प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई सिद्ध्याउने प्रयास असफल भएको दाबी गर्दै पार्टीप्रति जनताको विश्वास कायम रहेको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीको ७६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले देशकै सर्वाधिक लोकप्रिय पार्टी रहेको जिकिर गरे।
ओलीले एमालेमाथि पटक–पटक आक्रमण, चरित्रहत्या र पार्टी फुटाउने प्रयास भए पनि जनताको साथले पार्टी अडिग रहेको उल्लेख गरे।
“हामीमाथि यति धेरै आक्रमण र बदनाम गर्ने प्रयास हुँदा पनि हामी टिकेका छौँ। जनतामाझ गएर उनीहरूको विश्वास जितेका छौँ। नेकपा एमाले सिद्धिँदैन, किनभने हाम्रो उद्देश्य महान् छ,” उनले भने।
उनले दुई–दुई पटक पार्टी फुटाउने प्रयास भएको स्मरण गर्दै यस्ता चुनौतीलाई पार गर्दै एमालेले आफूलाई जोगाएको बताए।
“यो दुस्साहसलाई हामीले परास्त गरेका छौँ। मिशन ८४ मार्फत नेकपा एमालेलाई देशको निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने हाम्रो साझा संकल्प हो,” उनले थपे।
ओलीले एमालेको आन्दोलन र सङ्घर्षको इतिहासमा गर्व गर्नुपर्ने बताउँदै जनताको विश्वास र पार्टीको सङ्गठनात्मक शक्तिले एमालेलाई अघि बढाउने दृढता व्यक्त गरे।
प्रकाशित: ९ वैशाख २०८२ १५:४६ मंगलबार





