२२ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

विशेष महाधिवेशनको विपक्षमा खुल्दै कांग्रेस नेता

नेपाली कांग्रेसले पार्टीको विशेष महाधिवेशनको औचित्य समाप्त भएको जनाउँदै फागुन २१ गतेको निर्वाचनमा केन्द्रित हुन मातहतका निकायहरूलाई परिपत्र गरेको छ। 

विशेष महाधिवेशन गरेरै छाड्ने महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले दाबी गरिरहेका बेला त्यसलाई लिएर कांग्रेसले परिपत्र नै गरेको छ। मंसिर १५ गतेको निर्णयसँगै विशेष महाधिवेशनको औचित्य समाप्त भएको परिपत्रमा उल्लेख छ। फागुन २१ गतेको निर्वाचनमा सम्पूर्ण रूपमा केन्द्रित हुन पनि भनिएको छ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि पार्टीका नेता तथा कार्यकर्तालाई आम निर्वाचनको तयारीमा जुट्न आह्वान गरेका छन्। पार्टी विशेष महाधिवेशनको हल्लाको पछि नलाग्न आग्रह गर्दै सिटौलाले सोमबार पत्रकारहरूमार्फत प्रतिनिधिहरूलाई भने, ‘विशेष महाधिवेशन हुँदैन। तपाईंहरू काठमाडौं आउने काम छैन। निर्वाचन र उम्मेदवारी मनोनयनको तयारीमा जुट्नुहोस्।’ पार्टी कार्यसम्पादन समितिको निर्णयलाई सबैले मान्नुपर्ने तर्क गर्दै कांग्रेस विभाजित पनि नहुने दाबी उनले गरे। ‘कांग्रेस चिरा हुँदैन, हामी हुन दिँदैनौं,’ सिटौलाले भने, ‘कांग्रेस पार्टी फुटोस्, कमजोर होस्, अनेक झगडा होस् भन्ने चाहना पनि कसैलाई होला तर हामी त्यो हुन दिँदैनौं। कांग्रेस एकताबद्ध भएर अघि बढ्छ।’

महामन्त्रीद्वय थापा र शर्मासहितका नेताहरू विशेष महाधिवेशनको तयारीमा जुटेको जनाउँदै निकटहरूले सामाजिक सञ्जालमा विभिन्न प्रचार सामग्री सार्वजनिक गरिरहेका बेला कांग्रेसका पाँच प्रदेश सभापतिले पनि विज्ञप्ति नै निकालेर विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको जनाएका छन्। लुम्बिनी र गण्डकीबाहेक पाँच प्रदेश सभापतिहरूले मंसिर १५ गतेको बैठकले पार्टीको १५औं महाधिवेशनअन्तर्गत २०८२ पुस १६ गतेबाट वडास्तरदेखि सुरु गरी पुस २६ देखि २८ गते सम्पन्न गर्ने तालिका पारित गरेको उल्लेख गरेका छन्। 

तर महाधिवेशनअघि अनिवार्य रूपमा सम्पन्न हुनुपर्ने क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम समयमै सम्पन्न भई केन्द्रीय निर्वाचन समितिलाई जिम्मा लगाउन नसकिएपछि निर्धारित मितिमा महाधिवेशन हुन नसकेको उल्लेख गरेका छन्। पुस १८ गतेको कार्यसम्पादन समितिको बैठकले २०८३ वैशाख २८ देखि ३१ गतेसम्म नियमित महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय भइसकेकाले त्यसअघि विशेष महाधिवेशन गर्ने औचित्य समाप्त भएको उनीहरूको भनाइ छ।

त्यससँगै विगतमा हस्ताक्षर गरेका कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले पनि हस्ताक्षर फिर्ता लिएको जनाउन थालेका छन्। त्यसका साथै महामन्त्रीद्वय थापा र शर्मासहित विशेष महाधिवेशनको पक्षमा उभिएका नेताहरूमाथि पार्टी विभाजन र विग्रह हुने गरी कुनै निर्णय र कदम नचाल्न दबाब पर्न थालेको छ।

राष्ट्रियसभामा तालमेलको प्रयासमा दलहरू
कांग्रेससहितका राजनीतिक दलहरू माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा संविधान जारी हुँदाका चार शक्ति नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी), मधेसी मोर्चा (लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी) बिच समझदारी गरेर जाने भएका छन्। सिट संख्याका विषयमा दलहरू सहमतिको अन्तिम प्रयासमा जुटेका छन्।

कांग्रेसले पनि राष्ट्रियसभा निर्वाचनमा तालमेल गरेर जाने निष्कर्ष निकालेको छ। सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले तालमेलबिना राष्ट्रियसभामा परिणाम आउने अवस्था नरहेको निष्कर्ष निकालेको छ। कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा निर्वाचनमा एक्लै जाँदा परिणाम आफ्नो पक्षमा नआउने जनाउँदै विभिन्न राजनीतिक दलसँग संवाद चलिरहेको जानकारी दिए। ‘राष्ट्रियसभा निर्वाचनमा कुन कुन पार्टीसँग तालमेल हुन्छ, कुन कुन प्रदेशमा कांग्रेसले कोटा पाउँछ भनेर टुंगो लागिसकेको छैन,’ सिटौलाले भने, ‘कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रमेश लेखकले यस विषयमा अन्य दलहरूसँग कुरा गरिरहनुभएको छ।’ सिटौलाले प्रतिनिधिसभा निर्वाचनमा भने चुनावी तालमेल गरेर जाने पार्टीको नीति नरहेको दाबी गरे।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि राष्ट्रियसभामा तालमेल नगरीकन परिणाम नआउने बताए। एक्लाएक्लै चुनाव लड्दा बढी मतभार भएकाले कांग्रेसको सम्भावना ज्यादा हुने भए पनि अन्य शक्तिबिच तालमेल भए अप्ठ्यारो हुन सक्ने जनाउँदै भने, ‘नेतृत्व तहमा कुराकानी भइराखेको छ। भोलि (मंगलबार) सम्म एउटा निष्कर्ष आउन सक्छ। जसको निर्वाचित हुन सक्ने भोटिङ स्ट्रेन्थ छ, ती सबै दलसँग छलफल भइराखेको छ।’

प्रकाशित: २२ पुस २०८२ ०७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App