चितवनको माडी नगरपालिका १ स्थित पाण्डवनगरकी बुधनी बोटेको घर जंगली हात्तीले दुई पटक भत्काइदियो। पछिल्ला दुई वर्षको पुस महिनामा धुर्बे हात्तीले उनको घरको नामनिसाना नराख्ने गरी भत्काइदिएको थियो। यद्यपि नगरपालिकाले घरको बिमा गरिदिएकाले बोधनीलाई घर बनाउन भने समस्या भएन।
जंगलछेउमै ऐलानी जग्गामा घर बनाएर एक्लै बसेकी बोधनी बिमा रकमले घर बनाउन सजिलो भएको बताउँछिन्। ‘गत वर्ष पुस महिनामा आएर हात्तीले घरै भत्काइदियो। मसमेत घाइते भएकी थिएँ’, उनले भनिन्, ‘नगरपालिकाले ३० हजार रूपैयाँ दिएपछि घर बनाउन सहज भयो।’ यसपटक पनि पुस ८ गते धुर्बे हात्तीले आएर उनको घर भत्काइदिएको छ।
अहिले पनि पैसा आएपछि बोधनी घर बनाउने तयारीमा छिन्। ‘घर छाडेर अन्यत्र जाने कुरा भएन, घर त यहीं बनाउनै पर्यो’, भत्किएको घर देखाउँदै बोधनीले भनिन्, ‘जंगलबाट खर र काँस ल्याएर भए पनि घर बनाउनुपर्छ।’
पाण्डवनगरलाई तीन तर्फबाट चितवन राष्ट्रिय निकुञ्जले घेरेको छ। निकुञ्जले घेरेको स्थानमा जंगली जनावरी आइरहन्छन्। पाण्डवनगरकी ४२ वर्षीया सरिता बोटेले पनि घर बिमा गरेकी छन्। एक सय ५० रूपैयाँमा बिमा गरेकी बोटे वन्यजन्तुले घर भत्काए पनि केही राहत मिल्ने आशामा छिन्।
चितवनको माडी नगरपालिकाले बोधनीको जस्तै पाण्डवनगरका वन्यजन्तुबाट प्रभावित ६५ घरको बिमा गरिदिएको छ। विशेषगरी निकुञ्जबाट निस्कने हात्तीले मध्यवर्ती क्षेत्रका वासिन्दाको घर भत्काउने क्रम नरोकिएपछि नगरपालिकाले घर बिमा गर्ने कार्यक्रमलाई अघि बढाएको नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीले जानकारी दिए। उनका अनुसार हालसम्म माडी नगरपालिकामा एक हजार पाँच सय घरको बिमा गरिएको छ।
नगरपालिकाको अनुदानमा प्रभावित घरको बिमा गरिरहेको उनले जानकारी दिए। जंगली जनावरको आक्रमणले घर भत्काएमा बिमा कम्पनीले आवश्यकताअनुसार क्षतिपूर्ति व्यवस्था गर्ने गरेको उनको भनाइ छ।
नगरपालिकाले एक लाख रूपैयाँसम्मको मूल्यांकन गरेर बिमा गरिदिने गरेको छ। त्यसबापत नगरपालिकाले प्रत्येक वर्ष प्रति घर सय रूपैयाँ बिमा कम्पनीलाई रकम बुझाउने गरेको छ। लाभग्राहीले प्रत्येक वर्ष बिमा नवीकरण गर्नुपर्ने हुन्छ।
माडी वन्यजन्तुको अति प्रभावित ठाउँसमेत हो। यहाँ हात्ती र गैंडाहरू बस्ती पसेर घरै भत्काइदिने गर्दछन्। बिमा रकम उपलब्ध भएपछि उपभोक्तालाई राहत मिलेको पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समितिका कोषाध्यक्ष राजकुमार पाठक बताउँछन्। ‘वन्यजन्तुले घर भत्काएपछि उपभोक्तालाई घर बनाउन मुस्किल हुन्थ्यो। यो बिमाले केही न केही राहत महसुस भएको छ’, उनले भने।
हात्तीले ठूला र पक्की घर नभत्काउने भएकाले खरको छानो, बाँसको भित्तो र खरले नै बारेर बनाइएका घरहरू बिमा समावेश गरिएको छ। माडी नगरपालिकाको बाँदरझुला, प्याउली खोला, सिमरा, इमिलिया, पाँच पाण्डव, वनकट्टालगायत रिउका तटीय क्षेत्रमा मानव र वन्यजन्तुबीच द्वन्द्व हुँदै आएको छ। यस्ता राहत कोषले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न सहज हुने अनुमान नगरपालिकाको छ।
प्रकाशित: १ वैशाख २०८२ ०९:१२ सोमबार