२७ माघ २०८२ मंगलबार
image/svg+xml
समाज

टिकटकमा धार्मिक टिप्पणीपछि खलबलियो मधेसको सद्भाव

कर्फ्यु आदेश जारी भएपछि सोमबार राति सुनसान वीरगन्ज घण्टाघर क्षेत्र। तस्बिर : नागरिक

टिकटकमा एक अर्काका धर्म संस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेस प्रदेशमा तनाव बढेको छ। धनुषाबाट सुरु भएको टिप्पणीको प्रभावले सोमबार पर्साको वीरगन्ज दिनभर तनावग्रस्त बनेपछि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ। धनुषा र पर्सासहित मधेस प्रदेशका आठ वटै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ। यी जिल्लाका स्थानीय प्रशासनले ‘संवेदनशील परिस्थिति’का कारण सतर्कता बढाइएको जनाएको छ।

केही दिनअघि जनकपुरधाममा हैदर अन्सारी र अमानत अन्सारी नामका युवाहरूले टिकटकमा हिन्दुस्तानको नाम लिँदै एक भिडियो पोस्ट गरेका थिए। धार्मिक सहिष्णुतामा खलल पुग्ने खालको भिडियो बनाएको भन्दै ती दुई युवालाई स्थानीय अगुवाहरूले प्रहरीको जिम्मा लगाएका थिए। इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबिच छलफल भइरहेका बेला ती युवाहरूलाई पक्राउ गरिएको भन्दै केही युवा आक्रोशमा आए। त्यही बेला मस्जिदमा आक्रमणसमेत भएको थियो। आक्रमणमा संलग्न व्यक्तिलाई पनि पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले बताए।

सोही घटनालाई लिएर वीरगन्जमा सोमबार बिहानैदेखि प्रदर्शन सुरु भयो। प्रदर्शनलाई मध्यनजर राखेर वीरगन्जमा व्यापक रूपमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ। नेपाली सेना पनि सडकमा देखिएका छन्। निषेधाज्ञाबिच पनि दुई समूहको प्रदर्शन नरोकिएपछि वीरगन्जमा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ। यसअघि दिउँसो निषेधाज्ञाबिच दुवै पक्षले ठाउँ ठाउँमा प्रदर्शन नरोकेपछि स्थिति नियन्त्रणमा राख्न कर्फ्यु लगाइएको स्थानीय प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकराचार्य गेट क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको बताए। यस अवधिमा आवतजावत, भेला, जुलुस, सभा, बैठकलगायत गर्न नपाइने र अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन स्थानीय प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।

कर्फ्युअघि लगाइएको निषेधाज्ञा अवज्ञा गर्दै वीरगन्जका विभिन्न ठाउँबाट निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शन गर्ने दुई दर्जनभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएका २६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच झडपसमेत भएको थियो।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजु कार्कीका अनुसार निषेधाज्ञा उल्लंघन गरी प्रदर्शन गर्ने २६ जनालाई नियन्त्रणमा लिइएको छ। ‘प्रहरीमाथि ढुंगामुढा प्रहार गर्ने र उग्र गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिइएको छ,’ डिएसपी कार्कीले भने। उनले नियन्त्रणमा लिइएका प्रदर्शनकारीहरू सबै समुदायका रहेको पनि स्पष्ट पारेका छन्।

जनकपुरबाट सुरु वीरगन्जमा उग्र
प्रदर्शनको सिलसिला आइतबार जनकपुरधामको एक घटनापछि सुरु भएको थियो। जनकपुरधाममा मस्जिदमाथि आक्रमणको विरोधमा आइतबार बिहान मुस्लिम समुदायले प्रदर्शन गरेको थियो। त्यसपछि हिन्दु देवीदेवतामाथि अभद्र टिप्पणी गरिएको भन्दै आक्रोशित हिन्दुवादी संगठन र समर्थकहरूले सोमबार वीरगन्जमा प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा अवस्था थप तनावग्रस्त बनेपछि प्रहरीले परिस्थितिलाई नियन्त्रणमा लिन सुरु गरेको थियो।

