्नुस् । मिसन ८४ मा ध्यान दिनुस्,’ उनले भने। 

अहिले हरेक दिन सरकार जान्छ जान्छ भन्ने चर्चा चलेको विषयमा बोल्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक सरकार भएकाले आफू धेरै समयका लागि प्रधानमन्त्री नबनेको पनि तर्क गरे । 

‘लोकतन्त्रमा सरकार बन्दा लामो समयका लागि कति समयका लागि बन्छ? पाँच वर्षका लागि बन्छ,’ उनले भने, ‘अनि यो ताना शाही त होइन, अधिनायकवादी व्यवस्था त होइन कि ५० वर्षका लागि कसैको वंशको शासन हुन्छ । सय वर्षका लागि हुन्छ, २ सय ५० वर्षका लागि हुन्छ, १ सय ४ वर्षका लागि हुन्छ भनेजस्तो ।’   

यति बेला नेकपा एमाले र कांग्रेसको सरकार एउटा सङ्कल्पसाथ बनेको सरकार रहेको दाबी गर्दै यसले स्थिरता र स्थायित्वका लागि योगदान दिएको दाबी गरे। ‘हामीले भनेको स्थिरता लोकतान्त्रिक स्थिरता हो। गतिशीलताको स्थिरता हो। जनताको अभिमतसहितको स्थिरता हो’, प्रधानमन्त्री ओलीले भने। 

प्रकाशित: ११ वैशाख २०८२ १८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App