कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ वर्ष २०८२ देखि सुरु भएको ‘पर्यटन वर्ष’ प्रदेशको समृद्धिको आधारशिला भएको बताएका छन्। नयाँ वर्ष २०८२ को शुभकामना दिँदै उनले यो पर्यटन वर्षले प्रदेशको समृद्धिलाई बलियो बनाउने बताएका हुन्।
कार्कीले विगतका कामको समीक्षा गर्दै आगामी दिनलाई अझ फलदायी र सुखमय बनाउने बताए। सङ्घीय संरचनालाई बलियो बनाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य पूरा गर्न सङ्घीयतालाई थप सुदृढ गर्नुपर्ने उनको भनाइ छ।
प्रदेशवासी तथा स्वदेश र विदेशमा रहेका सबैको सुख, शान्ति र समृद्धिको कामना गर्दै उनले नयाँ वर्षमा लगानी सम्मेलनमार्फत प्रदेशको विकास र समृद्धिमा नयाँ इँटा थप्ने प्रयास भइरहेको उनको भनाइ थियो।
सीमित स्रोतसाधनले जनताका आकाङ्क्षा पूर्णरूपमा पूरा गर्न नसकिए पनि सङ्घीयताको सात वर्षमा कोशी प्रदेश सरकारले धेरै काम गरेको उनले उल्लेख गरे। यी कामलाई तथ्यसहित प्रस्तुत गरी अगाडि बढ्नुपर्ने उनको भनाइ छ।
उनले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यबाट मात्रै दिगो विकास र समृद्धि हासिल गर्न सकिने कुरामा पनि जोड दिएका छन्।
प्रकाशित: १ वैशाख २०८२ ०८:०७ सोमबार