‘मधेस–अटुट एकता र सद्भावको भूमि’
मधेस प्रदेशका प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पछिल्ला केही दिनमा केही स्थानमा देखा परेका अस्वाभाविक गतिविधि र असमझदारीले हाम्रो सदियौं पुरानो सामाजिक एकता र भाइचारामा आँच पुर्‍याउन सक्नेप्रति आफू चिन्तित रहेको बताएका छन्। समाजमा विभाजन गर्ने तत्त्वहरूबाट सचेत रहँदै, कुनै पनि प्रकारको उत्तेजना र आवेगमा नआई धैर्य धारण गर्न उनले अपिल गरेका छन्। विचार र आस्था फरक भए पनि हाम्रो मानवीय पहिचान र सामाजिक एकता एउटै भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट कसैको भावनामा चोट पुग्ने कार्य नगर्न र समाजमा शान्ति एवं अमन चयन कायम राख्न एकजुट हुन अपिल गर्छु।’

संवाद र सहकार्य नै हरेक समस्याको समाधान भएको उल्लेख गर्दै उनले जारी गरेको सन्देशमा उल्लेख छ, ‘हामी सबै मिलेर एकपटक प्रमाणित गरौँ कि मधेस केवल विविधताको भूमि मात्र होइन, यो अटुट एकता र प्रेमको पनि भूमि हो। शान्ति र सद्भाव नै हाम्रो पहिचान हो।’ धार्मिक सद्भाव भड्किन थालेपछि सोमबार मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस सबै समुदायको साझा घर भएको बताउँदै सद्भाव कायम राख्न अपिल गरेका छन्। मुख्यमन्त्री यादवले एक सन्देश जारी गर्दै विविधता नै मधेसको सामर्थ्य र शक्ति भएको बताएका छन्।

उनले मधेसको वास्तविक शक्ति एकतामा रहेको र विभाजनले समाज, राज्य तथा नागरिक सबैलाई कमजोर बनाउने धारणा व्यक्त गरेका छन्। हाल केही स्थानमा देखिएका तनाव, अफवाह र उत्तेजनाप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै मुख्यमन्त्री यादवले हिंसाले कहिल्यै समाधान नदिने बताएका छन्। धर्मका नाममा फैलाइँदै आएको घृणा, हिंसा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य भएको उल्लेख गर्दै यस्ता गतिविधिले समाजलाई झनै कमजोर बनाउने उनको कथन छ।

प्रदेश सरकार सबै नागरिकको सुरक्षा, सम्मान र समान अधिकारप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उनको भनाइ छ। मुख्यमन्त्री यादवले शान्ति सुरक्षाको अवस्था थप सुदृढ बनाइने उल्लेख गरे। साथै अफवाह फैलाउने तथा घृणात्मक गतिविधिमा संलग्न जोकोहीलाई कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट चेतावनी दिएका छन्। मुख्यमन्त्री यादवले सबै धर्मगुरु, राजनीतिक दल, युवा तथा सचेत नागरिकलाई संयम, संवाद र सहअस्तित्वका मार्ग अवलम्बन गर्न आग्रह गर्दै समस्या समाधान सधैं संवादबाट हुने, द्वन्द्वबाट कहिल्यै नहुने धारणा व्यक्त गरेका छन्।

यस्तै गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति, सद्भाव र अमनचैन कायम राख्दै बहु सांस्कृतिक र बहु जातीय उक्त देशमा धार्मिक विद्वेष फैलने खालका कुनै पनि आचरण र घृणाजन्य अभिव्यक्ति नदिन सबैमा आग्रह गरेका छन्। सोमबार गृह मन्त्रालयमा नागरिक समाजका अगुवाहरूसँग भएको छलफलका क्रममा गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक विद्वेष र भ्रामक खबर तथा सूचनाहरूप्रति सचेत रही समाजमा सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गरेका हुन्। 

भेटमा गृहमन्त्री अर्यालले नागरिक समाजका अगुवाहरूबाट समाजमा अहिले सामाजिक सञ्जालमाको माध्यमबाट फैलाउन खोजिएका विभिन्न खाले धार्मिक अतिवादी सोचहरूलाई चिर्न र समाजमा शान्ति, सद्भाव र अमनचैन कायम राख्न नागरिक समाजको महत्त्वपूर्ण भूमिका रहने विचार व्यक्त गरे। छलफलमा गृहमन्त्री अर्यालले आपसी सद्भाव खलबल्याउने र एक अर्काको धर्ममा आँच पुर्‍याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजले हातेमालो गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

प्रकाशित: २२ पुस २०८२ ०७:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App